6
हे मेरा छोरा, तिमी आफ्ना साथीका निम्ति जमानी बसेका छौ भने, हातमा आफ्नो हात ठोकेर परदेशीका लागि जमानी बसेका छौ भने,2 तिमी आफ्नै मुखका वचनहरूद्वारा फसेका छौ; तिमी आफ्नै मुखका वचनहरूद्वारा पक्राउ परेका छौ।
3 अब हे मेरा छोरा, यो गर र आफैलाई छुटाऊ; किनभने तिमी आफ्नो साथीको पन्जामा परेका छौ; जाऊ, आफूलाई नम्र तुल्याऊ, र आफ्नो साथीलाई मनाऊ!क
4 आफ्ना आँखाहरूलाई निद्रा, आफ्ना पलकहरूलाई झप्की आउन नदेऊ!
5 शिकारीको हातबाट मृगीले झैं र चरा मार्नेको हातबाट चराले झैं आफूलाई छुटाऊ!
6 हे अल्छे, कमिलाकहाँ जा; त्यसका चालहरू विचार गर् र बुद्धिमान् बन्;
7 त्यसको न अगुवा, न देखरेख गर्ने निरीक्षक, न शासक छ;
8 तर पनि ग्रीष्म ऋतुमा त्यसले आफ्नो खानेवस्तु जोहो गर्छ, र कटनीको समयमा खानेकुरा बटुल्छ।
9 हे अल्छे, कहिलेसम्म तँ सुतिरहन्छस्? आफ्नो निद्राबाट तँ कहिले उठ्छस्?
10 अलिकति निद्रा, एकक्षणको झप्की, निदाउनलाई अलिकति हात बँधाइ,
11 तब तिम्रो गरिबी बाटोको लुटेराझैं, र तिम्रो घटीकमी हातहतियार भिरेको मान्छेझैं आइलाग्नेछन्।
12 भक्तिहीन व्यक्ति, दुष्ट मान्छे टेढ़ामेढ़ा कुराख गर्दै हिँड़्छ।
13 त्यसले आफ्ना आँखाले इसारा गर्छ; त्यसले आफ्ना पाउले बोल्छ; त्यसले आफ्ना औंलाले सिकाउँछ।
14 त्यसको हृदयमा टेढ़ामेढ़ा कुरा हुन्छन्; त्यसले निरन्तर खराबी गर्ने युक्ति रच्छ; त्यसले अमेलको बीउ छर्छ।
15 यसकारण अचानक त्यसमाथि त्यसको विपत्ति आइपर्नेछ; कुनै उपाय नपाईकनै एक्कासि त्यो चूर हुनेछग।
16 यी छवटा कुरालाई परमप्रभुले घृणा गर्नुहुन्छ; अँ, सातवटा छन्, जुनचाहिँ उहाँका निम्ति घृणित हुन्छन्;
17 घमण्डी आँखा, झूट बोल्ने जिब्रो, निर्दोषको रगत बगाउने हात;
18 दुष्ट युक्ति रच्ने मन, हतारसँग खराबीतिर दगुर्ने पाउहरू;
19 झूट बोल्ने झूटो साक्षी र भाइ-भाइको बीचमा अमेलको बीउ छर्ने मान्छे।
20 हे मेरा छोरा, तिम्रा बुबाको आज्ञा पालन गर, र तिम्री आमाको अर्तीलाईघ नत्याग;
21 तिनलाई निरन्तर आफ्नो हृदयमाथि बाँधिराख; तिनलाई आफ्नो गलामा बाँधिराख!
22 तिमी हिँड़्दा यसले तिमीलाई अगुवाइ गर्नेछ; तिमी सुत्दा त्यसले तिम्रो रक्षा गर्नेछ; तिमी जागा हुँदा यसले तिमीसँग कुरा गर्नेछ।
23 किनभने आज्ञा एउटा बत्ती हो, र व्यवस्थाचाहिँ एउटा ज्योति हो; अनि शिक्षाको निम्ति दिइएका हप्कीहरूचाहिँ जीवनको बाटो हुन्;
24 यो तिमीलाई खराब स्त्रीबाट, पराई स्त्रीको चिप्लो घस्ने जिब्रोबाट जोगाउनका निम्ति हो।
25 तिम्रो हृदयमा त्यसको सुन्दरताको लालसा नगर; त्यसले तिमीलाई आफ्ना पलकहरूको नचाइले फसाउन नपाओस्।
26 किनकि वेश्या स्त्रीको कारणले गर्दा मान्छे एक टुक्रा रोटीको भिखारी बन्छ; अनि व्यभिचारी स्त्रीले बहुमूल्य जीवनको शिकार गर्नेछे।
27 के मानिसले आफ्नो छातीमा आगो राखेर पनि त्यसको लुगा नडढ़्न सक्छ र?
28 के मानिस भुङ्ग्रामाथि हिँड़ेर पनि त्यसका पाउहरू नजल्न सक्छ र?
29 आफ्नो छिमेकीकी पत्नीकहाँ जाने मानिस यस्तै हुन्छ; जसकसैले यसलाई छुन्छ, त्यो निर्दोष ठहरिनेछैन।
30 भोक लागेको बेला आफ्नो भोक मार्न कसैले चोर्छ भने त्यस चोरलाई मानिसहरूले तुच्छ ठान्दैनन्।
31 तर त्यो पक्राउ पर्यो भने त्यसले सात गुणा भर्नुपर्नेछ; त्यसले आफ्नो घरको सारा सम्पत्ति दिनुपर्नेछ।
32 जसले कुनै स्त्रीसँग व्यभिचार गर्छ, त्यससँग समझ हुँदैन; यस्तो काम गर्ने मानिसले आफ्नै प्राणलाई नष्ट गर्छ।
33 त्यसले घाउ र अपमान पाउनेछ; अनि त्यसको निन्दा कहिल्यै मेटिनेछैन।
34 किनभने जलन मानिसको उम्लने रिस हो; यसकारण बदला लिने दिनमा त्यसले त्यसलाई बाँकी राख्नेछैन।
35 त्यसले कुनै क्षतिपूर्तिको वास्ता गर्दैन; तिमीले धेरै उपहार दिए तापनि त्यो सन्तुष्ट हुनेछैन।