104
हे मेरो प्राण, परमप्रभुलाई धन्यको भन्! हे परमप्रभु मेरा परमेश्वर, तपाईं अति महान् हुनुहुन्छ; तपाईंले आदर र प्रतापको वस्त्र पहिरनुभएको छ;2 तपाईंले आफूलाई पोशाकझैं गरी ज्योतिले ढाक्नुहुन्छ; तपाईंले आकाशलाई पर्दाझैं टाँग्नुहुन्छ;
3 तपाईंले आफ्ना माथिल्ला कोठाहरूका निदालहरू पानीमा राख्नुहुन्छ; तपाईंले बादलहरूलाई आफ्नो रथ तुल्याउनुहुन्छ; तपाईं हावाका पखेटाहरूमा सवारी हुनुहुन्छक।
4 तपाईंले आफ्ना दूतहरूलाई आत्माहरू र आफ्ना सेवकहरूलाई आगोको ज्वाला बनाउनुहुन्छ।
5 पृथ्वी सदा-सर्वदा नडगमगाओस् भनेर तपाईंले त्यसका जगहरू बसाल्नुभयो।
6 तपाईंले यसलाई वस्त्रले झैं गहिरो सागरले ढाक्नुभएको छ; पहाड़हरूमाथि-माथि पानीहरू खड़ा भएका छन्।
7 तपाईंको हप्कीले ती भाग्छन्, तपाईंको गर्जनको आवाजले ती हतारिँदै भाग्छन्।
8 पहाड़ैपहाड़ भएर ती माथि जान्छन्; बेंसी-बेंसी भएर ती तल त्यस ठाउँमा ओर्लन्छन्, जुन ठाउँ तपाईंले तिनीहरूका निम्ति तयार पार्नुभएको छ।
9 तिनीहरूले त्यसलाई नाघेर जान नसकून् भनेर र पृथ्वीलाई ढाक्नका निम्ति फर्कन नपाऊन् भनेर तपाईंले सिमाना बाँध्नुभएको छ।
10 उहाँले बेंसीहरूमा धाराहरू पठाउनुहुन्छ; ती पहाड़हरूको बीचमा बहन्छन्।
11 तिनले मैदानको हरेक पशुलाई पिउने पानी दिन्छन्; जङ्गली गधाहरूले आफ्नो तिर्खा मेट्छन्;
12 तिनीहरूको छेउ-छेउमा आकाशका चराचरुङ्गीहरू वास बस्छन्; हाँगाहरूको बीचमा तिनीहरू गीत गाउँछन्।
13 उहाँले आफ्ना माथिल्ला कोठाहरूबाट पहाड़हरू भिजाउनुहुन्छ; तपाईंका कामहरूको फलद्वारा पृथ्वी तृप्त हुन्छ।
14 उहाँले गाईबस्तुका निम्ति घाँस उमार्नुहुन्छ, र मानिसको कामका निम्ति सागपात उमार्नुहुन्छ; फलस्वरूप मानिसले पृथ्वीबाट खानेकुरा उब्जाओस्;
15 अनि दाखमद्य, जसले मानिसको हृदय आनन्दित पार्छ; तेल, जसले उसको चेहरा चम्काइदिन्छ; अनि रोटी, जसले मानिसको हृदय बलियो पार्छ।
16 परमप्रभुका रूखहरू रसले पूर्ण हुन्छन्, अर्थात् लेबनोनका देवदारहरू, जसलाई उहाँले लगाउनुभयो;
17 जसमा चराहरूले गुँड़ लगाउँछन्; सारसका निम्ति सल्लाका रूखहरू त्यसको घर हुन्;
18 अग्ला-अग्ला पहाड़हरूचाहिँ जङ्गली बाख्राहरूको शरणस्थान हुन्; अनि चट्टानहरूचाहिँ शापानहरूकाख निम्ति शरणस्थान हुन्।
19 उहाँले ऋतुहरूका निम्ति चन्द्रमा नियुक्त गर्नुभयो; सूर्यले आफ्नो अस्ताचल जान्दछ।
20 तपाईंले अँध्यारो पार्नुहुन्छ, र रात पर्छ; जुन घड़ी सबै वनपशुहरू घुमफिर गर्दछन्।
21 जवान सिंहहरू शिकारका निम्ति गर्जन्छन् र परमेश्वरबाट आफ्नो आहार खोज्छन्।
22 सूर्य उदाउँछ; तब ती भेला हुन्छन् र आफ्ना ओड़ारहरूमा लेट्छन्।
23 मानिस आफ्नो कामका लागि र साँझसम्म आफ्नो परिश्रम गर्न निस्कन्छ।
24 हे परमप्रभु, तपाईंका कामहरू कति धेरै छन्! तपाईंले यी सबै बुद्धिले बनाउनुभएको छ; पृथ्वी तपाईंको सम्पत्तिले परिपूर्ण छ।
25 यो समुद्र विशाल र अति चौड़ा छ, जहाँ अनगन्ती चल्ने जन्तुहरू – ठूला र साना जीवित प्राणीहरू छन्।
26 त्यहाँ जहाजहरू चल्दछन्; त्यहाँ लेव्यातानग पनि छ, जसलाई तपाईंले त्यहाँ खेल्न भनी बनाउनुभयो।
27 ठीक समयमा तपाईंले तिनीहरूको आहार दिनुहुन्छ भनेर तिनीहरू सबैले तपाईंकै बाटो हेर्छन्।
28 तपाईंले तिनीहरूलाई दिनुहुन्छ, तिनीहरूले बटुल्छन्; तपाईं आफ्नो मुट्ठी खोल्नुहुन्छ, तिनीहरू उत्तम पदार्थले तृप्त हुन्छन्।
29 तपाईं आफ्नो चेहरा लुकाउनुहुन्छ, तिनीहरू विचलित हुन्छन्; तपाईंले तिनीहरूको सास लिनुहुन्छ, तिनीहरू मर्छन् र आफ्नो धूलोमा फर्कन्छन्।
30 तपाईंले आफ्नो आत्मा पठाउनुहुन्छ, र तिनीहरू सृजिन्छन्; अनि तपाईंले पृथ्वीको चेहरा नयाँ तुल्याउनुहुन्छ।
31 परमप्रभुको महिमा सदा-सर्वदा भइरहनेछ; परमप्रभु आफ्ना कामहरूमा आनन्दित हुनुहुनेछ।
32 उहाँ पृथ्वीलाई हेर्नुहुन्छ, र यो काम्छ; उहाँले पहाड़हरू छुनुहुन्छ, र तिनीहरू धूवाँ निकाल्छन्।
33 मेरो जीवनभरि म परमप्रभुका निम्ति गाउनेछु, बाँचुन्जेल म मेरा परमेश्वरको स्तुति गाउनेछु।
34 उहाँमाथिको मेरो ध्यान मीठो हुनेछ; परमप्रभुमा म आनन्दित हुनेछु।
35 पापीहरू पृथ्वीबाट मेटिऊन्, र दुष्टहरू फेरि नरहून्! हे मेरो प्राण, परमप्रभुलाई धन्यको भन्! तिमीहरूले याहको स्तुति गर!घ