उपदेशक
सबै कुराहरू व्यर्थै हुन्
1
यरूशेलमका राजा, दाऊदका पुत्र उपदेशकका वचनहरू।2 व्यर्थै-व्यर्थक, उपदेशकले भन्छन्, व्यर्थै-व्यर्थक, सबै कुरा व्यर्थ!
3 मानिसले सूर्यमुनि गरेको त्यसको सबै परिश्रमबाट त्यसलाई के फाइदा हुन्छ र?
4 एउटा पुस्ता बितेर जान्छ, र अर्को पुस्ता आउँछ; तर पृथ्वी सदा-सर्वदा रहिरहन्छ।
5 अँ, सूर्य उदाउँछ, सूर्य अस्ताउँछ र आफू उदाएको आफ्नो ठाउँतिर हतारिन्छ।
6 हावा दक्षिणतिर बहन्छ, र उत्तरतिर घुम्छ; त्यो निरन्तरख चक्कर लाउँदै बहन्छ, र हावा आफ्ना चक्करहरूअनुसार फर्केर आउँछ।
7 सबै नदीहरू समुद्रभित्र बगेर जान्छन्, तैपनि समुद्र भरिँदैन; जुन ठाउँबाट ती नदीहरू आउँछन्, त्यतैतिर ती फेरि फर्केर जान्छन्।
8 सबै कुराहरू परिश्रम नै परिश्रमले पूर्ण हुन्छन्; मानिसले त्यो व्यक्त गर्न सक्दैन; हेरेर आँखा तृप्त हुँदैन, र सुनेर कान अघाउँदैन।
9 जे कुरा भएको थियो, त्यही कुरा फेरि गरिनेछ; अनि जे कुरा गरिएको थियो, त्यही फेरि गरिनेछ; अँ, सूर्यमुनि कुनै नयाँ कुरा हुँदैन।
10 के कुनै यस्तो कुरा छ, जसको विषयमा ‘हेर, यो नयाँ हो’ भन्न सकिन्छ? त्यो त हाम्रो अघिका युगहरूमा भइसकेको थियो।
11 पहिले-पहिलेका कुराहरूको सम्झना हुँदैन, र पछि आउनेहरूलाई पछिबाट हुने कुराहरूको सम्झना पनि हुँदैन।
उपदेशकको अनुभव
12 म, उपदेशक, यरूशलेममा इस्राएलको राजा थिएँ।
13 आकाशमुनि गरिएका सबै कामकुराहरूको विषयमा बुद्धिद्वारा खोजेर पत्ता लगाऊँ भनेर मैले आफ्नो मन लगाएँ; परमेश्वरले आदमका सन्तानहरूलाई, तिनीहरूले यस साह्रै कष्टदायक कामद्वारा कष्ट पाऊन् भन्ने हेतुले यो दिनुभएको हो।
14 सूर्यमुनि गरिएका सबै कामहरू मैले देखेको छु; अनि हेर, सबै कुराहरू व्यर्थ र आत्माको खिन्नताग हुन्।
15 जे बाङ्गो छ, त्यसलाई सीधा पार्न सकिँदैन; अनि जे घटी छ, त्यसलाई गन्ती गर्न सकिँदैन।
16 मैले आफ्नो हृदयसित यसो भन्दै बातचित गरें: ‘हेर्, म महान् भएको छु, अनि यरूशलेममाघ मभन्दा पहिलेका सबैले भन्दा बढ़ी बुद्धि मैले बढ़ाएको छु’; अँ, मेरो हृदयले बुद्धि र ज्ञानको ठूलो अनुभव गरेको छ।