भजनसंग्रह
पहिलो भाग: भजन १-४१
1
धन्य हो त्यो मानिस, जो भक्तिहीनहरूको सल्‍लाहमा हिँड़्दैन, न पापीहरूको बाटोमा उभिँदछ, न ता गिल्‍ला गर्नेहरूको आसनमा बस्दछ।
2 तर उसको आनन्द परमप्रभुको व्यवस्थामा हुँदछ, र उहाँकै व्यवस्थामा उसले दिनरात मनन गर्दछ।
3 तब ऊ पानीका नदीहरूको किनारमा रोपिएको रूखझैं हुनेछ, जसले आफ्नो ऋतुमा आफ्नो फल फलाउँछ; उसको पात पनि ओइलिनेछैन; अनि उसले जे गर्दछ, त्यो सफल हुनेछ।
4 भक्तिहीनहरू त्यस्ता हुँदैनन्; तर भुसजस्ता हुन्छन्, जसलाई हावाले उड़ाई लैजान्छ।
5 यसकारण भक्तिहीनहरू न्यायमा खड़ा रहनेछैनन्, न ता पापीहरू नै धर्मी जनहरूको सभामा खड़ा रहनेछन्।
6 किनकि परमप्रभुले धर्मी जनहरूको बाटो जान्‍नुहुन्‍छ; तर भक्तिहीनहरूको बाटो नष्‍ट हुनेछ।