9
बुद्धिले आफ्नो घर बनाएको छ; उसले आफ्ना सातवटा खाँबा खोपेर बनाएको छ;
2 उसले आफ्ना पशुहरू मारेको छ, आफ्नो दाखमद्यमा मसाला मिलाएको छ; उसले आफ्नो टेबल पनि सजाएको छ।
3 उसले आफ्ना कुमारीहरूलाई पठाएको छ; उसले शहरका अग्ला ठाउँहरूहुँदो पुकार्छ:
4 ‘जो बोधो छ, त्यो फर्केर यहाँ आओस्’; अनि जससँग समझ छैन, त्यसलाई उसले भन्दछ:
5 ‘आओ, मेरो रोटीबाट खाओ, र मेरो दाखमद्यबाट पिओ, जसमा मैले मसाला मिलाएको छु।
6 मूर्खहरूलाई त्याग, र बाँच; अनि समझको मार्गमा हिँड़!’
7 जसले गिल्‍ला गर्नेलाई हप्काउँछ, त्यो आफै शर्ममा पर्छ; अनि जसले दुष्‍टलाई हकार्छ, त्यो आफै कलङ्कित हुन्छ।
8 गिल्‍ला गर्नेलाई नहप्काऊ, नत्र त्यसले तिमीलाई घृणा गर्ला; बुद्धिमान् मानिसलाई हप्काऊ, र उसले तिमीलाई प्रेम गर्नेछ।
9 बुद्धिमान् मानिसलाई शिक्षा देऊ, र ऊ झन् बुद्धिमान् हुनेछ; इमानदार मानिसलाई सिकाऊ, र उसले विद्या बढ़ाउनेछ।
10 परमप्रभुको भय बुद्धिको शुरु हो; अनि परमपवित्रको ज्ञानचाहिँ समझ हो।
11 किनकि मद्वारा तिम्रो आयु बढ़्नेछ, र तिम्रो जीवनका वर्षहरू थपिनेछन्।
12 तिमी बुद्धिमान् भयौ भने तिमी आफ्नै निम्ति बुद्धिमान् हुनेछौ; तर तिमीले गिल्‍ला गर्‍यौ भने तिमीले मात्र त्यो भोग्‍नुपर्नेछ।
13 मूर्ख स्त्री हल्‍ला मच्च्याउने हुन्छे; त्यो बुद्धू हो, र त्‍यसले केही जान्दिन।
14 किनभने त्यो आफ्नो घरको ढोकामा बस्छे, शहरका अग्ला ठाउँहरूमा आसनमा बस्छे,
15 त्यहाँबाट भएर आ-आफ्ना मार्गमा सीधा गइरहेकाहरूलाई यसो भन्दै बोलाउनलाई:
16 ‘जो बोधो छ, त्यो फर्केर यहाँ आओस्’, अनि जससँग समझ छैन, यसलाई त्‍यसले यसो भन्छे:
17 ‘चोरेको पानी मीठो हुन्छ, र गुप्‍तमा खाएको रोटी स्वादिलो हुन्छ।’
18 तर त्यहाँ मरेकाहरू छन्, र त्यसका पाहुनाहरू अधोलोकका गहिराइहरूमा छन् भन्‍ने कुरा यसलाई थाहै छैन।