दाऊदको भजन
103
हे मेरो प्राण, परमप्रभुलाई धन्यको भन्; अनि मभित्र जेजति छ, त्यसले उहाँको पवित्र नामलाई धन्यको भनोस्!2 हे मेरो प्राण, परमप्रभुलाई धन्यको भन्, र उहाँका सबै उपकारहरू नभुल्;
3 उहाँले तिम्रा सबै अधर्महरू क्षमा गर्नुहुन्छ; उहाँले तिम्रा सबै रोगहरू निको पार्नुहुन्छ;
4 उहाँले तिम्रो प्राणलाई विनाशबाट छुटाउनुहुन्छक; उहाँले तिमीलाई करुणा र कोमल कृपाको मुकुट पहिराउनुहुन्छ;
5 उहाँले तिम्रो मुख असल कुराहरूले तृप्त पार्नुहुन्छ; र तिम्रो जवानी चीलको झैं नयाँ हुँदै जान्छ।
6 परमप्रभुले थिचोमिचोमा परेकाहरू सबैका लागि धार्मिकता र न्याय लागू गर्नुहुन्छ।
7 उहाँले मोशालाई आफ्ना मार्गहरू र इस्राएलीहरूलाईख आफ्ना कामहरू प्रकट गर्नुभयो।
8 परमप्रभु दयालु र अनुग्रही हुनुहुन्छ, रिसाउनमा ढिलो र अति करुणामय हुनुहुन्छ।
9 उहाँ सधैं हप्काइरहनुहुन्न, न ता सधैंभरि आफ्नो रिस नै राखिरहनुहुन्छ।
10 उहाँले हामीसँग हाम्रा पापहरूअनुसार व्यवहार गर्नुभएको छैन, न ता हाम्रा अधर्महरूअनुसार हामीलाई बदला दिनुभएको छ।
11 किनकि पृथ्वीमाथि आकाश जति उच्च छ, उहाँको डर मान्नेहरूप्रति उहाँको करुणा पनि त्यत्ति नै महान् छ।
12 पश्चिमदेखि पूर्व जति टाढ़ो छ, त्यति नै उहाँले हाम्रा अपराधहरू हामीदेखि टाढ़ा हटाउनुभएको छ।
13 जसरी बुबाले आफ्ना छोराछोरीहरूलाई टिठाउँछन्, त्यसरी नै परमप्रभुले आफ्नो डर मान्नेहरूलाई टिठाउनुहुन्छ।
14 किनकि उहाँले हाम्रो बनावट जान्नुहुन्छ; हामी धूला हौं भन्ने कुरा उहाँले सम्झनुहुन्छ।
15 मानिसको आयु त घाँसजस्तै छ, मैदानको फूलजस्तो त्यो फुल्दछ।
16 किनकि त्यसमाथि हावा चल्नासाथ त्यो रहँदैन; अनि त्यसले आफ्नो ठाउँ फेरि चिन्दैन।
17 तर परमप्रभुको करुणा उहाँको डर मान्नेहरूमाथि युगानुयुगसम्म रहिरहनेछ र उहाँको धार्मिकता नातिनातिनासम्म रहिरहनेछ;
18 अर्थात् उनीहरूमाथि, जसले उहाँको वाचा पालन गर्छन्, र उनीहरूमाथि, जसले उहाँका आज्ञाहरू, तिनलाई पालन गर्नाका निम्ति सम्झना गर्छन्।
19 परमप्रभुले स्वर्गमा आफ्नो सिंहासन स्थापित गर्नुभएको छ; अनि उहाँको राज्यले सबैमाथि शासन गर्दछ।
20 हे परमप्रभुका दूतहरूहो, तिमीहरू जो बलमा सामर्थी छौ, उहाँका आज्ञाहरू पालन गर्दछौ र उहाँको वचनको आवाज ध्यान दिई सुन्छौ, उहाँलाई धन्यको भन!
21 हे परमप्रभुका सारा सेनाहरूहो, हे उहाँका सेवकहरूहो, तिमीहरू, जसले उहाँको इच्छा पूरा गर्दछौ, उहाँलाई धन्यको भन।
22 हे परमप्रभुका सारा कामहरूहो, उहाँको राज्यका सबै ठाउँहरूमा उहाँलाई धन्यको भन; हे मेरो प्राण, परमप्रभुलाई धन्यको भन्!