१ राजाहरू
दाऊदको वृद्धावस्थामा अदोनियाहको राजा हुने दाउ
1
अनि राजा दाऊद वृद्ध भए, र उनको उमेर ढल्किसकेको थियो; अनि तिनीहरूले उनलाई लुगाहरू ओढ़ाइदिन्थे, र पनि उनलाई तातो लाग्दैनथियो। 2 यसकारण उनका नोकरहरूले उनलाई भने: “तिनीहरूले मेरा प्रभु राजाका निम्ति एउटी जवान कन्या खोजिदिऊन्, र ऊ राजाको सामु खड़ा भइदेओस्, तपाईंको स्याहार-सुसार गरोस् र तपाईंकै छातीमा सुतोस्, र मेरा प्रभु राजालाई तातो होस्!” 3 तब तिनीहरूले इस्राएलका सबै इलाकाभरि एउटी सुन्दरी तरुणीलाई खोजे, अनि शूनेमी अबिशगलाई भेट्टाए, र तिनलाई राजाकहाँ ल्याए। 4 अनि ती तरुणी खूबै सुन्दरी थिइन्; अनि तिनले राजाको स्याहार-सुसार गरिन् र उनको सेवा गरिन्, तर राजाचाहिँ तिनीकहाँ गएनन्
5 तब हग्गीतका छोरा अदोनियाहले ‘म नै राजा हुनेछु’ भन्दै आफूलाई उच्‍च तुल्याए; अनि तिनले आफ्ना निम्ति रथहरू, घोड़चढ़ीहरू र आफ्नो अघि-अघि दगुर्ने पचासजना मानिस तयार पारे; 6 अनि तिनका बुबाले तिनलाई ‘तैंले किन यसो गरिस्’ भनेर कहिल्यै दुःखित पारेका थिएनन्। अनि तिनी पनि खूबै सुन्दर मानिस थिए। अनि अब्शालोमपछि तिनकी आमाले तिनलाई जन्माएकी थिइन्। 7 अनि तिनले सरूयाका छोरा योआब र पूजाहारी अबियातारसित सल्‍लाह लिए; अनि तिनीहरूले तिनको पछि लाग्दै तिनलाई सहायता गरे। 8 तर पूजाहारी सादोक, यहोयादाका छोरा बनायाह, भविष्यवक्ता नातान अनि शिमी र रेई, साथै दाऊदका शूरवीर मानिसहरूचाहिँ अदोनियाहको साथमा थिएनन्। 9 अनि अदोनियाहले एन-रोगेलको नजिकमा जोहेलेत ढुङ्गानिर भेड़ाहरू, बहरहरू र मोटा-मोटा पशुहरू बलि गरे, अनि आफ्ना सबै दाजुभाइहरूलाई अर्थात् राजाका छोराहरूलाई र यहूदाका सबै मानिसहरूलाई अर्थात् राजाका नोकरहरूलाई बोलाए; 10 तर भविष्यवक्ता नातान, बनायाह, ती शूरवीर मानिसहरू र आफ्ना भाइ सुलेमानलाई चाहिँ तिनले बोलाएनन्।
11 यसैले नातानले सुलेमानकी आमा बतशेबासित यसो भन्दै कुरा गरे: “के तपाईंले हग्गीतका छोरा अदोनियाहले राज्य गर्दैछन् भनी सुन्‍नुभएको छैन? र हाम्रा प्रभु दाऊदलाई यो कुरा थाहै छैन। 12 यसकारण अब आउनुहोस्! म तपाईंलाई विन्‍ती गर्छु, म तपाईंलाई सल्‍लाह दिन पाऊँ, र तपाईंले आफ्नो ज्यान र तपाईंका छोरा सुलेमानको ज्यान बचाउन सक्नुहुनेछ। 13 आउनुहोस्, राजा दाऊदकहाँ जानुहोस् र उहाँलाई भन्‍नुहोस्: ‘हे मेरा प्रभु, हे राजा, के तपाईंले आफ्नी दासीसित यसो भन्दै शपथ खानुभएको थिएन र: “निश्‍चय तिम्रा छोरा सुलेमानले मपछि राज्य गर्नेछ, र ऊचाहिँ मेरो सिंहासनमा बस्‍नेछ”? तब किन अदोनियाहले राज्य गर्दैछन् त?’ 14 हेर्नुहोस्, तपाईं त्यहाँ राजासित अझै कुरा गरिरहनुभएकै बेलामा म पनि तपाईंको पछि आउनेछु, र तपाईंका कुराहरू पुष्‍टि गरिदिनेछु।”
15 तब बतशेबा त्यस भित्री कोठाभित्र राजाकहाँ गइन्। अनि राजा साह्रै वृद्ध थिए, र शूनेमी अबिशगले उनको सेवा गर्थिन्। 16 अनि बतशेबाले निहुरेर राजालाई दण्‍डवत्‌ गरिन्; अनि राजाले सोधे: “तिमी के चाहन्छ्यौ?” 17 तब तिनले उनलाई भनिन्: “हे मेरा प्रभु, हजुरले म, हजुरकी दासीसित यसो भन्दै परमप्रभु आफ्ना परमेश्‍वरको नाममा शपथ खानुभएको थियो: ‘निश्‍चय तिम्रा छोरा सुलेमानले मपछि राज्य गर्नेछ, र ऊ नै मेरो सिंहासनमा बस्‍नेछ।’ 18 अनि अब हेर्नुहोस्, अदोनियाहले पो राज्य गर्दैछन्। अनि अब हे मेरा प्रभु, हे राजा, हजुरलाई चाहिँ यो थाहै छैन। 19 अनि तिनले प्रशस्तै मात्रामा बहरहरू, मोटा-मोटा पशुहरू र भेड़ाहरू बलि गरेर राजाका सबै छोराहरू, पूजाहारी अबियातार र सेनापति योआबलाई बोलाए, तर हजुरको दास सुलेमानलाई चाहिँ तिनले बोलाएनन्। 20 अनि हे मेरा प्रभु, हे राजा, हजुरको पछि मेरा प्रभु राजाको सिंहासनमा को बस्‍ने हो, सो तिनीहरूलाई बताइदिनुहोस् भनेर सारा इस्राएलका आँखाहरू तपाईंमाथि लगाइएका छन्। 21 नत्र ता जब मेरा प्रभु राजा आफ्ना पितापुर्खाहरूसित सुतिजानुहुनेछ, तब म र मेरो छोरा सुलेमान अपराधी ठहरिनेछौं।”
22 अनि हेर, तिनी अझै राजासित कुरा गर्दै-गर्दा भविष्यवक्ता नातान पनि भित्र आए। 23 तब उनीहरूले राजालाई यसो भन्दै सुनाए: “हेर्नुहोस्, भविष्यवक्ता नातान यहाँ छन्!” अनि जब तिनी राजाको सामु आए, तब तिनले राजाको सामु भुइँसम्‍म आफ्नो शिर झुकाएर दण्‍डवत्‌ गरे। 24 अनि नातानले भने: “हे मेरा प्रभु, हे राजा, के हजुरले ‘मपछि अदोनियाहले राज्य गर्नेछ, र उही मेरो सिंहासनमा बस्‍नेछ’ भनी भन्‍नुभएको छ र? 25 किनकि आज तल गएर उनले प्रशस्त मात्रामा बहरहरू, मोटा-मोटा पशुहरू र भेड़ाहरू बलि गरेछन्, र राजाका सबै छोराहरू, सेनापतिहरू र पूजाहारी अबियातारलाई पनि बोलाएछन्; अनि हेर्नुहोस्, तिनीहरूले उनको सामु खानपान गरेर यसो भन्दा रहेछन्: ‘राजा अदोनियाह अमर रहून्!’ 26 तर उनले मलाई, म, हजुरको दासलाई, अनि पूजाहारी सादोक, यहोयादाका छोरा बनायाह र हजुरको दास सुलेमानलाई चाहिँ बोलाएनन्। 27 के मेरा प्रभु राजाबाटै यो कुरा भएको हो? अनि हजुरले आफ्नो दासलाई हजुरको पछि मेरा प्रभु राजाको सिंहासनमा को बस्‍ने हो, सो कुरा बताउनुभएको छैन।” 28 तब राजा दाऊदले जवाफ दिएर भने: “बतशेबालाई मकहाँ बोलाओ!” अनि तिनी राजाको हाजिरीमा आएर राजाको सामुन्‍ने उभिइन्। 29 अनि राजाले शपथ खाईकन भने: “परमप्रभुको जीवनको शपथ, जसले मेरो प्राणलाई सबै सङ्कष्‍टबाट छुटाउनुभयो! 30 जसरी मैले परमप्रभु इस्राएलका परमेश्‍वरको नाममा तिमीसँग यसो भन्दै शपथ खाएको थिएँ: ‘निश्‍चय तिम्रा छोरा सुलेमानले मपछि राज्य गर्नेछ, र ऊ नै मेरो सट्टामा मेरो सिंहासनमा बस्‍नेछ’; निश्‍चय म आज त्यसरी नै गर्नेछु।” 31 तब बतशेबाले भुइँसम्‍म आफ्नो शिर झुकाएर राजालाई दण्‍डवत्‌ गरीकन भनिन्: “मेरा प्रभु राजा दाऊद सदा-सर्वदा अमर रहून्!”
32 अनि राजा दाऊदले भने: “मकहाँ पूजाहारी सादोक, भविष्यवक्ता नातान र यहोयादाका छोरा बनायाहलाई बोलाओ!” अनि उनीहरू राजाको सामु आए। 33 अनि राजाले उनीहरूलाई भने: “आफ्ना प्रभुका कर्मचारीहरूलाई साथमा लैजाओ, र मेरो छोरा सुलेमानलाई मेरो खच्‍चरमाथि चढ़ाएर उसलाई तल गिहोनमा पुर्‍याओ! 34 अनि पूजाहारी सादोक र भविष्यवक्ता नातानले उसलाई त्यहाँ इस्राएलमाथि राजा अभिषेक गरून्, अनि तिमीहरूले तुरही फुकेर यसो भन: ‘राजा सुलेमान अमर रहून्!’ 35 त्यसपछि उसको पछि-पछि माथि आओ, र ऊ आएर मेरो सिंहासनमाथि बसोस्; किनकि ऊ नै मेरो सट्टामा राजा हुनेछ, अनि मैले उसलाई इस्राएल र यहूदामाथि शासक नियुक्त गरेको छु।” 36 अनि यहोयादाका छोरा बनायाहले राजालाई जवाफ दिएर भने: “आमेन! परमप्रभु मेरा प्रभु राजाका परमेश्‍वरले पनि यस्तै भनून्! 37 जसरी परमप्रभु मेरा प्रभु राजाको साथमा रहनुभयो, त्यसरी नै उहाँ सुलेमानको साथमा पनि रहून्, र तिनको सिंहासन मेरा प्रभु राजा दाऊदको सिंहासनभन्दा पनि महान् तुल्याऊन्!”
सुलेमानको राजा-अभिषेक
38 तब पूजाहारी सादोक, भविष्यवक्ता नातान र यहोयादाका छोरा बनायाह, साथै करेतीहरू र पलेतीहरू तल झरे, अनि सुलेमानलाई राजा दाऊदको खच्‍चरमाथि चढ़ाएर उनलाई गिहोनमा ल्याए। 39 अनि पूजाहारी सादोकले त्यस निवासस्थानबाट एउटा तेलको सिङ लिएर सुलेमानलाई अभिषेक गरे; अनि उनीहरूले तुरही फुके; अनि सबै मानिसहरूले यसो भने: “राजा सुलेमान अमर रहून्!” 40 अनि सबै मानिसहरू उनको पछि-पछि माथि आए; अनि मानिसहरूले बाँसुरीहरू बजाए, र यति ठूलो आनन्दले हर्ष मनाए, कि उनीहरूको आवाजले धरती फाट्यो।
41 अनि अदोनियाह र तिनीसित भएका सबै निम्तारुहरूले आफूले खाइसकेको बेलामा त्यो आवाज सुने। अनि जब योआबले त्यस तुरहीको आवाज सुने, तब उनले भने: “कोलाहल मच्चिरहेको शहरको यो आवाज केका लागि हो?” 42 अनि उनी बोलिरहेकै बेलामा हेर, पूजाहारी अबियातारका छोरा योनातान आइपुगे; अनि अदोनियाहले तिनलाई भने: “भित्रै आऊ; किनकि तिमी एक शक्तिशाली मानिस हौ, र असल समाचार ल्याउँछौ।” 43 तब योनातानले अदोनियाहलाई जवाफ दिएर भने: “साँच्‍चै, हाम्रा प्रभु राजा दाऊदले सुलेमानलाई राजा बनाउनुभएको छ। 44 अनि राजाले पूजाहारी सादोक, भविष्यवक्ता नातान र यहोयादाका छोरा बनायाह, साथै करेतीहरू र पलेतीहरूलाई तिनको साथमा पठाउनुभयो; अनि उनीहरूले तिनलाई राजाको खच्‍चरमाथि सवार गराए; 45 अनि पूजाहारी सादोक र भविष्यवक्ता नातानले गिहोनमा तिनलाई राजा अभिषेक गरे; अनि त्यहाँबाट उनीहरू रमाउँदै माथि आए; यसैले शहर गुञ्‍जायमान्‌ भएको हो। तपाईंहरूले सुन्‍नुभएको आवाज यही हो। 46 अनि सुलेमान पनि राज्यको सिंहासनमाथि बसेका छन्। 47 साथै राजाका कर्मचारीहरू पनि हाम्रा प्रभु राजा दाऊदलाई यसो भन्दै आशीर्वाद दिन आए: ‘परमेश्‍वरले सुलेमानको नाम हजुरको नामभन्दा उत्तम तुल्याइदिऊन् र उनको सिंहासन हजुरको सिंहासनभन्दा महान् पारिदिऊन्!’ तब राजाले पलङमाथि दण्‍डवत्‌ गर्नुभयो। 48 अनि राजाले यसो पनि भन्‍नुभयो: ‘परमप्रभु इस्राएलका परमेश्‍वर धन्यका होऊन्, जसले आज मेरो सिंहासनमाथि बस्‍ने एकजना दिनुभयो, जसलाई मेरा आँखाहरूले देखिरहेका छन्।’ ”
49 तब अदोनियाहसित भएका सबै निम्तारुहरू डराए, उठे र हरेक आ-आफ्नो बाटो लागे। 50 अनि अदोनियाह पनि सुलेमानको कारणले डराए, र उठे, अनि गएर वेदीका सिङहरू समाते। 51 अनि सुलेमानलाई यसो भन्दै बताइयो: “हेर्नुहोस्, अदोनियाह त राजा सुलेमानदेखि डराइरहेछन्; किनकि हेर्नुहोस्, ‘राजा सुलेमानले आफ्नो दासलाई तरवारले मार्नेछैनन् भनी उनले आज मसित शपथ खाऊन्!’ भन्दै तिनले वेदीका सिङहरू समातेका छन्।” 52 तब सुलेमानले भने: “तिनले आफूलाई एक योग्य मानिस हुन् भनी देखाउन सके भने तिनको एउटा केश पनि भुइँमा खस्‍नेछैन, तर तिनमा दुष्‍टता पाइयो भने तिनी मर्ने नै छन्।” 53 तब राजा सुलेमानले मानिसहरू पठाए, र उनीहरूले तिनलाई वेदीबाट तल ल्याए। अनि तिनी आए, र राजा सुलेमानको अघि दण्‍डवत्‌ गरे; अनि सुलेमानले तिनलाई भने: “आफ्नो घर जाऊ!”