5
हे मेरा छोरा, मेरो बुद्धितिर ध्यान देऊ, र मेरो समझतिर आफ्नो कान लगाऊ!2 यसो हुँदा तिमीले विवेकको जगेड़ा गर्न सक्छौ, र तिम्रा ओठहरूले ज्ञानको रक्षा गर्नेछन्।
3 किनकि पराई स्त्रीका ओठहरूले महको चाकाले झैं मह चुहाउँछन्, र त्यसको मुखचाहिँ तेलभन्दा चिप्लो हुन्छ;
4 तर त्यसको अन्तचाहिँ तीतेपातीजस्तै तीतो, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ।
5 त्यसका पाउहरू ओरालो मृत्युतिर लाग्छन्, र त्यसका पाइलाहरूले अधोलोकलाई पक्रन्छन्।
6 त्यसले जीवनको बाटोलाई ध्यानसित विचार गर्दिन; त्यसका चालहरू त चञ्चल हुन्छन्, त्यसले तिनलाई जान्नै सक्दिन।
7 यसकारण अब हे छोराछोरीहरूहो, मेरो कुरा सुन, र मेरो मुखका वचनहरूबाट हटेर नजाओ!
8 तिम्रो मार्ग त्योदेखि पर सार, र त्यसको घरको ढोकाको नजिक नजाऊ!
9 कहीं तिमीले आफ्नो इज्जत अरूलाई देऔला, र आफ्ना वर्षहरूचाहिँ निर्दयी मान्छेको हातमा सुम्पौला!
10 कहीं पराईहरू तिम्रो धनसम्पत्तिले तृप्त होलान्; अनि तिम्रो मेहनतचाहिँ पराईको घरमा पुग्ला!
11 र अन्त्यमा आफ्नो मासु र आफ्नो शरीर नष्ट हुँदा तिमीले विलाप गर्नुपर्ला,
12 र यसो भन्नुपर्ला: ‘हाय! मैले शिक्षालाई घृणा गरें; अनि मेरो हृदयले हप्कीलाई तुच्छ ठान्यो!
13 अनि मेरा शिक्षकहरूको आवाज मैले पालन गरिनँ, न ता मलाई शिक्षा दिनेहरूतिर आफ्नो कान लगाएँ!
14 सभा र मण्डलीको बीचमा म झण्डै सबै खराबीमा परें!’
15 आफ्नै हौजबाट पानी पिऊ, र आफ्नै कुवाबाट उम्रिरहेको पानी पिऊ!
16 के तिम्रा धाराहरू यताउति पोखिऊन्? र के पानीका खोलाहरू सड़कहरूमा बगून्?
17 ती तिम्रै लागि मात्र होऊन्, र तिमीसँग पराईहरूले नपाऊन्।
18 तिम्रो धारा आशिषित होस्; अनि आफ्नो जवानीकी पत्नीसँग आनन्दित होऊ!
19 ऊ एउटी मायालु हरिणी र एउटी मनोहर मृगी हो; हर समय उसका स्तनहरूले तिमीलाई सन्तुष्ट राखून्; अनि उसैको प्रेममा सधैंभरि मग्न होऊ!
20 हे मेरा छोरा, तिमी किन पराई स्त्रीसँग मोहित हुन्छौ, र परस्त्रीकोक छातीलाई अँगाल्छौ?
21 किनभने मानिसका मार्गहरू परमप्रभुका आँखाको सामु छन्; अनि उहाँले त्यसका सबै चालहरू विचार्नुहुन्छख।
22 दुष्ट मानिसलाई त्यसकै अधर्महरूले फसाउनेछन्, र आफ्नै पापका डोरीहरूमा त्यो फसेको हुनेछ।
23 शिक्षाकोग अभावले त्यो मर्नेछ; अनि त्यसको ठूलो मूर्खताले गर्दा त्यो भड़्किएर जानेछ।