4
हे छोराछोरीहो, बुबाको शिक्षा सुन, र समझ के हो, सो जान्‍न ध्यान देओ!
2 किनभने म तिमीहरूलाई असल शिक्षा दिन्छु, मेरो अर्तीलाई नत्याग!
3 किनकि म पनि मेरा बुबाको छोरो थिएँ, मेरी आमाको दृष्‍टिमा कोमल र एकमात्र प्रिय थिएँ।
4 अनि उनले मलाई पनि शिक्षा दिएर मलाई भने: ‘तिम्रो हृदयले मेरा वचनहरू पक्रेर राखोस्; मेरा आज्ञाहरू पालन गर, र बाँच!’
5 बुद्धि प्राप्‍त गर, समझ प्राप्‍त गर; यसलाई नभुल, र मेरो मुखका वचनहरूदेखि नतर्क!
6 यसलाई नत्याग, र यसले तिम्रो रक्षा गर्नेछ; यसलाई प्रेम गर, र यसले तिमीलाई सम्हाल्नेछ।
7 बुद्धि श्रेष्‍ठ वस्तु हो; यसैले बुद्धि प्राप्‍त गर, र तिम्रो सारा प्राप्‍तिले समझ प्राप्‍त गर!
8 बुद्धिलाई उच्‍च पार, र यसले तिम्रो तरक्‍की गर्नेछ; यसलाई तिमीले अँगाल्यौ भने यसले तिम्रो आदर गर्नेछ।
9 यसले तिम्रो शिरका लागि शोभाको गहना दिनेछ; यसले तिमीलाई महिमाको मुकुट ल्याइदिन्छ।
10 हे मेरा छोरा, सुन; मेरा कुराहरू ग्रहण गर, र तिम्रो जीवनको आयु लामो हुनेछ
11 मैले तिमीलाई बुद्धिको मार्गमा शिक्षा दिएको छु; मैले तिमीलाई सठीक बाटाहरूमा डोर्‍याएको छु।
12 तिमी हिँड़्‍दा तिम्रा पाइलाहरू साँघुरिनेछैनन्; अनि दगुर्दा तिमीले ठेस खानेछैनौ।
13 शिक्षालाई बलियो गरी पक्रिराख; यसलाई जान नदेऊ; यसलाई सम्हाल; किनकि यही तिम्रो जीवन हो।
14 दुष्‍टहरूको बाटोमा नटेक, र खराब मानिसहरूको मार्गमा नहिँड़!
15 त्योदेखि पर बस; त्यस बाटो भएर नजाऊ; त्यसबाट फर्क र त्यसलाई छोड़ेर जाऊ!
16 किनभने केही खराबी नगरेसम्म तिनीहरू सुत्दै सुत्दैनन्; अनि कसैलाई ठेस नखुवाएसम्म तिनीहरूलाई निद्रै लाग्दैन।
17 किनकि तिनीहरू दुष्‍टताको रोटी खान्छन् र अत्याचारको दाखमद्य पिउँछन्।
18 तर धर्मी जनहरूको बाटोचाहिँ चम्किरहने ज्योतिजस्तो हुन्छ, जो मध्यदिनसम्म झन्-झन् चहकिलो हुँदै जान्छ।
19 दुष्‍टहरूको मार्गचाहिँ अन्धकारजस्तो हुन्छ; केमा ठेस लाग्‍ने हो, सो तिनीहरूलाई थाहा हुँदैन।
20 हे मेरा छोरा, मेरा वचनहरूमा ध्यान देऊ; मेरा कुराहरूतिर आफ्नो कान लगाऊ!
21 तिम्रा आँखाबाट तिनलाई हट्न नदेऊ; तिनलाई तिम्रो हृदयको मध्य भागमा राख!
22 किनभने तिनलाई भेट्टाउनेहरूका निम्ति ती जीवन हुन् र उनीहरूका शरीरका निम्ति स्वास्थ्य हुन्।
23 आफ्नो हृदय पूरा यत्‍नसित सम्हालेर राख; किनकि यसैबाट जीवनका धाराहरू निस्कन्छन्।
24 आफूबाट छली मुख हटाइदेऊ, र आफूदेखि चालबाजी बोल्ने ओठहरू टाढ़ो राख!
25 तिम्रा आँखाहरूले सीधा अघि हेरून्; तिम्रा पलकहरूले सीधा आफ्नो सामु हेरून्।
26 तिम्रा पाउहरूको हिँड़्‍ने बाटोलाई विचार गर, र तिम्रा सबै मार्गहरू स्थिर होऊन्।
27 तिमी न दाहिनेतिर, न देब्रेतिर फर्क; आफ्नो पाउ खराबीबाट हटाऊ!