दाऊदको मृत्यु
2
अनि दाऊदको मर्ने बेलाक नजिकै आइरहेको थियो; अनि उनले आफ्नो छोरा सुलेमानलाई यसो भन्दै आज्ञा गरे: 2 “म सारा पृथ्वी गइरहेको बाटोमा जाँदैछु; यसैले तिमी बलिया होऊ, र पुरुषार्थ देखाऊ! 3 अनि मोशाको व्यवस्थामा लेखिएअनुसार उहाँका मार्गहरूमा हिँड़ेर र उहाँका नियमहरू, उहाँका आज्ञाहरू, उहाँका न्याय-वचनहरू र उहाँका साक्षी-वचनहरू पालन गरेर परमप्रभु तिम्रा परमेश्वरले सुम्पनुभएकोख अभिभारा पूरा गर, फलस्वरूप तिमी जे-जे गर्छौ र जता-जता लाग्छौ, सबै कुरामा तिमी सफल हुनेछौ; 4 र परमप्रभुले मेरो विषयमा यसो भन्नुभएको उहाँको वचन स्थिर पारून्: ‘तिम्रा सन्तानहरूले आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले मेरो सामु सत्यतामा हिँड़्न आफ्नो मार्गको विषयमा होशियार गरे भने’, उहाँले भन्नुभयो, ‘इस्राएलको सिंहासनमाथि बस्नलाई तिमीलाई कुनै मानिसको अभाव हुनेछैन।’ 5 साथै सरूयाका छोरा योआबले मलाई के-के गरे, अनि इस्राएलका दुईजना सेनापति नेरका छोरा अबनेर र येतेरका छोरा अमासालाई के-के गरे, सो पनि तिमीलाई थाहै छ। उनीहरूलाई तिनले मारे, र शान्तिग हुने बेलामा लड़ाइँमा झैं रगतघ बहाए, अनि त्यो लड़ाइँको रगत आफ्नो कम्मरमा बाँधिएको आफ्नो पेटीमा र आफ्ना पाउमा भएका आफ्ना जुत्ताहरूमा लगाए। 6 यसकारण आफ्नो बुद्धिअनुसार काम गर, र तिनको फुलेको केश शान्तिसित अधोलोकमा जान नदेऊ! 7 तर गिलादी बर्जिल्लैका छोराहरूप्रति दया देखाऊ, र उनीहरू तिम्रा टेबलमा खानेहरूमध्येका होऊन्; किनकि म तिम्रो दाजु अब्शालोमको सामुदेखि भाग्दा उनीहरू त्यसरी नै मकहाँ आए। 8 अनि हेर, तिमीसित बहुरिमको बिन्यामिनी गेराको छोरा शिमी छ, जसले म महनैम गएको दिनमा मलाई कष्टदायक श्रापले सरापेको थियो; तर त्यो मलाई यर्दनमा भेट्नलाई तल आयो; अनि ‘म तँलाई तरवारले मार्नेछैनँ’ भनी मैले परमप्रभुको नाममा त्यससित शपथ खाएँ। 9 यसकारण अब त्यसलाई निर्दोष नठहराऊङ; किनकि तिमी त बुद्धिमान् मानिस हौ, र त्यससित के गर्नुपर्ने हो, सो जान्दछौ; तर त्यसको फुलेको केश तिमीले रगतैसित अधोलोकमा झारिदेऊ!”10 तब दाऊद आफ्ना पितापुर्खाहरूसित सुते, र दाऊदको शहरमा गाड़िए। 11 अनि दाऊदले इस्राएलमाथि राज्य गरेको समय चालीस वर्ष थियो; सात वर्ष उनले हेब्रोनमा राज्य गरे, र तेत्तीस वर्ष उनले यरूशलेममा राज्य गरे। 12 तब सुलेमान आफ्ना पिता दाऊदको सिंहासनमाथि बसे, अनि तिनको राज्य खूबै स्थिर भयो।
अदोनियाह र योआबलाई मृत्यु-दण्ड दिइएको
13 अनि हग्गीतका छोरा अदोनियाह सुलेमानकी आमा बतशेबाकहाँ आए। अनि उनले भनिन्: “के तिमी मेलमिलापमा आएका हौ?” अनि तिनले भने: “अँ, मेलमिलापमै।” 14 तिनले अझ भने: “तपाईंलाई मेरो केही कुरा भन्नु छ।” अनि उनले भनिन्: “भन!” 15 तब तिनले भने: “तपाईंलाई थाहा छ, राज्य त मेरो थियो, र मैले राज्य गरूँ भनी सारा इस्राएलले ममाथि आफ्नो नजर लगाएको थियो; तर राज्य पल्टेर मेरो भाइको हुन गयो; किनकि परमप्रभुबाट यो उनकै थियो। 16 अनि अब म तपाईंसित एउटा निवेदन गर्दछु, मलाई अस्वीकार नगरिदिनुहोला।” अनि उनले तिनलाई भनिन्: “भन!” 17 अनि तिनले भने: “म तपाईंलाई विन्ती गर्छु, राजा सुलेमानसित कुरा गरिदिनुहोस् (किनकि उनले तपाईंलाई अस्वीकार गर्दैनन्), र उनले शूनेमी अबिशग मलाई पत्नीको रूपमा दिऊन्।’ 18 अनि बतशेबाले भनिन्: “ठीक छ, म तिम्रा निम्ति राजासित कुरा गरिदिउँला।”
19 तब बतशेबा राजा सुलेमानकहाँ अदोनियाहका निम्ति उनीसित कुरा गरिदिन गइन्। अनि राजा तिनलाई भेट्न उठे, तिनलाई दण्डवत् गरे र आफ्नो सिंहासनमाथि बसे, अनि राजाकी आमाका निम्ति एउटा आसन राखिदिए, र तिनी उनको दाहिने हातपट्टि बसिन्। 20 तब तिनले भनिन्: “म तिमीसित एउटा सानो निवेदन गर्दछु; मलाई अस्वीकार नगरिदेऊ!” अनि राजाले तिनलाई भने: “माग्नुहोस्, मेरी आमा! किनकि म तपाईंलाई अस्वीकार गर्नेछैनँ।” 21 अनि तिनले भनिन्: “शूनेमी अबिशग तिम्रा दाजु अदोनियाहलाई पत्नीको रूपमा दिइओस्!” 22 तब राजा सुलेमानले जवाफ दिएर आफ्नी आमालाई भने: “अनि अदोनियाहका निम्ति तपाईंले किन शूनेमी अविशगलाई माग्दै हुनुहुन्छ? तिनका निम्ति राज्यै पनि माग्नुहोस् न; (किनकि तिनी त मेरा दाजु हुन्।) अनि तिनका निम्ति, साथै पूजाहारी अबियातार र सरूयाका छोरा योआबका निम्ति पनि माग्नुहोस्!” 23 तब राजा सुलेमानले यसो भन्दै परमप्रभुको नाममा शपथ खाए: “अदोनियाहले यो कुरा आफ्नो ज्यानको विरोधमा भनेको होइन भने परमेश्वरले मलाई यसो त के, यसभन्दा ज्यादा गरून्! 24 यसकारण अब परमप्रभुको जीवनको शपथ, जसले मलाई स्थिर पार्नुभयो, मलाई मेरा बुबा दाऊदको सिंहासनमाथि बसाउनुभयो र आफूले प्रतिज्ञा गरेअनुसार मेरा निम्ति एउटा घर बनाउनुभयो! अदोनियाह आजै मारिनेछ!” 25 अनि राजा सुलेमानले यहोयादाका छोरा बनायाहको हातद्वारा पठाए; अनि उनी अदोनियाहमाथि जाइलागे, र तिनी मरे।
26 अनि पूजाहारी अबियातारलाई राजाले भने: “अनातोतमा, आफ्ना जग्गा-जमिनहरूमाच जाऊ; किनकि तिमी पनि मर्न योग्यका छौ; तर आजको दिनमाछ म तिमीलाई मार्दिनँ; किनकि तिमीले मेरा बुबा दाऊदको अघि-अघि प्रभु यहोवाको सन्दुक बोकेका थियौ, र मेरा पिताले भोग्नुभएका सबै दु:खकष्टहरूमा तिमीले पनि कष्ट भोगेका थियौ।” 27 तब सुलेमानले अबियातारलाई परमप्रभुका निम्ति पूजाहारी हुनदेखि निकालिदिए; यसरी परमप्रभुले शीलोमा एलीको घरानाको विषयमा भन्नुभएको आफ्नो वचन पूरा गर्नुभयो।
28 तब यो समाचार योआबकहाँ पुग्यो; किनकि योआब अब्शालोमको पछि नलागे तापनि अदोनियाहको पछि लागेका थिए; अनि योआब परमप्रभुको निवासस्थानतिर भागेर गए, र वेदीका सिङहरू समाते। 29 अनि राजा सुलेमानलाई यसो भनियो: “योआब परमप्रभुको निवासस्थानतिर भागेर गए; र हेर्नुहोस्, तिनी वेदीको छेउमा छन्।” तब सुलेमानले यसो भन्दै यहोयादाका छोरा बनायाहलाई पठाए: “जाऊ, तिनीमाथि जाइलाग!” 30 अनि बनायाहले परमप्रभुको निवासस्थानमा गएर तिनलाई भने: “राजाले यसो भन्नुहुन्छ, ‘निस्केर आऊ!’ ” अनि तिनले भने: “अहँ, तर म यहीं मर्नेछु।” अनि बनायाहले राजाकहाँ ‘योआबले यसो भने, र मलाई यस्तो जवाफ दिए’ भन्ने समाचार फर्काए। 31 तब राजाले उनलाई भने: “तिनले भनेझैं गर! तिनीमाथि जाइलाग, र तिनलाई गाड़िदेऊ; अनि यसरी योआबले बगाएको निर्दोष रगतको दोष मबाट र मेरा पिताको घरानाबाट हटाइदेऊ! 32 अनि परमप्रभुले तिनको रगत तिनकै शिरमाथि फर्काउनुहुनेछ; किनकि मेरा पिता दाऊदले थाहा नपाईकन तिनले आफूभन्दा धर्मी र असल दुईजना मानिसहरूमाथि अर्थात् इस्राएलका सेनापति नेरका छोरा अबनेर र यहूदाका सेनापति येतेरका छोरा अमासामाथि जाइलागेर उनीहरूलाई तरवारले मारे। 33 यसकारण उनीहरूको रगत योआबकै शिरमाथि र तिनका सन्तानको शिरमाथि सधैंका निम्ति फर्कोस्; तर दाऊदमाथि, उहाँका सन्तानमाथि, उहाँको घरानामाथि र उहाँको सिंहासनमाथि चाहिँ परमप्रभुबाट सदा-सर्वदा शान्ति रहिरहोस्!” 34 तब यहोयादाका छोरा बनायाह माथि गए, योआबमाथि जाइलागे र तिनलाई मारे; अनि तिनी उजाड़स्थानमा भएको तिनको आफ्नो घरमा गाड़िए। 35 अनि तिनको सट्टामा राजाले यहोयादाका छोरा बनायाहलाई सेनापतिज राखे, र अबियातारको सट्टामा राजाले पूजाहारी सादोकलाई राखे।
36 अनि राजाले शिमीलाई बोलाइपठाए, र त्यसलाई भने: “आफ्ना निम्ति यरूशलेममा एउटा घर बनाऊ, र त्यहाँ बस, अनि त्यहाँबाट निस्केर कतै नजाऊ! 37 किनकि यस्तो हुनेछ: जुन दिन तिमी निस्केर किद्रोन खोला पार गरौला, त्यस दिन तिमी अवश्यै मर्नेछौ भनी निश्चय गरी जानिराख! तिम्रो रगत तिम्रो शिरमाथि पर्नेछ।” 38 अनि शिमीले राजालाई भन्यो: “यो कुरा असल हो। मेरा प्रभु राजाले जस्तो भन्नुभयो, हजुरको दासले त्यस्तै गर्नेछ।” अनि शिमी धेरै दिनसम्म यरूशलेममा बस्यो। 39 अनि तीन वर्ष बितेपछि यस्तो भयो: शिमीका दुईजना दासहरू गातका राजा माकाका छोरा आकिशकहाँ भागेर गए। अनि ‘हेर, तिम्रा दासहरू गातमा छन्’ भन्दै तिनीहरूले शिमीलाई बताए। 40 तब शिमी उठ्यो, आफ्नो गधामा काठी कस्यो र आफ्ना दासहरूलाई खोज्न गातमा आकिशकहाँ गयो; अनि शिमी गयो, र आफ्ना दासहरूलाई गातबाट ल्यायो। 41 अनि ‘शिमी यरूशलेमबाट गातमा गयो, र फर्केर आयो’ भन्ने खबर सुलेमानलाई सुनाइयो। 42 तब राजाले शिमीलाई बोलाइपठाए, र त्यसलाई भने: “के मैले तिमीलाई परमप्रभुको नाममा शपथ खुवाएर ‘जुन दिन तिमी निस्केर कतै जाऔला, त्यस दिन तिमी अवश्य मर्ने नै छौ भनेर निश्चय गरी जान!’ भनी तिमीलाई चेतावनी दिएको थिइनँ र? अनि तिमीले मलाई भन्यौ, ‘मैले सुनेको कुरा असल हो;’ 43 तब किन तिमीले परमप्रभुको शपथ र मैले तिमीलाई दिएको आज्ञा पालन गरेनौ त?” 44 अनि राजाले शिमीलाई फेरि भने: “तिमीले मेरा बुबा दाऊदलाई गरेको, तिम्रो हृदयले जानेको सबै दुष्टता तिमीलाई थाहै छ; यसकारण परमप्रभुले तिम्रो दुष्टता तिम्रो शिरमाथि फर्काउनुहुनेछ। 45 तर राजा सुलेमानचाहिँ आशिषित हुनेछन्, र दाऊदको सिंहासन परमप्रभुको सामु सदा-सर्वदा स्थिर रहनेछ।” 46 तब राजाले यहोयादाका छोरा बनायाहलाई आज्ञा गरे, र उनी निस्केर त्यसमाथि जाइलागे, र त्यो मर्यो। यसरी सुलेमानको हातमा राज्य स्थिर भयो।