8
के बुद्धिले पुकार्दैन र? अनि के समझले आफ्नो आवाज सुनाउँदैन र?
2 ऊ त अग्ला ठाउँहरूको चुचुरामा, सड़कहरूका चौबाटाहरूमा बाटोको किनारमा उभिन्छ।
3 मूलढोकाहरूनिर, शहरको मुखमा, ढोकाहरूबाट भित्र पस्‍ने ठाउँमा उसले यसो भन्दै कराउँछ:
4 ‘हे मानिसहरूहो, म तिमीहरूलाई पुकार्छु; मेरो वाणी मानिसका सन्तानका निम्ति हो।
5 हे बोधाहरूहो, बुद्धि के हो, सो जान; अनि हे मूर्खहरूहो, समझदार हृदय भएका होओ!
6 सुन; किनभने म उत्तम कुराहरू बोल्नेछु, र मेरा ओठ खोलिँदा सठीक कुराहरू निस्कन्छन्।
7 किनकि मेरो मुखले सत्य बोल्नेछ; अनि दुष्‍टता मेरा ओठहरूका लागि घृणित कुरा हो।
8 मेरो मुखका सबै वचनहरू धर्ममय हुन्छन्; तिनमा कुनै टेढ़ा वा कुटिल कुरा हुँदैन।
9 बुझ्ने मानिसका निम्ति ती सबै सरल छन्, र ज्ञान पाएकाहरूका निम्ति ती सठीक छन्।
10 चाँदी होइन, तर मेरो शिक्षा ग्रहण गर; अनि उत्तम सुनभन्दा बरु ज्ञान ग्रहण गर!
11 किनभने बुद्धि लालमणिहरूभन्दा उत्तम हुन्छ, र तिमीले चाहना गरेका जम्मै थोकहरू यसको तुलनामा आउन सक्दैनन्।
12 म बुद्धि निपुणतासँग वास गर्दछु, र विचारपूर्ण युक्तिहरूको ज्ञान प्राप्‍त गर्छु।
13 परमप्रभुको भय मान्‍नुचाहिँ खराबीलाई घृणा गर्नु हो; घमण्ड, हठीपना, खराब चाल र टेढ़ामेढ़ा बोल्ने मुखलाई म घृणा गर्दछु।
14 सल्‍लाह र खाँटी बुद्धि मेरा हुन्; समझ म नै हुँ; मसँग सामर्थ्य छ।
15 मद्वारा राजाहरूले राज्य गर्छन्, र शासकहरूले न्याययुक्त कानुन बनाउँछन्।
16 मद्वारा नै शासकहरूले, भारदारहरूले, अँ, पृथ्वीका सबै न्यायाधीशहरूले शासन गर्छन्।
17 जसले मलाई प्रेम गर्छन्, तिनीहरूलाई म प्रेम गर्छु; अनि जसले मलाई यत्‍नसित खोज्छन्, तिनीहरूले मलाई भेट्टाउनेछन्।
18 धनसम्पत्ति र सम्मान, अँ, रहिरहने सम्पत्ति र धार्मिकता मसँग छन्।
19 मेरो फलचाहिँ सुनभन्दा, अँ, निखुर सुनभन्दा उत्तम हो; अनि मेरो कमाइचाहिँ उत्तम चाँदीभन्दा पनि उत्तम हो।
20 म धार्मिकताको बाटोमा, अँ, न्यायका मार्गहरूको बीचमा हिँड़्छु,
21 मलाई प्रेम गर्नेहरूलाई सम्पत्तिको हकदार बनाउनका निम्ति; अनि म उनीहरूका ढुकुटीहरू भरिदिनेछु।
22 परमप्रभुले आफ्नो मार्गको शुरुमै, आफ्ना प्राचीनकालदेखिका कामहरूभन्दा पहिल्यै मलाई धारण गर्नुभयो।
23 म अनन्तकालदेखि, अँ, शुरुदेखि नै अर्थात् पृथ्वी हुनुभन्दा पहिलेदेखि नै म ठहराइएको थिएँ।
24 म उत्‍पन्‍न हुँदा न ता गहिरा सागरहरू, न प्रशस्त पानी बग्‍ने धाराहरू नै थिए।
25 पहाड़हरू स्थापित हुनुभन्दा पहिल्यै र डाँड़ाहरूभन्दा पहिल्यै म उत्‍पन्‍न भएँ;
26 त्यस घड़ीसम्म उहाँले पृथ्वी, मैदानहरू र संसारको माटोको माथिल्‍लो तह बनाउनुभएकै थिएन।
27 जब उहाँले आकाश तयार पार्नुभयो, त्यस घड़ी म त्यहाँ थिएँ; जब उहाँले गहिरो सागरको सतहमाथि गोलाकार परिधि ठहराउनुभयो;
28 जब उहाँले माथि बादलहरू स्थापित गर्नुभयो; जब उहाँले गहिरा सागरका मूलहरू बलियो पार्नुभयो;
29 जब उहाँले समुद्रलाई, पानीले उहाँको हुकुम नाघेर जान नपाओस् भनेर त्यसको सीमा दिनुभयो; जब उहाँले पृथ्वीका जगहरू ठहऱ्याउनुभयो;
30 तब म एक निपुण कारिगरको रूपमा उहाँकै छेउमा थिएँ; अनि हरेक दिन म उहाँको प्रसन्‍नता थिएँ; उहाँको सामु म सदैव आनन्दित रहन्थें;
31 उहाँको पृथ्वीको बस्‍न लायकको भागसँग म आनन्दित थिएँ; अनि मेरो प्रसन्‍नता मानिसका सन्तानहरूसँग थियो।
32 यसकारण अब हे छोराछोरीहो, मेरो कुरा सुन; किनभने जो मेरा मार्गहरूमा लागिरहन्छन्, उनीहरू धन्यका हुन्।
33 शिक्षा सुन र बुद्धिमान् होओ, र यसलाई अस्वीकार नगर!
34 जसले दिनहुँ मेरा मूलढोकाहरूमा जागो रही मेरा ढोकाहरूका खाँबाहरूनिर प्रतीक्षा गर्दै मेरो कुरा सुन्छ, त्यो मानिस धन्यको हो।
35 किनभने जसले मलाई भेट्टाउँछ, उसले जीवन पाउँछ, र परमप्रभुबाट कृपा प्राप्‍त गर्नेछ।
36 तर जसले मेरो विरोधमा पाप गर्छ, त्यसले आफ्नै प्राणलाई हानि पुर्‍याउँछ; मलाई घृणा गर्ने सबैले मृत्युलाई प्रेम गर्छन्।’