3
हे मेरा छोरा, मेरो अर्तीलाईक नबिर्स; तर तिम्रो हृदयले मेरा आज्ञाहरू पालन गरोस्;2 किनभने तिनीहरूले तिमीलाई लामो आयु, जीवनका वर्षहरू र शान्ति थपिदिनेछन्।
3 कृपा र सत्यताले तिमीलाई नछोडून्; तिनलाई आफ्नो गलामा बाँधिराख; तिनलाई आफ्नो हृदयको पाटीमाथि लेख;
4 यसो गर्नाले तिमीले परमेश्वर र मानिसको दृष्टिमा अनुग्रह र असल समझ पाउनेछौ।
5 आफ्नो सम्पूर्ण हृदयले परमप्रभुमाथि भरोसा राख, र आफ्नै समझमाथि भर नपर!
6 आफ्ना सबै मार्गहरूमा उहाँलाई मान, र उहाँले तिम्रा बाटाहरू सीधाख तुल्याउनुहुनेछ।
7 आफ्नै दृष्टिमा बुद्धिमान् नहोऊ; परमप्रभुको भय मान र खराबीबाट अलग होऊ!
8 यो तिम्रो नाइटोको निम्ति स्वास्थ्य हुनेछ र तिम्रा हड्डीहरूका लागि मासी।
9 आफ्नो सम्पत्तिले र आफ्नो सबै उब्जनीको पहिलो फलले परमप्रभुलाई आदर गर;
10 यसो गर्नाले तिम्रा ढुकुटीहरू भरिपूर्ण हुनेछन् र तिम्रा कोलहरू दाखरसले भरिएर पोखिनेछन्।
11 हे मेरा छोरा, परमप्रभुको ताड़नालाई तुच्छ नठान, न ता उहाँको हप्की पाउँदा हताश होऊ;
12 किनकि जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ, उसलाई ताड़ना पनि दिनुहुन्छ, जुन व्यवहार बुबाले आफूले माया गरेको छोरासित गर्दछन्।
13 धन्य हो त्यो मानिस, जसले बुद्धि पाउँछ, अनि त्यो मानिस पनि, जसले समझ प्राप्त गर्छ।
14 किनकि यसको प्राप्तिचाहिँ चाँदीको प्राप्तिभन्दा उत्तम हो, र यसबाटको लाभचाहिँ निखुर सुनभन्दा पनि उत्तम हो।
15 बुद्धि लालमणिहरूभन्दा पनि बहुमूल्य हुन्छ, अनि तिमीले चाहना गरेका जम्मै थोकहरू यसको तुलनामा आउन सक्दैनन्।
16 लामो आयु यसको दाहिने हातमा छ, र यसको देब्रे हातमा धनसम्पत्ति र सम्मान छन्।
17 यसका मार्गहरू मनोहर छन्, र यसका सबै बाटाहरू शान्ति हुन्।
18 जसले यसलाई पक्रन्छन्, तिनीहरूका निम्ति यो जीवनको रूख हो; अनि जसले यसलाई आफूसित सम्हालिराख्छन्, तिनीहरू धन्यका हुन्।
19 बुद्धिद्वारा परमप्रभुले पृथ्वीको जग हाल्नुभएको छ; समझद्वारा उहाँले आकाश स्थापित गर्नुभएको छ।
20 उहाँकै ज्ञानद्वारा गहिरा सागरहरू फुटेर निस्के र बादलहरूले शीत चुहाउँछन्।
21 हे मेरा छोरा, तिम्रा आँखाबाट तिनलाई हट्न नदेऊ; खाँटी बुद्धि र विवेक जोगाइराख;
22 तब ती तिम्रा प्राणका निम्ति जीवन र तिम्रा गलाका निम्ति शोभा बन्नेछन्।
23 तब तिमी आफ्नो मार्गमा सुरक्षासाथ हिँड़्नेछौ, र तिम्रो पाउले ठेस खानेछैन।
24 जब तिमी सुत्छौ, तब तिमीलाई डर लाग्नेछैन, अँ, तिमी सुत्नेछौ, र तिम्रो निद्रा मीठो हुनेछ।
25 अचानक परिआउने भयदेखि नडराऊ, न ता दुष्टहरूमाथि विनाश आइपर्दा त्यसदेखि डराऊ!
26 किनकि परमप्रभु तिम्रा सहारा हुनुहुनेछ, र उहाँले तिम्रा पाउ फस्नदेखि जोगाउनुहुनेछ।
27 जसको भलाइ गर्नुपर्छ, सो गर्ने शक्ति तिम्रो हातमा छ भने, तिनीहरूको भलाइ गर्नदेखि पछि नहट!
28 तिमीसँग छ भने आफ्नो छिमेकीलाई, ‘जाऊ, पछि फेरि आऊ, र भोलि म दिउँला’ नभन!
29 तिम्रो छिमेकी तिमीसँग ढुक्कै बस्छ भने त्यसको विरोधमा खराब युक्ति नरच!
30 यदि कसैले तिम्रो खराबी गरेको छैन भने त्यस मानिससँग कारणैविना झगड़ा नगर!
31 अत्याचारीलाई डाहा नगर, र त्यसका चालहरूमध्ये एउटैलाई पनि नअपनाऊग!
32 किनकि टेढ़ा मानिस परमप्रभुको निम्ति घृणित हो; तर उहाँको भेद धर्मी जनहरूसँग हुन्छ।
33 दुष्टको घरमाथि परमप्रभुको श्राप आइपर्छ; तर धर्मी जनको वासस्थानलाई उहाँले आशिष् दिनुहुन्छ।
34 निश्चय नै उहाँले गिल्ला गर्नेहरूलाई गिल्ला गर्नुहुन्छ; तर नम्रहरूलाई उहाँले अनुग्रह दिनुहुन्छ।
35 बुद्धिमान्हरू महिमाका हकदार बन्नेछन्; तर शर्मचाहिँ मूर्खहरूको तरक्की हुनेछ।