2
हे मेरा छोरा, तिमीले मेरा वचनहरू ग्रहण गर्यौ र मेरा आज्ञाहरू आफूसित साँचेर राख्यौ भने,2 अनि बुद्धितिर आफ्नो कान थाप्यौ र समझतिर आफ्नो हृदय ढल्कायौ भने,
3 अँ, ज्ञानका निम्ति पुकार्यौ र समझका निम्ति आफ्नो सोर उचाल्यौ भने,
4 तिमीले त्यसलाई चाँदी झैं खोज्यौ, र लुकाइराखेको धनलाई झैं त्यसको खोज गर्यौ भने
5 तिमीले परमप्रभुको भय बुझ्नेछौ र परमेश्वरको ज्ञान भेट्टाउनेछौ।
6 किनभने परमप्रभुले बुद्धि दिनुहुन्छ; उहाँको मुखबाट ज्ञान र समझ निस्कन्छन्।
7 धर्मी जनहरूका निम्ति उहाँले खाँटी बुद्धि साँचेर राख्नुहुन्छ; सीधा चालक चल्नेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ।
8 उहाँले न्यायका बाटाहरूको रक्षा गर्नुहुन्छ, र आफ्ना पवित्र जनहरूको मार्ग सुरक्षित राख्नुहुन्छ।
9 तब तिमीले धार्मिकता, न्याय, निष्पक्षता, अँ, हरेक असल मार्ग बुझ्नेछौ।
10 जब बुद्धि तिम्रो हृदयमा पस्छ, र ज्ञानचाहिँ तिम्रो प्राणका निम्ति आनन्ददायक बन्छ;
11 तब विवेकले तिमीलाई जोगाउनेछ र समझले तिम्रो रक्षा गर्नेछ,
12 तिमीलाई खराब मानिसको मार्गबाट र टेढ़ा कुरा गर्ने मान्छेबाट जोगाउनका निम्ति;
13 तिनीहरूबाट, जसले अन्धकारका बाटाहरूमा हिँड़्नका निम्ति सीधा चालका मार्गहरूलाई त्याग्छन्,
14 जो खराबी गर्न पाउँदा रमाउँछन् र दुष्टको टेढ़ापनमा आनन्दित हुन्छन्,
15 जसका चालहरू टेढ़ा हुन्छन्, र तिनीहरू आफ्ना बाटाहरूमा टेढ़ा हिँड़्छन्;
16 अनि तिमीलाई पराई स्त्रीबाट, अँ, त्यस परस्त्रीबाट जोगाउनका निम्ति, जसले आफ्ना कुराहरूले चिप्लो घस्छे;
17 त्यसबाट, जसले आफ्नो जवानीको साथीलाईख त्याग्छे, र आफ्ना परमेश्वरको करार भुल्छे।
18 किनकि त्यसको घर मृत्युतिर र त्यसका बाटाहरू मरेकाहरूतर्फ झुकेका छन्।
19 जो त्यसकहाँ जान्छ, त्यो कहिल्यै फर्केर आउँदैन, न ता तिनीहरूले जीवनका बाटाहरू पक्रन्छन्।
20 फलस्वरूप तिमी असल मानिसहरूको मार्गमा हिँड़्नेछौ र धर्मी जनहरूका बाटाहरूमा लागिरहनेछौ।
21 किनकि सोझा चाल चल्नेहरू देशमा बस्नेछन्, र सिद्ध मानिसहरू यसमा रहिरहनेछन्।
22 तर दुष्ट मानिसहरू पृथ्वीबाट नष्ट हुनेछन् र अपराधीहरू त्यहाँबाट उखालिनेछन्।