दाऊदको भजन
101
म करुणा र न्यायको विषयमा गाउनेछु; हे परमप्रभु, म तपाईंकै प्रशंसा गाउनेछु।2 सिद्ध मार्गमा म बुद्धिमानीसाथ हिँड़्नेछु। तपाईं मकहाँ कहिले आउनुहुनेछ? म आफ्नो घरभित्र हृदयको इमानदारीसाथ हिँड़्नेछु।
3 म आफ्ना आँखाहरूको सामु कुनै अधम कुरा राख्नेछैनँ; अर्कोतिर लाग्नेहरूको काम म घृणा गर्छु; त्यो मसित टाँसिनेछैन।
4 टेढ़ो हृदय मदेखि टाढ़ा रहनेछ; खराबी म जान्नेछैनँ।
5 जसले गुप्तमा आफ्नो छिमेकीको बदनामी गर्छ, त्यसलाई म नाश गर्नेछु; घमण्डले चढ़ेको आँखा र घमण्डी हृदय भएकोलाई म सहनेछैनँ।
6 देशका विश्वासयोग्य मानिसहरूले मसँग वास गर्न पाऊन् भनेर मेरा आँखाहरू उनीहरूमाथि लागिरहनेछन्; जो सिद्ध मार्गमा हिँड़्छ, उसैले मेरो सेवा गर्नेछ।
7 छल गर्नेले मेरो घरभित्र बस्न पाउनेछैन; झूट बोल्ने मेरा आँखाहरूको सामु टिक्नेछैन।
8 परमप्रभुको शहरबाट दुष्ट काम गर्नेहरू सबैलाई नष्ट पारूँ भनेर म हरेक बिहान देशका सबै दुष्टहरूलाई नाश गर्नेछु।