30
याकेका छोरा आगूरका वचनहरू अर्थात् त्यो भविष्यवाणी, जुनचाहिँ यी मानिसले इतिएललाई, अँ, इतिएल र उक्‍काललाई भने:
2 निश्‍चय म कुनै पनि मानिसभन्दा बढ़ी विवेकहीन छु र मसँग मानिसको समझ छैन।
3 न मैले बुद्धि सिकेको छु, न मसित ‘पवित्र’को ज्ञान नै छ।
4 स्वर्गसम्म को उक्लेको छ, वा ओर्लेको छ? कसले हावा आफ्ना मुठीहरूमा जम्मा पारेको छ? कसले समुद्र आफ्नो वस्त्रमा बाँधेको छ? कसले पृथ्वीका सबै छेउहरू स्थापित गरेको छ? उहाँको नाम के हो, र उहाँको छोराको नाम के हो? कतै तिमीलाई थाहा छ कि?
5 परमेश्‍वरको एक-एक वचन शुद्ध छ; जसले उहाँमाथि भरोसा राख्छन्, उनीहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ।
6 उहाँका वचनहरूमा केही नथप; नत्र उहाँले तिमीलाई हप्काउनुहुन्छ, र तिमी झूटा ठहरिनेछौ।
7 तपाईंबाट मैले दुईवटा कुरा मागेको छु, म मर्नभन्दा पहिले ती कुराहरू मलाई दिन इन्कार नगर्नुहोस्:
8 धोका र झूट मबाट टाढ़ो हटाइदिनुहोस्; मलाई गरिबी नदिनुहोस्, न धनसम्पत्ति नै; मलाई मेरा निम्ति ठहराइएको भोजन दिनुहोस्;
9 नत्र प्रशस्त भएर म तपाईंलाई इन्कार गरुँला र भनुँला: ‘परमप्रभु को हो र?’ अथवा गरिब भएर म चोरुँला र मेरा परमेश्‍वरको नाम व्यर्थमा लिउँला।
10 कुनै दासको विषयमा उसको मालिककहाँ पोल नहाल्नू; नत्र त्यसले तिमीलाई सराप्ला, र तिमी दोषी ठहरौला।
11 यस्तो एउटा पुस्ता छ, जसले आफ्ना बुबालाई सराप्छ र आफ्नी आमालाई धन्यकी भन्दैन।
12 यस्तो एउटा पुस्ता छ, जो आफ्नै दृष्‍टिमा शुद्ध छन्, तर पनि तिनीहरू आफ्नो मैलाबाट धोइएका छैनन्।
13 यस्तो एउटा पुस्ता छ – आहा-हा! तिनीहरूका आँखा कति घमण्डले भरिएका छन्! तिनीहरूका परेलाहरू कति चढ़ेका छन्!
14 यस्तो एउटा पुस्ता छ, जसका दाँतहरू तरवारजस्ता छन् र जसका बङ्गाराहरू पृथ्वीबाट दु:खीहरूलाई र मानिसहरूको बीचबाट खाँचोमा परेकाहरूलाई निलिखानका निम्ति छुरीजस्ता छन्।
15 खरीजुकाका दुई छोरी छन्, जो ‘देऊ! देऊ!’ भन्दै कराउँछन्; तीनवटा कुराहरू छन्, जो कहिल्यै तृप्‍त हुँदैनन्; अँ, चारवटा कुरा छन्, जसले ‘पुग्यो’ भन्दैनन् –
16 चिहान, र बाँझो गर्भ; पानीले तृप्‍त नभएको जमिन र आगो, जसले ‘पुग्यो’ भन्दै भन्दैनन्।
17 जुन आँखाले आफ्ना बुबालाई खिसी गर्छ र आफ्नी आमालाई तुच्छ ठानेर आज्ञापालन गर्दैन, त्यसलाई बेंसीका कागहरूले ठुङेर निकाल्नेछन्, र जवान चीलहरूले त्यसलाई खानेछन्।
18 तीनवटा कुरा छन्, जो मेरा निम्ति साह्रै अचम्मका छन्; अँ, चारवटा कुरा छन्, जसलाई म बुझ्दिनँ:
19 आकाशमा चीलको चाल; चट्टानमाथि सर्पको चाल; समुद्रको बीचमा जहाजको चाल; अनि तरुणीसँग पुरुषको चाल।
20 व्यभिचारी स्त्रीको चाल यस्तो हुन्छ: त्यसले खान्छे, आफ्नो मुख पुछ्छे र भन्छे: ‘मैले कुनै दुष्‍ट काम गरेकी छैनँ।’
21 तीनवटा कुरा छन्, जसले गर्दा पृथ्वी काम्छ; अँ, चारवटा कुरा छन्, जसलाई पृथ्वीले सहन सक्दैन:
22 दास, जब त्यसले राज्य गर्छ; अनि मूर्ख, जब त्यसको पेट भोजनले भरिन्छ;
23 हेला गरिएकी स्त्री, जब त्यसको विवाह हुन्छ; अनि दासी, जब त्यो आफ्नी मालिकनीकी हकवाल्नी हुन्छे।
24 चारवटा कुरा छन्, जो पृथ्वीमा साना छन्, तर ती एकदमै बुद्धिमान् हुन्छन्:
25 कमिला, जो बलियो जाति होइन, तर पनि ग्रीष्म ऋतुमै आफ्नो खानेकुराको प्रबन्ध गर्छन्।
26 भीर खरायाहरू, जो कमजोर जाति हो, तर पनि पहराहरूमा आफ्ना घर बनाउँछन्।
27 सलहहरू, जसका राजा हुँदैनन्, तर पनि ती सबै दल-दल बाँधेर अघि बढ़्छन्।
28 माउसुली, जसलाई तिमीले हातले पक्रन सक्छौ, रपनि ती राजाका दरवारहरूमा बस्छन्।
29 तीनवटा कुरा छन्, जसको चाल राम्रो छ; अँ, चारवटा कुरा छन्, जो हिँड़्‍दा सुन्दर देखा पर्छन्:
30 सिंह, जो पशुहरूमा सबभन्दा बलवान् हुन्छ, जो कसैको सामुदेखि पछि हट्दैन।
31 शिकारी कुकुर, र बोको; अनि राजा, जसको विरोधमा कुनै विद्रोह हुँदैन।
32 आफैलाई माथि उचालेर तिमीले मूर्खता गरेका छौ भने, अथवा तिमीले खराब विचार सोचेका छौ भने आफ्नो मुखमाथि हात राख!
33 किनकि दूधलाई मन्थन गर्नाले मक्खन निस्कन्छ, र नाकलाई बटार्नाले रगत निस्कन्छ; त्यसरी नै रिसलाई उमाल्नाले झगड़ा उत्‍पन्‍न हुन्छ।