106
तिमीहरूले याहको स्तुति गर! परमप्रभुलाई धन्यवाद चढ़ाओ; किनकि उहाँ भला हुनुहुन्छ; किनकि उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ।
2 परमप्रभुका सामर्थी कामहरूको बयान कसले गर्न सक्छ? उहाँको सम्पूर्ण प्रशंसा कसले बताउन सक्छ?
3 जो न्यायमा चल्दछन्, र जसले सधैंभरि धार्मिकताको काम गर्दछ, ती धन्य हुन्।
4 हे परमप्रभु, आफ्नो प्रजाप्रति देखाउनुभएको कृपाअनुसार मलाई सम्झना गर्नुहोस्; तपाईंको उद्धारको साथमा मलाई भेट्नुहोस्;
5 यस हेतुले कि म तपाईंका चुनिएकाहरूको कल्याण देख्‍न पाऊँ, तपाईंको प्रजाको आनन्दमा रमाउन पाऊँ र तपाईंको निज सम्पत्तिसँग गर्व गर्न पाऊँ!
6 हामीले हाम्रा पितापुर्खाहरूसँग पाप गरेका छौं; हामीले अधर्म गरेका छौं; हामीले दुष्‍ट काम गरेका छौं।
7 मिस्रमा हाम्रा पितापुर्खाहरूले तपाईंका अचम्मका कामहरू बुझेनन्; उनीहरूले तपाईंका असंख्य करुणाहरूको सम्झना गरेनन्, तर समुद्रमा, अँ, लाल समुद्रमै उनीहरूले विद्रोह गरे।
8 तरै पनि आफ्नो अपार सामर्थ्य प्रकट होस् भनेर उहाँले आफ्नो नामको खातिर उनीहरूलाई बचाउनुभयो।
9 अनि उहाँले लाल समुद्रलाई पनि हप्काउनुभयो, र त्यो सुकिहाल्यो; यसरी उहाँले उनीहरूलाई गहिराइहरूबाट भएर, मानौं उजाड़स्थानबाट झैं गरी डोर्‍याएर लैजानुभयो।
10 अनि उहाँले उनीहरूलाई घृणा गर्नेको हातबाट बचाउनुभयो, र उनीहरूलाई शत्रुको हातबाट छुटाउनुभयो
11 अनि पानीले उनीहरूका शत्रुहरूलाई छोपिदियो; तिनीहरूमध्ये एउटै पनि उम्केन।
12 तब उनीहरूले उहाँका वचनहरूमा विश्‍वास गरे; उनीहरूले उहाँको स्तुति गाए।
13 उनीहरूले चाँड़ै उहाँका कामहरू बिर्से; उनीहरूले उहाँको सल्‍लाहका निम्ति पर्खेनन्;
14 तर उजाड़स्थानमा अति नै लालसा गरे, र मरुभूमिमा परमेश्‍वरलाई परीक्षा गरे।
15 अनि उहाँले उनीहरूलाई उनीहरूले मागेको कुरा त दिनुभयो, तर उनीहरूको प्राणभित्र चाहिँ दुर्बलता पठाइदिनुभयो।
16 अनि छाउनीमा उनीहरूले मोशालाई र परमप्रभुका पवित्र जन हारूनलाई डाहा गरे।
17 धरती फाट्यो र दातानलाई निल्यो, अनि अबिरामको दललाई छोपिदियो।
18 अनि तिनीहरूको झुण्डमा आगो लाग्यो; ज्वालाले दुष्‍टहरूलाई भस्म पार्‍यो।
19 होरेबमा उनीहरूले एउटा बाछा बनाए, र ढालेर बनाएको मूर्तिको पूजा गरे।
20 यसरी उनीहरूले आफ्नो महिमालाई घाँस खाने गोरुको रूपमा परिवर्तन गरे।
21 उनीहरूले आफ्ना उद्धारकर्ता परमेश्‍वरलाई बिर्से, जसले मिस्र देशमा ठूला-ठूला कामहरू गर्नुभएको थियो;
22 जसले हामको देशमा अचम्मका कामहरू र लाल समुद्रको किनारमा डरलाग्दा कामहरू गर्नुभएको थियो।
23 यसकारण उहाँले ‘म उनीहरूलाई नाश पार्छु’ भनी भन्‍नुभयो; कहीं उहाँले उनीहरूलाई नाश पार्नुहुन्छ कि भनी उहाँको क्रोध हटाउनका निम्ति उहाँका चुनिएका जन मोशा उहाँको सामु धाँदोमा खड़ा नभएका भए!
24 हो, उनीहरूले यस मनोहर देशलाई तुच्छ ठाने; उनीहरूले उहाँको वचन विश्‍वास गरेनन्;
25 तर आफ्ना तम्बूहरूभित्र गनगन गरे र परमप्रभुको आवाजप्रति ध्यान दिएनन्।
26 यसकारण उहाँले उनीहरूको विरोधमा आफ्नो हात उठाएर शपथ खानुभयो – उनीहरूलाई उजाड़स्थानमा गिराउन,
27 उनीहरूका सन्तानलाई पनि अन्यजातिहरूको बीचमा गिराउन र उनीहरूलाई देश-देशमा तितरबितर पार्नका निम्ति।
28 अनि उनीहरू बाल-पोरसँग लागे, र मरेकाहरूलाई चढ़ाइएका बलिहरू खाए।
29 यसरी नै उनीहरूले आफ्ना कामहरूद्वारा उहाँलाई रिस उठाए; अनि उनीहरूमा महामारी फैलियो।
30 तब पीनहास उठे, र न्याय गरे; तब महामारी थामियो।
31 अनि यो तिनका निम्ति पुस्ता-पुस्तासम्म सदा-सर्वदाका लागि धार्मिकता गनियो।
32 उनीहरूले मरीबाको पानीमा पनि उहाँलाई क्रोधित तुल्याए; यसैले उनीहरूले गर्दा मोशाको खराबी भयो;
33 किनकि उनीहरूले उनको आत्मालाई क्रोधित तुल्याए; यसकारण उनी आफ्ना ओठले सोचविचार नगरीकन बोले।
34 उनीहरूले ती जातिहरूलाई नाश गरेनन्, जसको विषयमा परमप्रभुले उनीहरूलाई आज्ञा गर्नुभएको थियो;
35 तर उनीहरू अन्यजातिहरूसँग मिसिए, र उनीहरूले तिनीहरूका कामहरू सिके।
36 अनि उनीहरूले तिनीहरूका मूर्तिहरू पुजे, र ती उनीहरूका निम्ति पासो बने।
37 हो, उनीहरूले आफ्ना छोराहरू र आफ्ना छोरीहरूलाई दुष्‍ट आत्माहरूका निम्ति बलि चढ़ाए,
38 र निर्दोष रगत, अँ, आफ्नै छोराहरू र आफ्नै छोरीहरूको रगत बगाए, जसलाई उनीहरूले कनानका मूर्तिहरूका निम्ति बलि गरे; र त्यो देश रगतले अशुद्ध भयो।
39 यसरी नै उनीहरू आफ्नै कामहरूले अशुद्ध भए र आफ्नै कर्महरूद्वारा व्यभिचार गर्दै गए।
40 यसकारण परमप्रभुको क्रोध आफ्नै प्रजाको विरोधमा दन्क्यो, यहाँसम्म कि उहाँले आफ्नै निज सम्पत्तिलाई घृणा गर्नुभयो।
41 अनि उहाँले उनीहरूलाई अन्यजातिहरूको हातमा सुम्पनुभयो; अनि उनीहरूलाई घृणा गर्नेहरूले उनीहरूमाथि शासन गरे।
42 अनि उनीहरूका शत्रुहरूले उनीहरूलाई थिचोमिचो गरे, र तिनीहरूका हातमुनि उनीहरू वशमा राखिए।
43 धेरै चोटि उहाँले उनीहरूलाई छुटकारा दिनुभयो, तर उनीहरूले आफ्नै युक्तिले उहाँलाई क्रोधित तुल्याए, र आफ्नै अधर्मले गर्दा उनीहरू तल झारिए।
44 तरै पनि जब उहाँले उनीहरूको चिच्च्याइ सुन्‍नुभयो, तब उहाँले उनीहरूको सङ्कष्‍टप्रति ध्यान दिनुभयो;
45 अनि उहाँले उनीहरूका निम्ति आफ्नो वाचा सम्झनुभयो, र आफ्ना असंख्य करुणाहरूअनुसार उहाँ दयाले भरिनुभयो।
46 र उनीहरूलाई कैद गरेर लैजानेहरूलाई पनि उहाँले उनीहरूमाथि टिठ्याउने तुल्याउनुभयो।
47 हे परमप्रभु हाम्रा परमेश्‍वर, हामीलाई बचाउनुहोस्, र तपाईंको पवित्र नामलाई धन्यवाद चढ़ाउन, तपाईंको प्रशंसामा हर्षोल्‍लास गर्न हामीलाई अन्यजातिहरूको बीचबाट भेला पार्नुहोस्!
48 परमप्रभु इस्राएलका परमेश्‍वर अनादिदेखि अनन्तसम्म धन्यका होऊन्! अनि सबै मानिसहरूले ‘आमेन’ भनून्! तिमीहरूले याहको स्तुति गर!