पाँचौं भाग: भजन १०७-१५०
107
परमप्रभुलाई धन्यवाद चढ़ाओ; किनकि उहाँ भला हुनुहुन्छ; किनकि उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ।
2 परमप्रभुद्वारा छुटकारा पाएकाहरूले त्यसै भनून्, जसलाई उहाँले शत्रुहरूको पञ्‍जाबाट छुटकारा दिनुभएको छ,
3 र उनीहरूलाई देश-देशबाट, पूर्व, पश्‍चिम, उत्तर र दक्षिणबाट भेला गर्नुभएको छ।
4 उनीहरू उजाड़स्थानमा मरुभूमिको बाटोमा भड़्किहिँड़े; उनीहरूले बस्‍नका निम्ति कुनै शहर भेट्टाएनन्।
5 भोका र प्यासा भएकाले उनीहरूभित्र उनीहरूको प्राण क्षीण भयो।
6 तब आफ्ना सङ्कष्‍टहरूमा उनीहरूले परमप्रभुलाई पुकारे, र उहाँले उनीहरूलाई उनीहरूका आपतविपतहरूबाट छुटाउनुभयो।
7 अनि उनीहरू बस्‍नका निम्ति कुनै शहरमा पुगून् भनी उहाँले उनीहरूलाई ठीक बाटोमा डोर्‍याउनुभयो।
8 हो, परमप्रभुको करुणा र आदमका सन्तानहरूप्रति गरिएका उहाँका अचम्मका कामहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
9 किनकि उहाँले तिर्सना गर्ने प्राणलाई तृप्‍त पार्नुहुन्छ र भोको प्राणलाई उत्तम पदार्थले सन्तुष्‍ट पार्नुहुन्छ।
10 जो कष्‍ट र साङ्‌लाले बाँधिएर अन्धकार र मृत्युको छायामा बस्छन्,
11 किनकि उनीहरूले परमेश्‍वरका वचनहरूको विरोधमा विद्रोह गरे र परमप्रधानको सल्‍लाहलाई तुच्छ ठाने;
12 यसकारण उहाँले परिश्रम गराएर उनीहरूका हृदय होच्याउनुभयो; उनीहरू लोटे, अनि सहायता गर्ने कोही भएन।
13 तब आफ्ना सङ्कष्‍टहरूमा उनीहरूले परमप्रभुलाई पुकारे, र उहाँले उनीहरूलाई उनीहरूका आपतविपतहरूबाट बचाउनुभयो।
14 उहाँले उनीहरूलाई अन्धकार र मृत्युको छायाबाट निकालेर ल्याउनुभयो र उनीहरूका बन्धनहरू टुक्रा-टुक्रा पार्नुभयो।
15 हो, परमप्रभुको करुणा र आदमका सन्तानहरूप्रति गरिएका उहाँका अचम्मका कामहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
16 किनकि उहाँले पित्तलका ढोकाहरू तोड़्नुभएको छ र फलामका आग्लाहरू काटेर टुक्रा-टुक्रा पार्नुभएको छ।
17 आफ्नो अपराधको बाटो र आफ्ना अधर्महरूको कारणले मूर्खहरूले कष्‍ट भोगे।
18 तिनीहरूको प्राण सबै प्रकारको खानेकुरादेखि घिनायो, र तिनीहरू मृत्युका ढोकाहरूको नजिक आइपुगे।
19 तब आफ्ना सङ्कष्‍टहरूमा तिनीहरू परमप्रभुलाई पुकारे, र उहाँले तिनीहरूलाई तिनीहरूका आपतविपतहरूबाट बचाउनुभयो।
20 उहाँले आफ्नो वचन पठाउनुभयो, तिनीहरूलाई निको पार्नुभयो र तिनीहरूलाई तिनीहरूका विनाशहरूबाट छुटाउनुभयो।
21 हो, परमप्रभुको करुणा र आदमका सन्तानहरूप्रति गरिएका उहाँका अचम्मका कामहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
22 अनि तिनीहरूले धन्यवाद-बलिहरू चढ़ाऊन्, र रमाहट गर्दै उहाँका कामहरूको बयान गरून्।
23 जसले जहाजहरूमा समुद्र-यात्रा गर्छन्, जसले महासागरमा व्यापार गर्छन्;
24 तिनीहरूले परमप्रभुका कामहरू र गहिरो सागरमा उहाँका अचम्मका कामहरू देख्छन्।
25 किनकि उहाँले आज्ञा गर्नुहुन्छ र आँधीबतास चलाउनुहुन्छ, जसले त्यसका छालहरू उठाउँछन्।
26 ती उठेर आकाशसम्म पुग्छन्, फेरि तल गहिराइहरूमा झर्छन्; सङ्कष्‍टले गर्दा तिनीहरूको प्राण पग्लन्छ।
27 तिनीहरू फनफन घुम्छन्, मातेको मान्छेझैं धरमरिन्छन्, र अकलगुम हुन्छन्
28 तब आफ्ना सङ्कष्‍टहरूमा तिनीहरूले परमप्रभुलाई पुकार्छन्, र उहाँले तिनीहरूलाई तिनीहरूका आपतविपतहरूबाट निकालेर ल्याउनुहुन्छ।
29 उहाँले आँधीलाई शान्त गराउनुहुन्छ, र त्यसका छालहरू साम्य हुन्छन्।
30 तब ती शान्त भएकाले तिनीहरू आनन्दित हुन्छन्; यसरी उहाँले तिनीहरूलाई तिनीहरूले चाहना गरेको बन्दरगाहमा ल्याइपुर्‍याउनुहुन्छ।
31 हो! परमप्रभुको करुणा र आदमका सन्तानहरूप्रति गरिएका उहाँका अचम्मका कामहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!
32 अनि तिनीहरूले मानिसहरूको सभामा उहाँलाई उच्‍च पारून्, र बूढ़ा प्रधानहरूको बैठकमा उहाँको स्तुति गरून्!
33 उहाँले नदीहरूलाई उजाड़स्थानमा र पानीका धाराहरूलाई सुक्खा भूमिमा,
34 र फलाइलो जमिनलाई नुनिलो मरुभूमिमा परिवर्तन गर्नुहुन्छ; योचाहिँ त्यहाँ बस्‍नेहरूको दुष्‍टताको कारणले हो।
35 उहाँले उजाड़स्थानलाई पानीको तलाउमा र सुक्खा भूमिलाई पानीका धाराहरूमा परिवर्तन गर्नुहुन्छ।
36 - 37 भोकाहरूले वासस्थानका निम्ति कुनै शहर तयार पारून् र खेतबारीहरूमा बीउ छरून् र दाखबारीहरू लगाऊन् र धेरै उब्जनी प्राप्‍त गरून् भनेर उहाँले तिनीहरूलाई त्यहाँ बसाल्नुहुन्छ।
38 अनि उहाँले तिनीहरूलाई आशिष्‌ पनि दिनुहुन्छ; यसकारण तिनीहरूको वृद्धि ज्यादै हुन्छ; अनि उहाँले तिनीहरूका गाईबस्तुहरूलाई घट्न दिनुहुन्‍न।
39 फेरि तिनीहरू थिचोमिचो, कष्‍ट र शोकद्वारा घट्दै जान्छन् र दबाइन्छन्।
40 उहाँले भारदारहरूमाथि अपमान खन्याउनुहुन्छ, र तिनीहरूलाई बाटै नभएको उजाड़स्थानमा भड़्किहिँड़्‍ने तुल्याउनुहुन्छ।
41 तरै पनि उहाँले गरिबलाई कष्‍टबाट उकासेर उच्‍च स्थानमा राख्‍नुहुन्छ र उसका परिवारहरूलाई भेड़ाको बगालझैं तुल्याउनुहुन्छ।
42 धर्मी जनहरूले यो देख्‍नेछन्, र आनन्दित हुनेछन्; अनि सबै अधर्मले चाहिँ आफ्नो मुख बन्द गर्नेछ।
43 जो बुद्धिमान् छन् र यी कुराहरूमा ध्यान दिन्छन्, उनीहरूले नै परमप्रभुका करुणाहरू बुझ्नेछन्।