२ राजाहरू
इस्राएलका राजा अहज्याहको मृत्यु
1
तब अहाबको मृत्युपछि मोआबले इस्राएलको विरोधमा विद्रोह गर्यो। 2 अनि अहज्याह सामरियामा भएको तिनको माथिल्लो कोठाको आँखीझ्यालबाट खसेर बिरामी भए। अनि तिनले दूतहरूलाई पठाए, र तिनीहरूलाई यसो भने: “जाओ! म यस बिमारीबाट निको हुन्छु कि हुँदिनँ, सो एक्रोनको देवता बाल-जबूबबाट सोधखोज गर!” 3 तर परमप्रभुका दूतले तिश्बी एलियालाई भने: “उठ, सामरियाका राजाका दूतहरूलाई भेट्न माथि जाऊ, र तिनीहरूलाई यसो भन: के इस्राएलमा कुनै ईश्वर नभएको कारणले तिमीहरू एक्रोनको देवता बाल-जबूबबाट सोधखोज गर्न गएका? 4 यसकारण अब परमप्रभु यसो भन्नुहुन्छ, तँ जुन पलङमा चढ़ेको छस्, त्यसबाट उत्रनेछैनस्; तर तँ अवश्य मर्नेछस्।” तब एलिया हिँड़े।5 अनि जब ती दूतहरू राजाकहाँक फर्केर आए, तब तिनले तिनीहरूलाई भने: “तिमीहरू किन फर्किहाल्यौ?” 6 तब तिनीहरूले तिनलाई भने: “एकजना मानिस हामीलाई भेट्न माथि आए, र उनले हामीलाई भने, ‘जाओ, तिमीहरूलाई पठाउने राजाकहाँ फर्क, र तिनलाई भनिदेओ: परमप्रभु यसो भन्नुहुन्छ, के इस्राएलमा कुनै ईश्वर नभएको कारणले तैंले एक्रोनको देवता बाल-जबूबबाट सोधखोज गर्न पठाएको? यसकारण जुन पलङमा तँ चढ़ेको छस्, त्यसबाट तँ उत्रनेछैनस्; तर तँ अवश्य मर्नेछस्।’ ” 7 अनि तिनले तिनीहरूलाई भने: “तिमीहरूलाई भेट्न माथि आएर तिमीहरूलाई यी कुराहरू भन्ने मानिस कस्तो किसिमको थियो?” 8 अनि तिनीहरूले तिनलाई जवाफ दिए: “उनी रौं नै रौं भएका मानिस थिए, र उनको कम्मरमा छालाको पेटी बाँधिएको थियो।” तब तिनले भने: “उनी त तिश्बी एलिया हुन्।”
9 तब राजाले उनीकहाँ पचासजनाका कप्तानलाई तिनकै पचासजनाको साथमा पठाए। अनि तिनी माथि उनीकहाँ गए; अनि हेर, उनी एउटा डाँड़ाको टाकुरामा बसिरहेका रहेछन्! अनि तिनले उनलाई भने: “हे परमेश्वरको जन, राजाले भन्नुभएको छ, ओर्लेर तल आऊ!” 10 अनि एलियाले जवाफ दिएर ती पचासजनाका कप्तानलाई भने: “यदि म परमेश्वरको जन हुँ भने स्वर्गबाट आगो झरेर तिमी र तिम्रा पचासजनालाई भस्म पारोस्!” तब स्वर्गबाट आगो झरेर तिनलाई र तिनका पचासजनालाई भस्म पार्यो। 11 अनि राजालेख फेरि अर्को पचासजनाका कप्तानलाई तिनकै पचासजनाको साथमा उनीकहाँ पठाए। अनि तिनले उनलाई जवाफ दिएर भने: “हे परमेश्वरको जन, राजाले यसो भन्नुभएको छ, झट्टै ओर्लेर तल आऊ!” 12 अनि एलियाले जवाफ दिएर तिनीहरूलाई भने: “यदि म परमेश्वरको जन हुँ भने स्वर्गबाट आगो झरेर तिमी र तिम्रा पचासजनालाई भस्म पारोस्!” तब स्वर्गबाट परमेश्वरको आगो झरेर तिनलाई र तिनका पचासजनालाई भस्म पार्यो। 13 अनि राजालेख फेरि तेस्रो पचासजनाका कप्तानलाई तिनकै पचासजनाको साथमा पठाए। अनि ती तेस्रा पचासजनाका कप्तान माथि गए, र आएर एलियाको सामु घुँड़ाहरू टेके, र उनलाई विन्ती गरेर भने: “हे परमेश्वरको जन, म तपाईंलाई विन्ती गर्छु, मेरो ज्यान र तपाईंका दासहरू, यी पचासजनाका ज्यान तपाईंको दृष्टिमा अमूल्य ठहरिऊन्! 14 हेर्नुहोस्, स्वर्गबाट आगो झरेर अघिका पचास-पचासका दुईजना कप्तानहरूलाई तिनीहरूका पचासको साथमा भस्म पार्यो; यसकारण अब मेरो ज्यान तपाईंको दृष्टिमा अमूल्य ठहरियोस्!” 15 तब परमप्रभुका दूतले एलियालाई भने: “ऊसँग तल जाऊ; ऊदेखि नडराऊ!” तब उनी उठे, र तिनीसित तल राजाकहाँ गए।
16 अनि उनले राजालाईग भने: “परमप्रभु यसो भन्नुहुन्छ, ‘के उहाँको वचनको सोधखोज गर्न इस्राएलमा कुनै ईश्वर नभएको कारणले तैंले एक्रोनको देवता बाल-जबूबबाट सोधखोज गर्न दूतहरू पठाइस्? जुन पलङमा तँ चढ़ेको छस्, त्यसबाट तँ उत्रनेछैनस्; तर तँ अवश्य मर्नेछस्।’ ” 17 तब एलियाले बोलेको परमप्रभुको वचनअनुसार तिनी मरे। अनि यहूदाका राजा यहोशापतका छोरा यहोरामको दोस्रो वर्षमा तिनको सट्टामा यहोरामले राज्य गर्न थाले; किनकि तिनका छोरा थिएनन्।
18 अब अहज्याहका अरू बाँकी कामकुराहरू – के ती कुराहरू इस्राएलका राजाहरूको इतिहासकोघ पुस्तकमा लेखिएका छैनन् र?