31
राजा लमुएलका वचनहरू अर्थात् त्यो भविष्यवाणी, जुनचाहिँ उनकी आमाले उनलाई सिकाएकी थिइन्:2 हे मेरा छोरा, के? हे मेरो गर्भका छोरा, के? अँ, मेरा भाकलहरूका छोरा, के?
3 आफ्नो बल स्त्रीहरूलाई नदेऊ, न ता आफ्ना चालहरू त्यसलाई देऊ, जसले राजाहरूलाई नष्ट पार्छ!
4 हे लमुएल, यो कुरा राजाहरूका लागि होइन, दाखमद्य पिउनु राजाहरूका लागि होइन, न ता मदिरा पिउनु नै शासकहरूका लागि हो;
5 नत्र तिनीहरूले पिउलान्, र व्यवस्था बिर्सलान् अनि थिचोमिचोमा परेका सबैको न्याय बिगार्लान्।
6 नाश हुन लागेकोलाई मदिरा देऊ, र हृदयमा पीर भएकाहरूलाई दाखमद्य देऊ!
7 त्यसले पिओस् र आफ्नो गरिबी बिर्सोस्, अनि आफ्नो पीर फेरि नसम्झोस्।
8 तिमीले सबै विनाशका लागि ठहऱ्याइएकाहरूकोक पक्षामा गुँगाको लागि आफ्नो मुख खोल!
9 आफ्नो मुख खोल, धर्ममय न्याय गर, अनि गरिब र खाँचोमा परेकोको मामला लड़िदेऊ!
10 गुणवती स्त्रीलाई कसले पाउन सक्छ र? किनकि उसको मूल्य त लालमणिहरूभन्दा पनि धेरै बढ़ी हुन्छ।
11 उसको पतिले निर्धक्क भएरख उसमाथि भरोसा राख्छन्; यसले गर्दा उनलाई लाभको घटी हुँदैन।
12 उसले आफ्नो जीवनभरि नै उनको कुनै खराबी होइन, भलाइ मात्र गर्नेछे।
13 उसले ऊन र सन खोज्छे, अनि खुशीसित आफ्ना हातले काम गर्छे।
14 ऊ व्यापारीका जहाजहरूजस्तै छे; टाढ़ा-टाढ़ाबाट उसले भोजनवस्तुहरू ल्याउँछे।
15 रात नबितीकनै ऊ उठ्छे पनि, र आफ्नो घरानालाई भोजन दिन्छे, अनि आफ्ना दासीहरूलाई काम बाँड़िदिन्छे।
16 उसले जमिनको विषयमा सोच्छे, र त्यो किन्छे; आफ्ना हातको कमाइले उसले दाखबारी लगाउँछे।
17 उसले आफ्नो कम्मर बलले कस्छे, र आफ्ना पाखुरा बलियो पार्छे।
18 आफ्नो कमाइ राम्रो छ भनी उसले थाहा गर्छे; राती उसको बत्ती निभ्दैन।
19 उसले चर्खामा आफ्ना हात लगाउँछे, र आफ्ना हातले कतुवा समाउँछे।
20 उसले गरिबका निम्ति आफ्नो मुट्ठी खोल्छे; अँ, खाँचोमा परेकोकहाँ उसले आफ्ना हात बढ़ाउँछे।
21 आफ्नो घरानाका निम्ति ऊ हिउँसँग डराउँदिन; किनकि उसको घरानाका सबैजनाले सिन्दुरे वस्त्र पहिरेका छन्।
22 ऊ आफैले बुट्टादार चादरहरू बनाउँछे; उसका वस्त्रहरू मिहिन मलमल र बैजनी रङ्गका हुन्छन्।
23 जब उसको पति देशका प्राचीनहरूको बीचमा बस्छन्, तब मूलढोकाहरूमा उनी चिनिन्छन्।
24 उसले मलमलको लुगा बनाउँछे र बेच्छे; अनि व्यापारीकहाँ पेटीहरू पठाउँछे।
25 शक्ति र सम्मान उसको पहिरन हो; अनि ऊ आउँदो दिनको विषयमा हाँस्छे।
26 बुद्धिमानीसाथ उसले आफ्नो मुख खोल्छे; अनि उसको जिब्रोमा दयाको व्यवस्था पाइन्छ।
27 उसले आफ्नो घरानाका चालहरू ध्यानपूर्वक हेर्छे, र अल्छेपनाको भोजनग खाँदिन।
28 उसका छोराछोरीहरू उठ्छन् र उसलाई ‘धन्यकी’ भन्छन्, उसका पतिले पनि यसै भन्छन् र उसको प्रशंसा गर्छन्।
29 ‘धेरै छोरीहरूले सद्गुण देखाएका छन्; तर तिमीले चाहिँ ती सबैलाई उछिनेकी छौ।’
30 मनोहरता धोकापूर्ण छ, र सुन्दरता व्यर्थ छ; तर जुन स्त्रीले परमप्रभुको भय मान्छे, उही स्त्रीको प्रशंसा हुनेछ।
31 उसलाई उसका हातको परिश्रमको फलबाट देऊ; अनि उसका कामहरूले उसलाई मूलढोकाहरूमा प्रशंसा गरून्।