दु:खमा परेको मानिसको प्रार्थना; दु:खले दबिँदा परमप्रभुको सामु उसले आफ्नो दुःख पोख्छ।
102
हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्, र मेरो पुकार तपाईंकहाँ आइपुगोस्!2 म सङ्कष्टमा परेको दिनमा आफ्नो चेहरा मदेखि नलुकाउनुहोस्; आफ्नो कान मतिर लगाउनुहोस्; जुन दिन म पुकार्छु, त्यही दिन मलाई तुरुन्तै जवाफ दिनुहोस्!
3 किनकि मेरा दिनहरू धूवाँझैं मेटिएका छन्, र मेरा हड्डीहरू चुल्होझैं जलेका छन्।
4 मेरो हृदय हिर्काइएको छ र घाँसझैं ओइलिएको छ, यहाँसम्म कि म आफ्नो रोटी खान बिर्सन्छु।
5 मेरो ऐया-आत्थाको आवाजले गर्दा मेरा हड्डीहरू मेरो छालामा टाँसिन्छन्।
6 म उजाड़स्थानको धनेशजस्तो भएको छु; म मरुभूमिको उल्लूजस्तो भएको छु।
7 म जागै रहन्छु, र छानामाथि एकलो परेको भङ्गेराझैं भएको छु।
8 मेरा शत्रुहरूले दिनभरि मेरो निन्दा गर्छन्; मलाई खिसी गरेर हाँस्नेहरूलेक मेरो विरोधमा शपथ खाएका छन्।
9 किनकि रोटीझैं मैले खरानी खाएको छु र मेरो पिउने कुरा आँसुसँग मिसाएको छु;
10 यो तपाईंको रिस र तपाईंको क्रोधको कारणले भएको हो; किनभने तपाईंले मलाई माथि उठाउनुभयो र मलाई तल पछार्नुभयो।
11 मेरा दिनहरू ढल्किँदै गएको छायाजस्ता छन्, र म घाँसजस्तो ओइलिएको छु।
12 तर हे परमप्रभु, तपाईं सदा-सर्वदा रहिरहनुहुन्छ, र तपाईंको सम्झना पुस्ता-पुस्तासम्म रहिरहन्छ।
13 तपाईं उठ्नुहुनेछ र सियोनमाथि दया देखाउनुहुनेछ; किनकि यसमाथि कृपा राख्ने समय, अँ, ठहराइएको समय आइपुगेको छ।
14 किनकि तपाईंका दासहरू यसका ढुङ्गाहरूसित प्रसन्न हुन्छन्, र यसको धूलामाथि कृपा राख्छन्।
15 यसैले अन्यजातिका मानिसहरूले परमप्रभुको नामको डर मान्नेछन्, साथै पृथ्वीका सबै राजाहरूले तपाईंको महिमाको डर मान्नेछन्।
16 परमप्रभुले जब सियोनलाई बनाउनुहुनेछ, तब उहाँ आफ्नो महिमामा देखा पर्नुहुनेछ।
17 उहाँले दीनहीनको प्रार्थनाप्रति ध्यान लगाउनुहुनेछ र उनीहरूको प्रार्थना तुच्छ ठान्नुहुनेछैन।
18 यो कुरा आउँदो पुस्ताका लागि लेखिनेछ; अनि ती मानिसहरूले, जो सृजना गरिनेछन्, याहको प्रशंसा गर्नेछन्।
19 किनभने उहाँले आफ्नो पवित्रस्थानको उँच्चाइबाट तल हेर्नुभएको छ; परमप्रभुले स्वर्गबाट पृथ्वीलाई हेर्नुभएको छ।
20 कैदीको ऐया-आत्था सुन्नका निम्ति; मृत्युका निम्ति तोकिएकाहरूलाईख छुटाउनका निम्ति;
21 सियोनमा परमप्रभुको नामको घोषणा गर्न र यरूशलेममा उहाँको प्रशंसा गर्नका निम्ति;
22 त्यस घड़ी, जब जाति-जाति र राज्य-राज्यका मानिसहरू परमप्रभुको सेवा गर्न भेला हुन्छन्।
23 बाटोमा उहाँले मेरो बल घटाउनुभयो; उहाँले मेरा दिनहरू छोटो पार्नुभयो।
24 मैले भनें: “हे मेरा परमेश्वर, मेरो आधा आयुमा नै मलाई नलैजानुहोस्; तपाईंका वर्षहरू त पुस्ता-पुस्तासम्म रहिरहन्छन्।
25 प्राचीनकालमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो; अनि आकाशहरू तपाईंका हातका काम हुन्।
26 ती नष्ट हुनेछन्, तर तपाईं रहिरहनुहुनेछ; अँ, ती सबै नै लुगाझैं पुराना हुनेछन्; तपाईंले तिनलाई वस्त्रझैं बदली गर्नुहुनेछ, र ती बदली हुनेछन्।
27 तर तपाईं एकनास रहनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त हुने नै छैन।
28 तपाईंका दासहरूका सन्तान रहिरहनेछन्, र उनीहरूको वंश तपाईंको सामु स्थापित हुनेछ।”