प्रधान वादकका लागि; दाऊदको भजन
109
हे मेरा प्रशंसाका परमेश्‍वर, चुप नरहनुहोस्;
2 किनकि दुष्‍टहरूको मुख र छलीहरूको मुख मेरो विरोधमा खोलिएका छन्; तिनीहरूले झूट बोल्ने जिब्रोसित मेरो विरोधमा बोलेका छन्।
3 अनि तिनीहरूले मलाई घृणाका वचनहरूले घेरा हाले, र विनाकारण नै मसँग जुधे।
4 मेरो प्रेमको सट्टामा तिनीहरू मेरा शत्रु भएका छन्; तर मचाहिँ प्रार्थनामा लागिरहन्छु।
5 अनि तिनीहरूले मलाई भलाइको सट्टामा खराबी र मेरो प्रेमको सट्टामा घृणा गरेका छन्।
6 त्यसमाथि कुनै दुष्‍ट मानिसलाई नियुक्त गर्नुहोस्; र शैतान त्यसको दाहिने हातपट्टि खड़ा होस्!
7 त्यसको न्याय हुँदा त्यो दोषी ठहरिओस्, र त्यसको प्रार्थनाचाहिँ पाप बनोस्!
8 त्यसका दिन थोरै होऊन्; त्यसको पद अर्काले लेओस्!
9 त्यसका छोराछोरीहरू टुहुरा होऊन् र त्यसकी पत्‍नीचाहिँ विधवा होस्!
10 त्यसका छोराछोरीहरू निरन्‍तर डुलुवा होऊन् र भीख मागून्; अनि तिनीहरूले आफ्ना उजाड़ भएका ठाउँहरूबाट निस्केर खानेकुरा खोज्‍नुपरोस्!
11 त्यससँग भएका सबै थोक धुताहाले जफत गरोस्; अनि परदेशीहरूले त्यसको परिश्रमको फल लुटून्!
12 त्यसलाई कृपा देखाउने कोही नहोस्, न ता त्यसका टुहुरा छोराछोरीहरूलाई दया देखाउने कोही होस्!
13 त्यसका सन्तान-दरसन्तान नष्‍ट होऊन्; आउँदो पुस्तामा तिनीहरूको नाम मेटिओस्!
14 त्यसका पितापुर्खाहरूको अधर्म परमप्रभुको सामु सम्झना गरियोस्; त्यसकी आमाको पाप नमेटिओस्!
15 निरन्‍तर ती परमप्रभुको सामु रहून्, र उहाँले तिनीहरूको सम्झना पृथ्वीबाट मेटाइदिऊन्!
16 किनभने त्यसले कृपा देखाउन सम्झना गरेन, तर दुःखी र खाँचोमा परेकोलाई, साथै चूर्ण हृदय भएकोलाई मार्नका निम्ति सतायो।
17 जसरी त्यसले श्राप दिन मन पराउँथ्यो, त्यसरी नै त्यो त्यसमाथि आइपरोस्; जसरी आशीर्वाद दिनुमा त्यो प्रसन्‍न हुँदैनथियो, त्यसरी नै त्यो त्यसबाट टाढ़ो रहोस्!
18 जसरी त्यसले श्रापलाई आफ्नो वस्त्र पहिरेझैं पहिर्‍यो, त्यसरी नै त्यो पानीझैं त्यसको पेटमा, र तेलझैं त्यसका हड्डीहरूमा आओस्!
19 त्यसका लागि त्यो वस्त्रजस्तो होस्, जसले त्यसलाई ढाकिराख्छ, र पेटीजस्तो होस्‌, जसले त्यो निरन्‍तर बाँधिएको हुन्छ।
20 मेरा शत्रुहरूलाई र मेरो प्राणको विरोधमा खराबी बोल्नेहरूलाई परमप्रभुबाट यही प्रतिफल मिलोस्!
21 तर हे प्रभु यहोवा, तपाईंको नामको खातिर मेरा निम्ति काम गर्नुहोस्; तपाईंको उत्तम करुणाको कारणले गर्दा मलाई छुटकारा दिनुहोस्!
22 किनकि म दुःखी र खाँचोमा परेको छु, अनि मभित्र मेरो हृदय घायल भएको छ।
23 ढल्किँदै गएको छायाझैं म लुप्‍त भएको छु; सलहजस्‍तो म यताउता हुत्त्याइन्छु।
24 उपवास बसेकोले मेरा घुँड़ाहरू कमजोर भएका छन्; बोसो नभएकोले मेरो शरीर दुब्लो भएको छ।
25 अनि तिनीहरूका निम्ति म निन्दाको पात्र बनें; तिनीहरूले मलाई हेरेर आफ्ना टाउका हल्‍लाए।
26 हे परमप्रभु मेरा परमेश्‍वर, मलाई सहायता गर्नुहोस्; तपाईंको करुणाअनुसार मलाई बचाउनुहोस्;
27 र तिनीहरूले यो तपाईंको हात हो, र तपाईं परमप्रभुले यो गर्नुभएको हो भनी जानून्!
28 तिनीहरूले सरापून्, तर तपाईंले चाहिँ आशिष्‌ दिनुहोस्; तिनीहरू उठ्दा शर्ममा परून्; तर तपाईंको दास आनन्दित होस्!
29 मेरा विरोधीहरूले शर्मको वस्त्र पहिरेका होऊन्, र तिनीहरूले आफूलाई खास्टोले झैं आफ्नै व्याकुलताले ढाकून्!
30 म आफ्नो मुखले परमप्रभुको खूबै प्रशंसा गर्नेछु; अँ, धेरै मानिसहरूको बीचमा म उहाँको स्तुति गर्नेछु।
31 किनकि दरिद्रको प्राणलाई दण्ड दिनेहरूबाट बचाउनका निम्ति उहाँ उसको दाहिने हातपट्टि खड़ा हुनुहुनेछ।