11
छलको तराजु परमप्रभुका निम्ति घृणित कुरा हो; तर ठीक वजन भएको ढकचाहिँ उहाँको आनन्द हो।
2 जब घमण्ड आउँछ, तब शर्म पनि आउँछ; तर नम्रहरूसँग बुद्धि हुन्छ।
3 सीधा चाल चल्नेहरूको इमानदारीपनले उनीहरूलाई डोर्‍याउनेछ; तर अपराधीहरूको टेढ़ापनले तिनीहरूलाई नाश गर्नेछ।
4 क्रोधको दिनमा धनसम्पत्तिले केही फाइदा दिँदैन; तर धार्मिकताले मृत्युदेखि छुटाउँछ।
5 इमानदार व्यक्तिको धार्मिकताले उसको मार्ग सोझो पार्छ; तर दुष्‍टचाहिँ त्यसको आफ्नै दुष्‍टताले गर्दा पतित हुनेछ।
6 सीधा चाल चल्नेहरूको धार्मिकताले उनीहरूलाई छुटाउँछ; तर अपराधीहरूचाहिँ आफ्नै दुष्‍टतामा फस्‍नेछन्।
7 जब दुष्‍ट मर्छ, तब त्यसको आशा नष्‍ट हुन्छ; अनि अन्यायी मानिसहरूको आशा नष्‍ट हुन्छ।
8 धर्मी जनले सङ्कष्‍टबाट छुटकारा पाउँछ, र उसको ठाउँमा दुष्‍ट मान्छे पर्छ।
9 कपटी मान्छेले मुखले आफ्नो छिमेकीलाई नाश पार्छ; तर ज्ञानद्वारा धर्मी जनहरूले छुटकारा पाउनेछन्।
10 जब धर्मी जनहरू कुशल हुन्छन्, तब शहर रमाउँछ; अनि जब दुष्‍टहरू नाश हुन्छन्, तब रमाहटको नारा लगाइन्छ।
11 सीधा चाल चल्नेहरूको आशिष्‌ले शहरको उत्थान हुन्छ; तर दुष्‍टहरूको मुखले गर्दा त्यो पतित हुन्छ।
12 जससँग समझ छैन, त्यसले आफ्नो छिमेकीलाई तुच्छ ठान्छ; तर समझदार मानिस चुप रहन्छ।
13 कुराबोकुवाले गुप्‍त कुराहरू प्रकट गरिदिन्छ; तर विश्‍वासयोग्य आत्मा हुनेले कुरा गोप्य राख्छ।
14 जहाँ सल्‍लाह छैन, त्यहाँ मानिसहरू पतित हुन्छन्; तर जहाँ धेरै सल्‍लाहकार हुन्छन्, त्यहाँ सुरक्षा हुन्छ।
15 जो परदेशीका निम्ति जमानी बस्छ, त्यसले यसका निम्ति पीड़ा भोग्‍नेछ; तर जसले जमानी बस्‍नु घृणा गर्छ, ऊ सुरक्षित रहन्छ।
16 दयालु स्त्रीले इज्जत सम्हालिराख्छे; अनि बलिया मानिसहरूले धनसम्पत्ति सम्हालिराख्छन्।
17 दयालु मानिसले आफ्नै प्राणको भलाइ गर्छ; तर निर्दयीले आफ्नै शरीरलाई कष्‍ट दिन्छ।
18 दुष्‍टले छली काम गर्छ; तर जसले धार्मिकताको बीउ छर्छ, उसले निश्‍चय नै इनाम पाउँछ।
19 जसरी धार्मिकताले जीवनमा पुर्‍याउँछ, त्यसरी नै खराबीको पछि लाग्‍ने मानिस आफ्नै मृत्युमा पुग्छ।
20 टेढ़ा हृदय भएकाहरू परमप्रभुका निम्ति घृणित छन्; तर आफ्नो चालमा सीधा हुनेहरू उहाँका आनन्द हुन्।
21 निश्‍चय नै दुष्‍ट दण्ड नपाई छोड़िनेछैन। तर धर्मी जनहरूको वंशले छुटकारा पाउनेछ।
22 सुन्दरी स्त्रीसँग विवेकशीलता नहुनुचाहिँ सुँगुरको थुतुनुमा सुनको बुलाकी भएजस्तै हो।
23 धर्मी जनहरूको चाहना असलै मात्र हुन्छ; तर दुष्‍टहरूको आशाचाहिँ क्रोध हुन्छ।
24 कसै-कसैले चारैतिर छर्छ, तर पनि उसको बढ़्ती नै हुन्छ; अनि कसै-कसैले हकभन्दा बढ़्‍ता राख्छ, तर पनि त्यो गरिबीमै पुग्छ।
25 उदार चित्त भएको मन हृष्‍टपुष्‍ट पारिनेछ; अनि जसले अर्काको बारी सिँच्छ, त्यसको पनि सिँचिनेछ।
26 जसले अन्‍न राखिछोड़्छ, त्यसलाई मानिसहरूले सराप्छन्; तर जसले अन्‍न बेच्छ, उसको शिरमाथि आशिष्‌ रहनेछ।
27 जसले यत्‍नपूर्वक भलाइको खोज गर्छ, उसले कृपा पाउनेछ; तर जसले खराबीको खोज गर्छ, त्यसैमाथि त्यो आइपर्छ।
28 जसले आफ्नो धनसम्पत्तिमाथि भरोसा राख्छ, त्यो लड़्नेछ; तर धर्मी जनहरूचाहिँ पालुवाझैं मौलाउनेछन्।
29 जसले आफ्नै घरलाई दुःख दिन्छ, त्यसले पैतृक सम्पत्तिको रूपमा हावा पाउनेछ; अनि मूर्खचाहिँ बुद्धिमान् हृदय भएको मानिसको दास बन्‍नेछ।
30 धर्मी जनको फल जीवनको रूख हो; अनि जसले आत्माहरू जित्छ, ऊ बुद्धिमान् हो।
31 हेर, धर्मी जनले पृथ्वीमा इनाम पाउनेछ भने दुष्‍ट र पापीले झन् बढ़ी पाउनेछन्।