सुखचैन व्यर्थ हो
2
मैले आफ्नो मनमनमा भनें: ‘अब आइज, म तँलाई हर्षोल्‍लासद्वारा जाँच्‍नेछु; यसकारण मोजमज्जा गर्!’ अनि हेर, यो पनि व्यर्थ रहेछ।
2 मैले हाँसोको विषयमा भनें: ‘यो पागलपन हो’; अनि हर्षोल्‍लासको विषयमा मैले भनें: ‘यसले के काम गर्छ र?’
3 आदमका सन्तानहरूका निम्ति कुनचाहिँ कुरा असल हो, जुनचाहिँ तिनीहरूले यस आकाशमुनि आफ्नो जीवनका सबै दिनहरूभरि गरून्, सो कुरा नदेखुन्जेल मैले आफ्नो हृदय बुद्धिले डोर्‍याउँदै दाखमद्यले आफूलाई कसरी प्रसन्‍न तुल्याऊँ र मूर्खता कसरी पक्रूँ भनी मैले आफ्नो हृदयमा खोजतलाश गरें।
4 म ठूला-ठूला कामहरूमा लागिपरें; मैले आफ्ना निम्ति घरहरू बनाएँ; मैले आफ्ना निम्ति दाखबारीहरू लगाएँ।
5 मैले आफ्ना निम्ति बगैंचाहरू र फलका बगानहरू लगाएँ; अनि मैले तिनमा सबै प्रकारका फलका रूखहरू रोपें।
6 रूखहरू उमार्ने वनलाई पानीले सिँचूँ भनेर मैले पानीका दहहरू बनाएँ।
7 मैले कमारा-कमारीहरूलाई किनें; आफ्नो घरमा जन्मेका नोकरहरू पनि मसँग थिए; साथै यरूशलेममा मभन्दा पहिलेका सबै मानिसको भन्दा धेरै गाईबस्तु र भेड़ाबाख्रारूपी सम्पत्ति मसँग थियो।
8 मैले आफ्ना निम्ति चाँदी र सुन, साथै राजाहरूको र प्रान्तहरूको विशेष धन पनि जम्मा पारें; मैले आफ्ना निम्ति गायकहरू र गायिकाहरू, साथै मानिसका सन्तानलाई सुख दिने कुराहरू, सबै प्रकारका बाजाहरूको पनि प्रबन्ध गरें।
9 यसरी म महान् भएँ, र यरूशलेममा मभन्दा पहिलेका सबैभन्दा बढ़ी सुसम्‍पन्‍न भएँ; मेरो बुद्धि पनि ममा रहिरह्‍यो।
10 अनि मेरा आँखाहरूले जे कुराहरू चाहना गरे, ती कुराहरू मैले तिनलाई नदिई छोड़िनँ; मैले आफ्नो हृदयलाई कुनै पनि आनन्द लिनदेखि रोकेर राखिनँ; किनकि मेरो सारा परिश्रमबाट मेरो हृदयले आनन्द लियो; अनि मेरो सारा परिश्रमबाट मेरो भाग यही थियो।
11 तब मैले आफ्ना हातले गरेका सबै कामहरू र मैले काम गरेर मेहनतसित गरेको मेरो परिश्रमलाई हेरें; अनि हेर, ती सबै त व्यर्थ र आत्माको खिन्‍नता मात्र हुँदा रहेछन्, अनि सूर्यमुनि कुनै फाइदा हुँदैन रहेछ।
12 अनि बुद्धि, पागलपन र मूर्खता हेर्नलाई म फर्कें; किनभने राजापछि आउने मानिसले के पो गर्न सक्ने रहेछ र? त्यो त त्यही रहेछ, जो पहिल्यै गरिसकिएको थियो।
13 तब मैले देखें: अन्धकारभन्दा ज्योति जति उत्तम हो, त्यति नै बुद्धि मूर्खताभन्दा उत्तम हुँदो रहेछ!
14 बुद्धिमान् मानिसका आँखाहरू उसको टाउकोमा हुन्‍छन्, तर मूर्खचाहिँ अन्धकारमा हिँड़डुल गर्छ; अनि म आफैले थाहा गरें: ती सबैमाथि एउटै दशा आइपर्दो रहेछ।
15 तब मैले आफ्नो मनमनमा भनें: ‘मूर्खमाथि जेजस्तो आइपर्छ, त्यस्तै ममाथि पनि आइपर्छ; तब मचाहिँ किन बढ़ी बुद्धिमान् भएँ त?’ तब मैले आफ्नो मनमनमा भनें: ‘यो पनि व्यर्थै रहेछ!’
16 किनभने बुद्धिमान्‌को सम्झना मूर्खको भन्दा बढ़ी हुँदैन; किनकि अहिले जे भइरहेको छ, त्यो सबै आउँदा दिनहरूमा बिर्सिनेछ; तब बुद्धिमान् कसरी मर्छ? मूर्खझैं!
परिश्रम पनि व्यर्थ रहेछ
17 यसकारण मैले जीवनलाई घृणा गरें; किनकि सूर्यमुनि गरिएको काम मेरा निम्ति कष्‍टदायक भएछ; किनभने सबै कुराहरू व्यर्थ र आत्माको खिन्‍नता मात्र हुँदा रहेछन्।
18 अँ, सूर्यमुनि मैले मेहनतसित गरेको मेरो सारा परिश्रमलाई मैले घृणा गरें; किनकि मैले त्यसलाई मपछि आउने मानिसका निम्ति छोड़िराख्‍नुपर्छ।
19 अनि त्यो मानिस बुद्धिमान् हुनेछ कि मूर्ख हुनेछ, कसले जान्दछ र? तैपनि उसले मेरो सारा परिश्रममाथि अधिकार जमाउनेछ, जसका निम्ति सूर्यमुनि मैले मेहनत गरेको र बुद्धि लगाएको थिएँ। यो पनि व्यर्थै हो।
20 यसैले सूर्यमुनि मैले मेहनतसित गरेको मेरो सारा परिश्रमको विषयमा मैले आफ्नो हृदय हताश हुने तुल्याउन लागें।
21 किनकि एकजना मानिस छ, जसको परिश्रम बुद्धि, ज्ञान र निपुणताको साथ गरिएको हुन्‍छ, तैपनि उसले यो कुरा यस्तो मानिसका निम्ति त्यसको अंशको रूपमा छोड़िराख्‍नेछ, जसले यसका निम्ति केही मेहनत गरेकै हुँदैन। यो पनि व्यर्थै हो, र एउटा ठूलो खराबी हो।
22 किनभने मानिसले आफ्नो सारा परिश्रम र आफ्नो हृदयको खिन्‍नताबाट के पो पाउँछ र, जसका निम्ति उसले सूर्यमुनि मेहनत गर्दछ?
23 किनकि उसका सबै दिनहरू कष्‍टैकष्‍ट हुन्‍छन्, र उसको कष्‍टदायक कामचाहिँ शोकले भरिएको हुन्‍छ, अँ, रातको समयमा पनि उसको हृदयले चैन पाउँदैन। यो पनि व्यर्थै हो।
24 मानिसले खाओस्, पिओस् र आफ्नो परिश्रमबाट आफ्नो प्राणलाई असल कुरा उपभोग गराओस् – मानिसका निम्ति योभन्दा असल कुरा केही पनि छैन। मैले यो पनि देखें, यो परमेश्‍वरको हातबाट भएको हो।
25 किनभने मभन्दा बढ़ी खान सक्ने अथवा त्यसका निम्ति हतारिन सक्ने अरू को होला?
26 किनकि जुन मानिस परमेश्‍वरको दृष्‍टिमा असल हुँदछ, त्यस मानिसलाई उहाँले बुद्धि, ज्ञान र आनन्द दिनुहुन्‍छ; तर पापीलाई चाहिँ उहाँले जम्मा पार्ने र थुपार्ने कष्‍टदायक काम दिनुहुन्‍छ – त्यस मानिसलाई दिनका निम्ति, जो परमेश्‍वरको दृष्‍टिमा असल हुँदछ। यो पनि व्यर्थै हो, र आत्माको खिन्‍नता हो।