16
अनि तिनीहरूले परमेश्वरको सन्दुक भित्र ल्याए, र त्यसलाई दाऊदले त्यसकै निम्ति टाँगेको पालको बीचमा राखे; अनि तिनीहरूले परमेश्वरको सामु होमबलिहरू र मेलबलिहरू चढ़ाए। 2 अनि जब दाऊदले होमबलिहरू र मेलबलिहरू चढ़ाइसके, तब उनले मानिसहरूलाई परमप्रभुको नाममा आशीर्वाद दिए। 3 अनि उनले हरेक इस्राएलीलाई, अँ, हरेक पुरुष र स्त्रीलाई एक-एक रोटी, एक-एक टुक्रा मासु र एक-एक सुराही दाखमद्य बाँड़िदिए। 4 अनि उनले लेवीहरूमध्ये कसै-कसैलाई परमप्रभुको सन्दुकको अगाड़ि सेवा गर्न, सम्झना गराउन, अनि परमप्रभु इस्राएलका परमेश्वरलाई धन्यवाद चढ़ाउन र प्रशंसा गर्नका निम्ति नियुक्त गरे; 5 आसाफ प्रधान थिए, र तिनको पछि दोस्रो जकर्याह थिए, अनि यइएल, शमिरामोत, यहिएल, मत्तित्याह, एलिआब, बनायाह र ओबेद-एदोम थिए। यइएल सितार र वीणाहरूका बाजाहरूको साथमा थिए भने आसाफले चाहिँ झ्यालीहरू बजाउँथे। 6 पूजाहारीहरू बनायाह र यहजिएलचाहिँ परमेश्वरको वाचाको सन्दुकको सामु निरन्तर तुरहीहरू बजाउँथे।दाऊदको धन्यवादको भजन
7 तब त्यस दिन दाऊदले परमेश्वरलाई धन्यवाद चढ़ाउनका निम्ति पहिले आसाफ र तिनका दाजुभाइहरूको हातमा यो भजन सुम्पिदिए:
8 “परमप्रभुलाई धन्यवाद चढ़ाओ, उहाँको नाम पुकार; जाति-जातिका मानिसहरूको बीचमा उहाँका कामहरू बताइदेओ!
9 उहाँका निम्ति गाओ, उहाँका निम्ति भजन गाओ; उहाँका सबै अचम्मका कामहरूको वर्णन गर!
10 उहाँको पवित्र नाममा गर्व गर; परमप्रभुको खोजी गर्नेहरूको हृदय आनन्दित होस्!
11 परमप्रभु र उहाँको सामर्थ्यको खोजी गर; उहाँको चेहराको नित्य खोजी गर!
12 उहाँले गर्नुभएका अचम्मका कामहरू – उहाँका आश्चर्यकर्महरू र उहाँको मुखका फैसलाहरूको सम्झना गर!
13 हे उहाँका दास इस्राएलका वंशहो! हे उहाँका चुनिएका, याकूबका सन्तानहरूहो!
14 उहाँ नै परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ; सारा पृथ्वीमा उहाँका न्यायका कामहरूक छन्।
15 उहाँको वाचा सधैंभरि सम्झना गर, अर्थात् त्यो वचन, जुन वचन उहाँले हजार पुस्ताका निम्ति आज्ञा गर्नुभयो,
16 जुन वाचाचाहिँ उहाँले अब्राहामसित बाँध्नुभयो, र उहाँको शपथ, जुन शपथ उहाँले इसहाकसित खानुभयो;
17 अनि यसो भन्दै उहाँले त्यसलाई याकूबका निम्ति विधि, र इस्राएलका निम्ति अनन्त वाचा ठहऱ्याउनुभयो: 18 ‘म तिमीलाई कनान देश दिनेछु, जुन देश तिमीहरूको पैतृक सम्पत्तिको भाग हो।’
19 त्यस बेला तिमीहरूको संख्या कम्ती थियो, साह्रै कम्ती थियो, र त्यसमा तिमीहरू परदेशी थियौ।
20 अनि त्यस बेला उनीहरू एउटा जातिबाट अर्को जातिकहाँ, र एउटा राज्यबाट अर्को जातिका मानिसहरूकहाँ घुमिहिँड़्थे;
21 उहाँले कुनै मानिसलाई पनि उनीहरूमाथि थिचोमिचो गर्न दिनुभएन; अँ, उनीहरूको खातिर उहाँले राजाहरूलाई यसो भन्दै धम्काउनुभयो:
22 ‘मेरा अभिषिक्त जनहरूलाई नछोओ, र मेरा भविष्यवक्ताहरूलाई कुनै हानि नगर!’
23 हे सारा पृथ्वी, परमप्रभुका निम्ति गाओ! दिन प्रतिदिन उहाँको उद्धारको सुसमाचार सुनाओ!
24 अन्यजातिहरूको बीचमा उहाँको महिमाको, सबै जातिहरूको बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर!
25 किनकि परमप्रभु महान् हुनुहुन्छ, र उहाँको प्रशंसा अति नै गरिनुपर्छ; अनि सबै देवताहरूभन्दा बढ़ी उहाँको भय मान्नुपर्छ।
26 किनकि जाति-जातिका सबै देवताहरू मूर्तिहरू हुन्; तर परमप्रभुले नै आकाशलाई बनाउनुभयो।
27 उहाँको उपस्थितिमा आदर र प्रताप छन्; अनि उहाँको स्थानमा सामर्थ्य र आनन्द छन्।
28 हे जाति-जातिका कुलहरूहो, महिमा र सामर्थ्य परमप्रभुलाई देओ, अँ, परमप्रभुलाई नै देओ!
29 परमप्रभुलाई उहाँको नामलाई सुहाउँदो महिमा देओ; भेटी लिएर उहाँको सामु आओ; पवित्रताको सुन्दरतामा परमप्रभुलाई दण्डवत् गर!
30 हे सारा पृथ्वी, उहाँको सामु थरथर काम्! संसार पनि स्थिर हुनेछ, यसैले त्यो हल्लिनेछैन।
31 आकाश रमाओस्, र पृथ्वी आनन्दित होस्! अनि अन्यजातिहरूको बीचमा मानिसहरूले भनून्: “परमप्रभु राज्य गर्नुहुन्छ।”
32 समुद्र र त्यसको भरपूरी गर्जून्! मैदान र त्यसमा भएका सबै थोकहरू प्रफुल्लित होऊन्!
33 तब वनका रूखहरूले परमप्रभुको सामु जयजयकार गर्नेछन्; किनकि उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ।
34 परमप्रभुलाई धन्यवाद चढ़ाओ; किनकि उहाँ भलो हुनुहुन्छ; किनभने उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ।
35 अनि तिमीहरू यसो भन: ‘हे हाम्रा उद्धारका परमेश्वर, हामीलाई बचाउनुहोस्; अनि हामीलाई भेला पार्नुहोस् र हामीलाई अन्यजातिहरूबाट छुटकारा दिनुहोस्, र हामी तपाईंको पवित्र नामलाई धन्यवाद चढ़ाउन सकौं र तपाईंको प्रशंसामा हर्षोल्लास गर्न सकौं!
36 परमप्रभु इस्राएलका परमेश्वर युगानुयुगसम्मख धन्यका होऊन्!” तब सबै मानिसहरूले ‘आमेन’ भने, र परमप्रभुको प्रशंसा गरे।
37 तब उनले हर दिनको आवश्यकताअनुसार निरन्तर सन्दुकको सामु सेवा गर्नलाई आसाफ र तिनका दाजुभाइहरूलाई त्यहाँ परमप्रभुको वाचाको सन्दुकको सामु छोड़िराखे, 38 अनि ओबेद-एदोम र तिनका अठसट्ठीजना दाजुभाइहरूलाई पनि खटाए; अनि द्वारपालहरूको रूपमा उनले यदूतूनका छोरा ओबेद-एदोम र होसालाई खटाए। 39 तर गिबोनमा भएको उच्च स्थानमा परमप्रभुको निवासस्थानको अगाड़ि पूजाहारी सादोक र तिनका पूजाहारी दाजुभाइहरू खटाइएका थिए, 40 कि उनीहरूले बिहान र बेलुकी निरन्तर होमबलिको वेदीमाथि परमप्रभुका निम्ति होमबलिहरू चढ़ाऊन् र परमप्रभुले इस्राएललाई आज्ञा गर्नुभएको उहाँको व्यवस्थामा लेखिएका सबै कुराहरूअनुसार गरून्। 41 अनि उनीहरूको साथमा हेमान, यदूतून र बाँकी चुनिएकाहरू थिए, जसका नामहरू तोकिएका थिए; उनीहरूले परमप्रभुलाई धन्यवाद चढ़ाऊन्; किनकि उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ। 42 अनि उनीहरूको साथमा बाजा बजाउनेहरूका निम्ति तुरहीहरू र झ्यालीहरू अनि अरू परमेश्वरका बाजाहरू लिएर हेमान र यदूतून थिए। अनि यदूतूनका छोराहरूचाहिँ द्वारपालहरू थिए। 43 अनि सबै मानिसहरू हरेक आ-आफ्ना घरतिर लागे; अनि दाऊद आफ्नो परिवारलाईग आशीर्वाद दिन फर्के।