(भजन ५७:७-११; ६०:७-१२)
एउटा गीत; दाऊदको भजन
108
हे परमेश्‍वर, मेरो हृदय स्थिर छ; म गाउनेछु, अँ, आफ्‍नो आत्माले नै स्तुति गाउनेछु।
2 हे सितार र वीणाहो, जाग! म आफै पनि एकाबिहानै जाग्‍नेछु।
3 हे परमप्रभु, जाति-जातिका मानिसहरूको बीचमा म तपाईंको प्रशंसा गर्नेछु; राज्य-राज्यको बीचमा म तपाईंको स्तुति गाउनेछु।
4 किनकि तपाईंको करुणा आकाशभन्दा महान् छ; अनि तपाईंको सत्यता बादलहरूसम्म पुग्छ।
5 हे परमेश्‍वर, तपाईं आकाशभन्दा उच्‍च हुनुहोस्; र तपाईंको महिमा सारा पृथ्वीमाथि होस्;
6 र तपाईंका प्रिय जनहरूले छुटकारा पाऊन्; तपाईंको दाहिने हातले बचाउनुहोस् र मलाई जवाफ दिनुहोस्!
7 परमेश्‍वरले आफ्नो पवित्रतामा भन्‍नुभएको छ: ‘म रमाउनेछु, म शेकेम बाँड़्नेछु र सुक्‍कोतको बेंसी नाप्‍नेछु।
8 गिलाद मेरो हो, मनस्से मेरो हो, एप्रैम पनि मेरो शिरको बल हो; यहूदा मेरो व्यवस्थापक हो;
9 मोआब मेरो पाउ धुने बाटा हो; एदोममाथि म आफ्नो जुत्ता फ्याँक्नेछु; पलिस्ती देशमाथि म विजय गर्नेछु।’
10 कसले मलाई पर्खालले घेरिएको शहरभित्र पुर्‍याउला? कसले मलाई एदोमसम्म डोर्‍याउला?
11 हे परमेश्‍वर, के तपाईंले होइन र, जसले हामीलाई त्याग्‍नुभएको छ? अनि हे परमेश्‍वर, के तपाईं हाम्रा सेनाहरूको साथमा जानुहुन्‍न?
12 सङ्कष्‍टबाट उम्कन हामीलाई सहायता दिनुहोस्; किनकि मानिसको सहायता व्यर्थ हो।
13 परमेश्‍वरद्वारा हामी वीरता देखाउनेछौं; किनकि हाम्रा शत्रुहरूलाई कुल्चनुहुने उहाँ नै हुनुहुन्छ।