हितोपदेश
1
दाऊदका पुत्र, इस्राएलका राजा सुलेमानका हितोपदेशहरू।2 यिनीहरूद्वारा मानिसले बुद्धि र शिक्षा जानून्, समझका वचनहरू बुझून्;
3 बुद्धिक, न्यायपरायणताख र न्याय, साथै निष्पक्षताकोग शिक्षा पाऊन्;
4 यिनीहरूले सीधासादाहरूलाई बाठोपन, जवान मानिसलाई ज्ञान र विवेक दिन्छन्।
5 बुद्धिमान् मानिसले ध्यानसित सुन्नेछ र ज्ञान बढ़ाउनेछ; समझदार मानिसले बुद्धिले भरिएका सल्लाहहरू पाउनेछ;
6 यिनीहरूद्वारा उसले हितोपदेश, दृष्टान्त, बुद्धिमान्हरूका वचन र उनीहरूका पहेलीहरूघ बुझ्नेछ।
7 परमप्रभुको भय नै ज्ञानको शुरु हो; तर मूर्खहरूले बुद्धि र शिक्षालाई तुच्छ ठान्छन्।
8 हे मेरा छोरा, आफ्ना बुबाको शिक्षा ध्यानसित सुन र आफ्नी आमाको अर्तीलाईङ नत्याग;
9 किनकि ती तिम्रो शिरका लागि शोभाको गहना र तिम्रा गलाका निम्ति हारहरू बन्नेछन्।
10 हे मेरा छोरा, पापीहरूले तिमीलाई फुस्ल्याए भने तिनीहरूको कुरा मान्न राजी नहोऊ!
11 यदि तिनीहरूले ‘हामीसँग आऊ, रक्तपात गर्न बाटो ढुकौं; विनाकारणै निर्दोषलाई बाटोमा ढुकेर बसौं;
12 हामी तिनीहरूलाई अधोलोकले झैं जिउँदै निलौं; अँ, खाड़लभित्र जानेहरूलाई झैं सिङ्गै निलौं;
13 हामीले सबै प्रकारका बहुमूल्य सम्पत्ति पाउनेछौं; हामीले लुटका मालले आफ्ना घरहरू भर्नेछौं;
14 हामीसँग साझेदार होऊ; हामी सबैजनाको एउटै थैली होस्’ भनी भने भने,
15 हे मेरा छोरा, तिनीहरूसँग त्यस बाटोमा नलाग; आफ्नो पाउ तिनीहरूको बाटोमा हिँड़्नदेखि रोक!
16 किनकि तिनीहरूका पाउ खराबीका निम्ति दगुर्छन्, र रक्तपात गर्न ती हतारिन्छन्।
17 कुनै चराले हेर्दा-हेर्दै निश्चय नै व्यर्थैमा जाल फैलिन्छ।
18 अनि यिनीहरूचाहिँ आफ्नै रक्तपात गर्न बाटो ढुक्छन्, आफ्नै प्राणका निम्ति बाटोमा ढुकेर बस्छन्।
19 लाभको लालच गर्ने हरेक मानिसका चाल यस्तै हुन्छन्, जसले आफ्नो मालिकको ज्यान नै लिन्छन्।
20 बुद्धि बाहिर चर्को सोरले कराउँछ; उसले सड़कहरूहुँदो आफ्नो आवाज उचाल्छ;
21 ऊ भीड़ लाग्ने ठाउँहरूको मुख्य स्थानमा, मूलढोकाहरूको मुखमा चिच्च्याउँछ; ऊ यसो भन्दै शहरमा आफ्ना वचनहरू सुनाउँछ:
22 ‘हे बोधाहरूहो, कहिलेसम्म तिमीहरू बुद्धूपनलाई प्रेम गर्दछौ? अनि कहिलेसम्म गिल्ला गर्नेहरूचाहिँ आफ्नो गिल्लामा आनन्दित रहन्छन्? र कहिलेसम्म मूर्खहरूले चाहिँ ज्ञानलाई घृणा गर्छन्?
23 मेरो हप्की सुनेर फर्क; हेर, तिमीहरूका निम्ति म आफ्नो आत्मा खन्याउनेछु; म तिमीहरूलाई मेरा वचनहरू बुझाउनेछु।’
24 किनभने मैले पुकारें, तर तिमीहरूले इन्कार गर्यौ; मैले आफ्नो हात फैलाएँ, तर कसैले वास्ता गरेन;
25 तर तिमीहरूले मेरा सबै सल्लाहलाई तुच्छ ठान्यौ र मेरो कुनै हप्की चाहेनौ;
26 यसकारण म पनि तिमीहरूको विपत्तिमा हाँस्नेछु; तिमीहरूमाथि डर आइपर्दा म खिसी गरेर हाँस्नेछु;
27 जब तिमीहरूको डर आँधीबेहरीझैं, र तिमीहरूको विनाश भुमरीझैं आउँछ; जब विपत्ति र वेदना तिमीहरूमाथि आइपर्छन्।
28 त्यस घड़ी तिनीहरूले मलाई पुकार्नेछन्, तर म जवाफ दिनेछैनँ; तिनीहरूले यत्नसित मलाई खोज्नेछन्, तर मलाई भेट्टाउनेछैनन्;
29 किनकि तिनीहरूले ज्ञानलाई घृणा गरे र परमप्रभुको भयलाई रोजेनन्;
30 तिनीहरूले मेरो कुनै सल्लाह चाहेनन्; तिनीहरूले मेरो सबै हप्कीलाई तुच्छ ठाने।
31 यसकारण तिनीहरूले आफ्नै चालचलनको फलबाट खानेछन् र आफ्ना युक्तिहरूले अघाउनेछन्।
32 किनकि बोधाहरूको पछिहटाइले तिनीहरूलाई मार्नेछ, र मूर्खहरूको उन्नतिले तिनीहरूलाई नष्ट पार्नेछ।
33 तर जसले मेरो कुरा ध्यानसित सुन्छ, ऊ सुरक्षित रहनेछ र खराबीको डरबाट ढुक्क भई रहनेछ।