(१ इतिहास १६:८-२२)
105
परमप्रभुलाई धन्यवाद चढ़ाओ, उहाँको नाम पुकार; जाति-जातिका मानिसहरूको बीचमा उहाँका कामहरू बताइदेओ!
2 उहाँका निम्ति गाओ, उहाँका निम्ति भजन गाओ; उहाँका सबै अचम्मका कामहरूको वर्णन गर!
3 उहाँको पवित्र नाममा गर्व गर; परमप्रभुको खोजी गर्नेहरूको हृदय आनन्दित होस्!
4 परमप्रभु र उहाँको सामर्थ्यको खोजी गर; उहाँको चेहराको नित्य खोजी गर!
5 उहाँले गर्नुभएका अचम्मका कामहरू – उहाँका आश्‍चर्यकर्महरू र उहाँका मुखका फैसलाहरूको सम्झना गर!
6 हे उहाँका दास अब्राहामका वंश, हे उहाँका चुनिएकाहरू, याकूबका सन्तानहरूहो,
7 उहाँ नै परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्छ; सारा पृथ्वीमा उहाँकै न्यायहरू छन्।
8 उहाँले आफ्नो वाचा सधैंभरि सम्झना गर्नुभएको छ, अर्थात् त्यो वचन, जो उहाँले हजार पुस्ताका लागि ठहराउनुभएको छ,
9 जुन वाचाचाहिँ उहाँले अब्राहामसँग बाँध्‍नुभयो, र उहाँको शपथ, जुन शपथ उहाँले इसहाकसँग खानुभयो;
10 अनि उहाँले त्यसलाई याकूबका निम्ति विधि, र यसो भन्दै इस्राएलका निम्ति सदाको वाचा ठहराउनुभयो:
11 ‘म तिमीलाई कनान देश दिनेछु; त्‍यो तिमीहरूको उत्तराधिकारको भाग हो।’
12 त्यस बेला उनीहरूको संख्या कम्ती थियो, साह्रै कम्ती थियो, र उनीहरू त्यसमा परदेशी थिए।
13 त्यस बेला उनीहरू एउटा जातिबाट अर्को जातिकहाँ, एउटा राज्यबाट अर्को जातिका मानिसकहाँ घुमिहिँड़्थे;
14 उहाँले कुनै मानिसलाई पनि उनीहरूमाथि थिचोमिचो गर्न दिनुभएन; अँ, उनीहरूको खातिर उहाँले राजाहरूलाई यसो भन्दै धम्काउनुभयो:
15 ‘मेरा अभिषिक्त जनहरूलाई नछोओ, अनि मेरा भविष्यवक्ताहरूलाई कुनै हानि नगर!’
16 अनि उहाँले त्यस देशमा अनिकाल बोलाउनुभयो, उहाँले रोटीको सम्पूर्ण आधार तोड़िदिनुभयो।
17 उहाँले उनीहरूको अघि एकजना मानिसलाई पठाउनुभयो अर्थात् यूसुफलाई, जो कमाराको रूपमा बेचिएका थिए।
18 तिनीहरूले साङ्‌लाले बाँधेर उनका पाउहरूमा चोट पुर्‍याए, उनको प्राण फलामको बन्धनभित्र पर्‍यो,
19 जबसम्म उहाँको वचन पूरा भएन, तबसम्म; परमप्रभुको वचनले उनलाई खार्‍यो।
20 राजाले पठाईकन उनको बन्धन खोले; जाति-जातिका शासकले उनलाई मुक्त गरे।
21 तिनले उनलाई आफ्नो घरका मालिक तुल्याए र आफ्नो सारा सम्पत्तिमाथि शासक बनाए,
22 उनले तिनका शासकहरूलाई आफ्नो इच्छाअनुसार कैद गरून् र तिनका बूढ़ा प्रधानहरूलाई बुद्धि सिकाऊन् भनेर।
23 इस्राएल पनि मिस्र देशमा आए; अनि याकूबले हामको देशमा बसोबास गरे।
24 अनि उहाँले आफ्नो प्रजालाई खूबै बढ़ाउनुभयो र उनीहरूलाई उनीहरूका शत्रुहरूभन्दा बलियो तुल्याउनुभयो।
25 अनि उहाँका जनहरूलाई घृणा गर्न र उहाँका दासहरूसँग छलपूर्ण व्यवहार गर्न भनी उहाँले मिस्रीहरूको हृदय उल्टाउनुभयो।
26 उहाँले आफ्ना दास मोशालाई पठाउनुभयो, र हारूनलाई पनि, जसलाई उहाँले चुन्‍नुभएको थियो।
27 उनीहरूले तिनीहरूको बीचमा उहाँका चिन्हहरू र हामको देशमा अचम्मका कामहरू देखाए।
28 उहाँले अन्धकार पठाउनुभयो र त्यो देश अँध्यारो पार्नुभयो, र तिनीहरूले उहाँको वचनको विरोधमा विद्रोह गरेनन्।
29 उहाँले तिनीहरूको पानी रगतमा परिवर्तन गर्नुभयो, र तिनीहरूका माछाहरू मार्नुभयो।
30 तिनीहरूको देश भ्यागुताहरूले प्रशस्त भरियो, तिनीहरूका राजाहरूका सुत्‍ने कोठाहरूमा पनि।
31 उहाँ बोल्नुभयो र डाँसका हूलहरू र जुम्राहरू तिनीहरूको सारा सिमानाभित्र आए।
32 उहाँले तिनीहरूलाई वर्षाको सट्टामा असिना र तिनीहरूको देशमा जल्दो आगो पठाउनुभयो।
33 उहाँले तिनीहरूका दाखका बोटहरू र नेभाराका रूखहरू पनि प्रहार गर्नुभयो, र तिनीहरूको सिमानाभित्रका रूखहरू भाँच्‍नुभयो।
34 उहाँ बोल्नुभयो, र सलहहरू र असंख्य बच्‍चा-सलहहरू आए,
35 र यिनीहरूले तिनीहरूको देशका सबै घाँसपात खाइदिए, र तिनीहरूको जमिनका सबै फलहरू सखाप पारिदिए।
36 अनि उहाँले तिनीहरूको देशका सबै जेठालाई अर्थात् तिनीहरूको सम्पूर्ण पौरुषको सबै पहिलोफललाई नाश गर्नुभयो।
37 अनि उहाँले इस्राएललाई चाँदी र सुनको साथमा निकालेर ल्याउनुभयो; अनि उनीहरूका कुलहरूमा एकजना पनि कमजोर व्यक्ति थिएन।
38 उनीहरू निस्केर जाँदा मिस्र देश आनन्दित भयो; किनभने तिनीहरूलाई उनीहरूको डरले छोपेको थियो।
39 उहाँले छायाका लागि बादल फैलाउनुभयो, र रातको समयमा ज्योति दिन आगो प्रकट गर्नुभयो।
40 उनीहरूले मागे, र उहाँले बट्टाई चराहरू ल्याउनुभयो र स्वर्गको रोटीले उनीहरूलाई तृप्‍त पार्नुभयो।
41 उहाँले चट्टान फोर्नुभयो, र पानीहरू फुटेर निस्के; ती सुक्खा ठाउँहरूमा नदीझैं बगे।
42 किनभने उहाँले आफ्नो पवित्र प्रतिज्ञा र आफ्नो दास अब्राहामलाई सम्झनुभयो।
43 अनि उहाँले आफ्नो प्रजालाई रमाहट र आफ्ना चुनिएकाहरूलाई हर्षनादको साथमा निकालेर ल्याउनुभयो;
44 र उनीहरूलाई अन्यजातिहरूका देशहरू दिनुभयो; र उनीहरूले जाति-जातिका मानिसहरूको परिश्रमको फललाई आफ्नो अधिकारमा लिए;
45 यसैले कि उनीहरूले उहाँका विधिहरू पालन गरून् र उहाँका व्यवस्थाहरू मानून्। तिमीहरूले याहको स्तुति गर!