7
हे मेरा छोरा, मेरा वचनहरू पालन गर, र मेरा आज्ञाहरू आफूसित साँचेर राख!2 मेरा आज्ञाहरू पालन गर, र बाँच; र मेरो व्यवस्था आफ्नो आँखाको नानीलाई झैं जोगाइराख!
3 तिनलाई आफ्ना औंलाहरूमा बाँधिराख, तिनलाई आफ्नो हृदयको पाटीमा लेख!
4 बुद्धिलाई ‘तिमी मेरी दिदी हौ’ भन; अनि समझलाई चाहिँ ‘मेरा आफन्त’ भन;
5 फलस्वरूप तिनीहरूले तिमीलाई पराई स्त्रीबाट, र आफ्ना कुराले चिप्लो घस्ने परस्त्रीबाट बचाऊन्।
6 किनकि मेरो घरको झ्यालमा मैले आफ्नो आँखीझ्यालबाट बाहिर हेरें,
7 मैले बोधाहरूको बीचमा हेरें; जवानहरूको बीचमा कुनै एउटा समझहीन जवानलाई ठम्याएँ।
8 त्यस स्त्रीको घरको कुनानिरको सड़कमा त्यो गइरहेको थियो; अनि त्यो त्यसको घरतिरको बाटो लाग्यो,
9 बेलुकीपख, साँझमा, कालो र अँध्यारो रातमा;
10 अनि हेर, वेश्याकोक वस्त्र लगाएकी र धूर्त हृदय भएकी एउटी स्त्रीले त्यसलाई भेटी।
11 (त्यो बकबके, साथै जिद्दी गर्ने खालकी थिई; त्यसका पाउहरू आफ्नो घरमा अड़िँदैनन्;
12 कहिले त्यो बाहिर हुन्छे, कहिले सड़कहरूहुँदो; अनि हरेक कुनामा त्यो ढुकिबस्छे।)
13 तब यसले त्यसलाई समाती, र त्यसलाई चुम्बन गरी, अनि लाज पचेको अनुहार लिई त्यसलाई यसो भनी:
14 ‘मसँग मेलबलिहरू छन्; आज नै मैले आफ्ना भाकलहरू गरेकी छु।
15 यसैकारण म तिमीलाई भेट्न, यत्नसित तिम्रो चेहराको खोज गर्न निस्कें; अनि मैले तिमीलाई भेट्टाएकी छु।
16 मैले मेरो पलङमाथि बुट्टा हानेको कपड़ा बिछ्याएकी छु, मिस्र देशको रङ्गबिरङ्गी चादरले ढाकेकी छु।
17 मैले मेरो पलङमाथि गन्धरस, अगरु र दालचिनीको सुगन्धित अत्तर छरेकी छु।
18 आऊ, बिहानसम्म हामी प्रेमले तृप्त बनौं, प्रेमद्वारा आफैलाई आनन्दित तुल्याऔं!
19 किनभने मेरा पतिख घरमा छैनन्, तिनी लामो यात्रामा गएका छन्;
20 तिनले आफूसित पैसाको थैली लगेका छन्, अनि तोकिएको दिन तिनी घर फर्की आउनेछन्।’
21 धेरै-धेरै मीठो बोलीले यसले त्यसलाई कुरा मान्ने पारी; आफ्ना ओठको चिप्लो घसाइले यसले त्यसलाई विवशमा पारी।
22 काटिनका निम्ति गइरहेको गोरुझैं, वा ठिङ्गुरामा सजाय भोग्न गइरहेको मूर्खझैं त्यो तुरुन्तै त्यस स्त्रीको पछि लाग्छ।
23 अन्त्यमा त्यसको कलेजो काँड़ले छेंड़िन्छ; त्यो यो चराजस्तो हो, जो बेग हानेर पासोतिर जान्छ, र त्यसले मेरो प्राण लिन्छ भन्ने कुरा त्यसलाई थाहा हुँदैन।
24 यसकारण अब हे मेरा छोराछोरीहो, मेरो कुरा ध्यानसित सुन, र मेरो मुखका वचनहरूप्रति ध्यान देओ!
25 तिम्रो हृदय त्यसका मार्गहरूतिर नलागोस्, त्यसका बाटाहरूमा तिमी भड़्किएर नजाऊ!
26 किनकि त्यसले धेरै जनालाई घाइते पारेर पछारेकी छे; अँ, धेरै बलवान्हरू त्यसद्वारा मारिएका छन्।
27 त्यसको घरचाहिँ अधोलोक जाने बाटो हो, जसले तल मृत्युका कोठाहरूकहाँ पुर्याउँछ।