सुलेमानका हितोपदेशहरू:
10
बुद्धिमान् छोराले बुबालाई आनन्दित तुल्याउँछ; तर मूर्ख छोरा आफ्नी आमाको पीरको कारण हुन्छ।
2 दुष्‍टताको धनले केही लाभ दिँदैन, तर धार्मिकताले मृत्युबाट छुटाउँछ।
3 परमप्रभुले धर्मी जनको प्राणलाई भोको हुन दिनुहुनेछैन; तर दुष्‍टहरूको सम्पत्ति फ्याँकिदिनुहुन्छ।
4 लोसे हातले काम गर्ने मान्छे गरिब हुन्छ, तर परिश्रम गर्नेहरूको हातले धनी बनाउँछ।
5 जसले ग्रीष्म ऋतुमा जम्मा पार्दछ, त्यो बुद्धिमान् छोरा हो; तर कटनीको समयमा जो सुत्छ, त्यो शर्म ल्याउने छोरा हो।
6 न्यायप्रेमीको शिरमा आशिष्‌हरू हुन्छन्, तर दुष्‍टहरूको मुखलाई अत्याचारले छोपिदिन्छ।
7 न्यायप्रेमीको सम्झना आशिष्‌मय हुन्छ, तर दुष्‍टहरूको नाम सड़ेर जानेछ।
8 बुद्धिमान् हृदय भएको मानिसले आज्ञाहरू ग्रहण गर्नेछ, तर बकबके मूर्ख लड़्नेछ।
9 सीधा चालमा चल्ने मानिस सुरक्षित भई हिँड़्छ; तर जसले आफ्ना चालहरू टेढ़ामेढ़ा पार्छ, त्यो चिनिनेछ।
10 जसले आँखाले इसारा गर्छ, त्यसले दुःख ल्याउँछ; तर बकबके मूर्ख लड़्ने नै छ।
11 धर्मी जनको मुखचाहिँ जीवनको धारा हो; तर दुष्‍टहरूको मुखलाई अत्याचारले छोपिदिन्छ।
12 घृणाले झगड़ा मच्च्याउँछ; तर प्रेमले सबै पापहरू ढाकिदिन्छ।
13 समझ भएको मानिसका ओठहरूमा बुद्धि पाइन्छ; तर छड़ीचाहिँ समझ नभएको मान्छेको पिठ्यूँका लागि हो।
14 बुद्धिमान् मानिसहरूले ज्ञान साँचेर राख्छन्; तर मूर्खको मुख विनाशको नजिकैमा छ।
15 धनी मानिसको धनचाहिँ त्यसको बलियो शहर हो; तर गरिबहरूको विनाशचाहिँ तिनीहरूको गरिबी हो।
16 धर्मी जनको परिश्रमले जीवन बढ़ाउँछ; तर दुष्‍टको कमाइले पापतिर लैजान्छ।
17 जसले शिक्षा पालन गर्छ, ऊ जीवनको बाटोमा हुन्‍छ; तर जसले हप्कीलाई इन्कार गर्छ, त्यो भड़्किन्छ।
18 जसले झूट बोल्ने ओठहरूद्वारा घृणालाई लुकाउँछ, र जसले बदनामी फैलाउँछ, त्यो मूर्ख हो।
19 जहाँ धेरै कुरा गरिन्छ, त्यहाँ पापको अभाव हुँदैन; तर जसले आफ्ना ओठहरूमा लगाम लगाउँछ, ऊ बुद्धिमान् हो।
20 न्यायप्रेमीको जिब्रो उत्तम चाँदीजस्तो हो; तर दुष्‍टको हृदय थोरै मूल्यको हुन्छ।
21 धर्मी जनका ओठले धेरैलाई पालनपोषण गर्छन्, तर मूर्खहरू बुद्धिको अभावले मर्छन्।
22 परमप्रभुको आशिष्‌ – यसले धनी तुल्याउँछ; अनि यसको साथमा उहाँले कुनै शोक थप्‍नुहुन्‍न।
23 खराबी गर्नु मूर्खका निम्ति खेलठट्टाजस्तै हो; तर समझदार मानिससँग बुद्धि हुन्छ।
24 दुष्‍टलाई जुन कुराको डर हुन्छ, त्यही त्यसमाथि आइपर्नेछ; तर धर्मी जनहरूको चाहना पूरा गरिनेछ।
25 जसरी भुमरी पार भएर जान्छ, त्यसरी नै दुष्‍ट मेटिन्छ; तर धर्मी जनसँग अनन्त रहने जग हुन्छ।
26 दाँतहरूका निम्ति सिर्का र आँखाहरूका निम्ति धूवाँ भएजस्तै, अल्छे पनि तिनीहरूका निम्ति त्यस्तै हुन्छ, जसले त्यसलाई पठाउँछन्।
27 परमप्रभुको भयले आयु बढ़ाउँछ; तर दुष्‍टहरूका वर्ष घटाइनेछन्।
28 धर्मी जनहरूको आशा आनन्द हुनेछ; तर दुष्‍टहरूको आशा नष्‍ट हुनेछ।
29 सीधा चाल चल्नेहरूका निम्ति परमप्रभुको मार्ग बल हो; तर अधर्म गर्नेहरूका निम्ति विनाश हुनेछ।
30 धर्मी जन कहिल्यै डग्‍नेछैन; तर दुष्‍टहरूले पृथ्वीमाथि वास गर्नेछैनन्।
31 न्यायप्रेमीको मुखले बुद्धि जन्माउँछ, तर छली जिब्रो काटिनेछ।
32 धर्मी जनका ओठले कुन कुरा ग्रहणयोग्य छ, सो जान्दछन्; तर दुष्‍टहरूको मुखले टेढ़ामेढ़ा कुराहरू बोल्दछ।