परमप्रभुबाट पाएको सुलेमानको बुद्धि
3
अनि सुलेमानले मिस्रका राजा फाराओसित वैवाहिक सम्बन्ध जोड़े र फाराओकी छोरीलाई ल्याए, अनि जबसम्म उनले आफ्नो घर, परमप्रभुको भवन र यरूशेलमको वरिपरिको पर्खाल बनाइसकेनन्, तबसम्म उनले तिनलाई दाऊदको शहरमा राखे 2 तर मानिसहरूले उच्‍च स्थानहरूहुँदो बलि चढ़ाउँथे; किनभने ती दिनहरूसम्म परमप्रभुको नामका निम्ति कुनै भवन बनिएको थिएन। 3 अनि आफ्ना पिता दाऊदका नियमहरूमा हिँड़्‍दै सुलेमानले परमप्रभुलाई प्रेम गर्थे; तर उनले उच्‍च स्थानहरूमा बलि चढ़ाउँथे र धूप बाल्थे।
4 अनि राजा गिबोनमा त्यहाँ बलि चढ़ाउन गए; किनकि त्योचाहिँ ठूलो उच्‍च स्थान थियो; त्यस वेदीमाथि सुलेमानले एक हजार होमबलि चढ़ाए।
5 गिबोनमा राति सपनामा परमप्रभु सुलेमानकहाँ देखा पर्नुभयो; अनि परमेश्‍वरले भन्‍नुभयो: “म तिमीलाई के दिऊँ, माग!” 6 अनि सुलेमानले भने: “तपाईंले आफ्नो दास अर्थात् मेरा पिता दाऊदलाई, उहाँ तपाईंको सामु सत्यतामा, धार्मिकतामा र तपाईंप्रति हृदयको सीधापनमा हिँड़्नुभएअनुसार ठूलो करुणा देखाउनुभएको थियो; अनि तपाईंले त्यही ठूलो करुणा उहाँका निम्ति कायम राख्‍नुभएकोले उहाँलाई उहाँको सिंहासनमाथि बस्‍ने एउटा छोरा दिनुभयो, जसरी आज छँदैछ। 7 अनि अब हे परमप्रभु, मेरा परमेश्‍वर, तपाईंले आफ्नो दासलाई मेरा बुबा दाऊदको सट्टामा राजा बनाउनुभएको छ; तर म त सानो बालक हुँ; म बाहिर-भित्र जावत-आवत गर्न पनि जान्दिनँ। 8 अनि तपाईंको दास तपाईंले चुन्‍नुभएको आफ्नो प्रजाको बीचमा छ – एउटा ठूलो जाति, जो असंख्य भीड़ले गर्दा गन्ती गर्न सकिँदैन, न त्यसको संख्या लिन सकिन्छ। 9 यसकारण तपाईंको प्रजाको न्याय गर्नका निम्ति आफ्नो दासलाई समझदार हृदय दिनुहोस्, र म असल र खराबको बीचमा खुट्‍ट्याउन सकूँ; किनकि कसले तपाईंको यति ठूलो प्रजाको न्याय गर्न सक्छ र?”
10 अनि सुलेमानले यो कुरा मागेको त्यस वचनले परमप्रभुलाई प्रसन्‍न तुल्यायो 11 अनि परमेश्‍वरले उनलाई भन्‍नुभयो: “तिमीले यही कुरा माग्यौ, र आफ्ना निम्ति दीर्घायु मागेनौ, न आफ्ना निम्ति धनसम्पत्ति माग्यौ, न ता आफ्ना शत्रुहरूको ज्यान नै माग्यौ; तर आफ्ना निम्ति सठीक न्याय खुट्‍ट्याउने समझशक्ति माग्यौ; 12 यसकारण हेर, मैले तिम्रा वचनहरूअनुसार गरिदिएको छु; हेर, मैले तिमीलाई बुद्धिमान् र समझदार हृदय दिएको छु, कि तिमीभन्दा अघि तिमीजस्तो कोही पनि थिएन, न ता तिमीपछि नै तिमीजस्तो कोही उठ्नेछ। 13 अनि मैले तिमीलाई तिमीले नमागेको कुरा, अर्थात् धनसम्पत्ति र मान पनि यति दिएको छु, कि तिम्रो जीवनभरि राजाहरूमध्ये कोही पनि तिमीजस्तो हुनेछैन। 14 अनि यदि तिम्रा बुबा दाऊद हिँड़ेझैं तिमी मेरा नियमहरू र मेरा आज्ञाहरू पालन गर्नलाई मेरा मार्गहरूमा हिँड्यौ भने म तिम्रो आयु बढ़ाइदिनेछु।”
15 अनि सुलेमान बिउँझे; अनि हेर, त्यो त सपना रहेछ। अनि उनी यरूशलेममा आए र परमप्रभुको वाचाको सन्दुकको सामु उभिए; अनि उनले होमबलिहरू चढ़ाए र मेलबलिहरू चढ़ाए, अनि आफ्ना सबै कर्मचारीहरूका निम्ति भोज लगाइदिए।
सुलेमानको बुद्धियुक्त न्याय
16 तब दुईजना वेश्या स्त्रीहरू राजाकहाँ आए र उनको सामु खड़ा भए। 17 अनि एउटी स्त्रीले भनी: “हे मेरा प्रभु, म र यो स्त्री, हामी एउटै घरमा बस्दैछौं, र यससित घरमा बस्दा मैले एउटा बालक जन्माएँ। 18 अनि यस्तो भयो: मैले त्यस बालकलाई जन्माएको तीन दिनपछि यस स्त्रीले पनि एउटा बालक जन्माई; अनि हामी सँगै थियौं। त्यस घरमा हामीसित अरू कोही फाल्टू मान्छे थिएन; त्यस घरमा हामी दुईजना मात्र थियौं। 19 अनि राति यस स्त्रीको छोरा मरेछ; किनकि यसले त्यसलाई थिचिछे। 20 अनि यो मध्यरातमा उठी, र यसले तपाईंकी दासी सुतिरहेकी बेलामा मेरो छेउबाट मेरो छोरालाई लगेर आफ्नो छातीमा राखी र आफ्नो मरेको छोरालाई मेरो छातीमा राखिदिई। 21 अनि बिहान मेरो छोरालाई दूध चुसाऊँ भनेर जब म उठें, तब हेर्नुहोस्, यो त मरेको रहेछ! तर जब बिहान मैले यसलाई राम्ररी नियालेर हेरें, तब हेर्नुहोस्, यो त मैले जन्माएको मेरो छोरा होइन रहेछ!” 22 तर अर्की स्त्रीले भनी: “होइन; जिउँदो बालक मेरै छोरो हो; तर मरेकोचाहिँ तेरो छोरो हो।” तर अर्की स्त्रीले भनी: “होइन, मरेको बालक तेरै छोरा हो, र जिउँदोचाहिँ मेरो छोरा हो।” यसरी तिनीहरूले राजाको सामु कुरा गरे। 23 तब राजाले भने: “एउटीले भन्छे, ‘यो जिउँदोचाहिँ मेरै छोरा हो, तर मरेकोचाहिँ तेरो छोरा हो’; अनि अर्कीले भन्छे, ‘होइन; मरेको छोराचाहिँ तेरै छोरा हो, र जिउँदोचाहिँ मेरो छोरा हो।’ ” 24 अनि राजाले भने: “मलाई एउटा तरवार ल्याओ!” अनि उनीहरूले राजाको सामु एउटा तरवार ल्याइदिए। 25 अनि राजाले भने: “जिउँदो बालकलाई दुई टुक्रा हुने गरी दुई भाग पार, अनि आधा एउटीलाई र आधा अर्कीलाई देओ!” 26 तब जिउँदो बालक आफ्नो छोरा भएकी स्त्रीले आफ्नो छोराप्रति उसको मन मायाले भरिएको हुनाले राजालाई यसो भनी: “हे मेरा प्रभु, तपाईंले यो जिउँदो बालक त्यसैलाई दिनुहोस्; तर यसलाई कुनै हालतमा पनि नमार्नुहोस्!” तर अर्कीले भनी: “त्यो मेरो पनि नहोस्, तेरो पनि नहोस्! तपाईंहरूले त्यसलाई दुई भाग पार्नुहोस्!” 27 तब राजाले जवाफ दिएर भने: “त्यो जिउँदो बालक उसैलाई देओ, र कुनै किसिमले त्यसलाई नमार! ऊचाहिँ त्यसकी आमा हो।” 28 अनि सारा इस्राएलले राजाले गरेको यस न्यायको विषयमा सुने; अनि तिनीहरूले राजाको डर माने; किनकि न्याय गर्नका निम्ति उनमा परमेश्‍वरको बुद्धि रहेछ भनी तिनीहरूले थाहा पाए।