परमप्रभु दाऊदसित अटल वाचा बाँध्‍नुहुन्छ
17
अनि यस्तो भयो: जब दाऊद आफ्नो भवनमा बसे, तब दाऊदले भविष्यवक्ता नातानलाई भने: “हेर्नुहोस्, मचाहिँ देवदारको भवनमा बस्दैछु, तर परमप्रभुको वाचाको सन्दुकचाहिँ पर्दाहरूमुनि छ।” 2 तब नातानले दाऊदलाई भने: “तपाईंको हृदयमा जे कुरा छन्, ती सबै गर्नुहोस्; किनकि परमेश्‍वर तपाईंको साथमा हुनुहुन्छ।”
3 अनि त्यस रात यस्तो भयो: परमेश्‍वरको यसो भन्‍ने वचन नातानकहाँ आयो: 4 “जाऊ, र मेरो दास दाऊदलाई भन: परमप्रभु यसो भन्‍नुहुन्छ, तिमीले मेरा निम्ति बस्‍ने घर बनाउनेछैनौ; 5 किनकि इस्राएललाई माथि ल्याएको दिनदेखि आजको दिनसम्म म कुनै घरमा बसेको छैनँ, तर म एउटा पालदेखि अर्को पालमा, र एउटा निवासस्थानदेखि अर्कोमा सर्दै आएको हुँ। 6 जहाँ-जहाँ म सारा इस्राएलसित घुमें, ती सबै ठाउँमा के मैले इस्राएलको कुनै न्यायकर्तालाई, जसलाई मैले मेरो प्रजालाई गोठाला गर्ने आज्ञा गरें, ‘किन तिमीहरूले मेरा निम्ति देवदारको भवन बनाएनौ’ भनी मैले एकै शब्द भनें त? 7 यसकारण अब तिमीले मेरो दास दाऊदलाई भनिदेऊ: सेनाहरूका परमप्रभु यसो भन्‍नुहुन्छ, मेरो प्रजा इस्राएलमाथि तिमी शासक हुनुपर्छ भनेर मैले तिमीलाई भेड़ाको गोठबाट, अँ, भेड़ाबाख्राहरूको पछि-पछि लाग्‍नबाट निकालेर लिएँ, 8 अनि तिमी जहाँ-जहाँ गयौ, ती सबै ठाउँमा म तिम्रो साथमा रहें; अनि मैले तिम्रो सामुबाट तिम्रा सबै शत्रुहरूलाई नाश गरिदिएको छु, र यस पृथ्वीका ठूला-ठूला मानिसहरूको नामजतिकै तिम्रो नाम महान् तुल्याएको छु। 9 यसबाहेक म मेरो प्रजा इस्राएलका निम्ति एउटा ठाउँ ठहऱ्याउनेछु र तिनीहरूलाई रोप्‍नेछु; अनि तिनीहरू आफ्नो ठाउँमा बस्‍नेछन्, र फेरि कहिल्यै हटाइनेछैनन्; न ता दुष्‍टताका सन्‍तानले तिनीहरूलाई शुरुमा भएझैं फेरि कहिल्यै कष्‍ट दिनेछन्। 10 जसरी मैले आफ्‍नो प्रजा इस्राएलमाथि न्‍यायकर्ताहरूलाई नियुक्त गरेको यता भएथ्‍यो; अनि म तिम्रा सबै शत्रुहरूलाई अधीनतामा ल्याउनेछु। अझै म तिमीलाई भन्छु, परमप्रभुले तिम्रा निम्ति एउटा घर बनाउनुहुनेछ। 11 अनि यस्तो हुनेछ: जब तिम्रा दिनहरू पूरा हुनेछन्, र तिमी आफ्ना पितापुर्खाहरूसित मिल्न जानेछौ, तब तिमीपछि म तिम्रा छोराहरूबाट तिम्रो वंश खड़ा गर्नेछु, र उसको राज्य स्थापित गर्नेछु। 12 उसले चाहिँ मेरा निम्ति एउटा भवन निर्माण गर्नेछ; अनि म उसको सिंहासन सदा-सर्वदाका निम्ति स्थापित गर्नेछु। 13 म उसको पिता हुनेछु, र ऊचाहिँ मेरो पुत्र हुनेछ; अनि म उसबाट मेरो करुणा हटाउनेछैनँ, जसरी मैले त्यसबाट हटाएँ, जो तिमीभन्दा अघि थियो। 14 तर म उसलाई मेरो भवनमा र मेरो राज्यमा सदाका निम्ति स्थिर पार्नेछु, र उसको सिंहासन सदा-सर्वदाका निम्ति स्थापित गर्नेछु।” 15 यी सबै कुराहरूअनुसार र यो सारा दर्शनअनुसार नातानले दाऊदलाई बताइदिए।
दाऊदको धन्यवादको प्रार्थना
16 तब राजा दाऊद आएर परमप्रभुको सामु बसे; अनि उनले भने: “हे परमप्रभु परमेश्‍वर, म को हुँ र? अनि मेरो घराना के हो र, कि तपाईंले मलाई यहाँसम्म ल्याइपुर्‍याउनुभएको छ? 17 अनि हे परमेश्‍वर, तपाईंको दृष्‍टिमा मानो यो त एउटा सानो कुरा थियो; किनकि तपाईंले त आफ्नो दासको घरानाको विषयमा झन् धेरै पछि आउने कुरा गर्नुभएको छ; अनि हे परमप्रभु परमेश्‍वर, तपाईंले मलाई उच्‍च दर्जाको व्यक्तिलाई सम्झेझैं मसित व्यवहार गर्नुभएको छ। 18 तपाईंको दासको आदरको सम्बन्धमा दाऊदले तपाईंसित अरू बढ़ी के भन्‍न सक्छ र? किनकि तपाईंले आफ्नो दासलाई चिन्‍नुहुन्छ। 19 हे परमप्रभु, तपाईंले आफ्नो दासको खातिर र आफ्नो हृदयअनुसार यी महान् कुराहरूको जानकारी दिनलाई यो सारा महान् कार्य गर्नुभएको छ। 20 हे परमप्रभु, हामीले आफ्ना कानले सुनेका सबै कुराअनुसार तपाईंजस्तो अरू कोही पनि छैन, न ता तपाईंबाहेक अरू कुनै ईश्‍वर नै छ। 21 अनि पृथ्वीमा तपाईंको प्रजा इस्राएलजस्तो अरू कुनचाहिँ जाति होला र, जसलाई आफ्नो निज प्रजा तुल्याउनलाई परमेश्‍वर दाम तिरेर छुटाउन जानुभयो; र तपाईंले मिस्रबाट दाम तिरेर छुटाउनुभएको आफ्नो प्रजाको सामुबाट जाति-जातिका मानिसहरूलाई धपाएर तपाईंले आफ्ना निम्ति एउटा महान् र भययोग्य नाम कमाउनुभयो? 22 किनकि तपाईंले आफ्नो प्रजा इस्राएललाई सदा-सर्वदा आफ्नो निज प्रजा तुल्याउनुभयो; अनि तपाईं, हे परमप्रभु, तपाईं तिनीहरूका परमेश्‍वर हुनुभएको छ।
23 यसकारण अब हे परमप्रभु, तपाईंले आफ्नो दास र उसको घरानाको विषयमा बोल्नुभएको वचन सदा-सर्वदा स्थिर रहोस्! अनि तपाईंले भन्‍नुभएझैं गर्नुहोस्! 24 अँ, यो वचन स्थिर रहोस्, फलस्वरूप ‘सेनाहरूका परमप्रभु नै इस्राएलका परमेश्‍वर हुनुहुन्छ, अँ, इस्राएलका निम्ति परमेश्‍वर हुनुहुन्छ’ भन्दै सदा-सर्वदा तपाईंको नामको बढ़ाइ महान् होस्! अनि तपाईंको दास दाऊदको घराना तपाईंको सामु सदा-सर्वदा स्थापित गरियोस्! 25 किनभने तपाईंले, हे मेरा परमेश्‍वर, तपाईंले आफ्नो दासलाई उसका निम्ति एउटा घर बनाइदिने कुरा प्रकट गर्नुभएको छ; यसैकारण तपाईंको दासले आफ्नो हृदयमा तपाईंको सामु प्रार्थना चढ़ाउने हिम्मत पाएको छ। 26 अनि अब हे परमप्रभु, तपाईं नै परमेश्‍वर हुनुहुन्छ; अनि तपाईंले आफ्नो दासप्रति यस भलाइको प्रतिज्ञा गर्नुभएको छ; 27 यसकारण अब तपाईंको दासको घराना सदा-सर्वदा तपाईंको सामु रहिरहोस् भनी यसलाई आशिष्‌ दिनमा तपाईं प्रसन्‍न हुनुभयो; किनकि हे परमप्रभु, तपाईंले आशिष्‌ दिनुभएको छ; यसैले यो सदा-सर्वदा आशिषित रहनेछ।”