सुलेमानका उच्‍च पदाधिकारीहरू
4
राजा सुलेमान सारा इस्राएलमाथि राजा थिए। 2 अनि उनका शासकहरू यिनै थिए; सादोकका छोरा अजर्याह पूजाहारी थिए, 3 शिशाका छोराहरू एलिहोरेप र अहियाह सचिव थिए; अहिलूदका छोरा यहोशापात इतिहास लेखक थिए; 4 अनि यहोयादाका छोरा बनायाह सेनापति थिए, अनि सादोक र अबियातार पूजाहारी थिए; 5 अनि नातानका छोरा अजर्याह अफिसरहरूमाथि थिए, र नातानका छोरा जाबूद मुख्य शासक र राजाका मित्र थिए; 6 अनि अहिशार राज-घरानामाथि थिए, र अब्दाका छोरा अदोनिरामचाहिँ बेगारीमाथि थिए।
7 अनि सारा इस्राएलमाथि सुलेमानका बाह्रजना अफिसरहरू थिए, जसले राजा र उनको घरानाका निम्ति खानेकुराको प्रबन्ध गर्थे – हरेकले वर्षमा एक महिनाका निम्ति प्रबन्ध गर्थे। 8 अनि उनीहरूका नामहरू यिनै हुन्: एप्रैमको पहाड़ी देशमा बेन-हूर, 9 माकस, शाल्बिम, बेत-शेमेश र एलोन-बेत-हानानमा बेन-देकेर, 10 अरूबोतमा बेन-हेसेद, जसको अधिकारमा सोको र हेपेरको सारा इलाका पर्थ्यो; 11 डोरको सारा सिमानामा बेन-अविनादाब; सुलेमानकी छोरी तापत तिनकी पत्‍नी थिइन्; 12 अहिलूदका छोरा बानाको अधिकारमा तानाक, मगिद्दो र यिज्रेएलको मुन्तिर जार्ताननिर भएको सारा बेत-शान, बेत-शानदेखि आबेल-महोलासम्म, अँ, योक्नामको पारिपट्टिसम्म थिए; 13 रामोत-गिलादमा बेन्‍गेबेर, जसको अधिकारमा मनस्सेका छोरा याइरका गाउँबस्तीहरू, जुन गाउँबस्तीहरू गिलादमा छन्, साथै बाशानमा भएको अर्गोबको इलाका पनि थिए – पर्खाल र पित्तलका आग्ला भएका साठीवटा ठूला-ठूला शहरहरू; 14 महनैममा इद्‌दोका छोरा अहिनादाब, 15 नप्‍तालीमा अहिमास, जसले सुलेमानकी छोरी बासमतलाई पत्‍नीको रूपमा लिएका थिए; 16 आशेर र आलोतमा हूशैका छोरा बाना, 17 इस्साकारमा पारूहका छोरा यहोशापात, 18 बिन्यामिनमा एलाका छोरा शिमी, 19 र एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओगको देशमा अर्थात् गिलाद देशमा ऊरीका छोरा गेबेर थिए; अनि तिनीचाहिँ त्यस देशका एकमात्र अफिसर थिए।
सुलेमानको प्रताप
20 यहूदा र इस्राएल धेरै, समुद्रका किनारको बालुवासरह असंख्य भीड़ थिए; तिनीहरू खाँदैथिए, पिउँदैथिए र मोज गर्दैथिए 21 अनि सुलेमानले यूफ्रेटिस नदीदेखि लिएर पलिस्तीहरूको देश र मिस्रको सिमानासम्म सबै राज्यहरूमाथि शासन गर्थे; अनि सुलेमानको जीवनभरि नै तिनीहरूले उनीकहाँ कर ल्याउँथे, र उनको सेवा गर्थे। 22 अनि एक दिनका निम्ति सुलेमानको खानेकुराको व्यवस्था यस प्रकार थियो: तीस कोर मैदा र साठी कोर आँटा, 23 दसवटा मोटा-मोटा गोरुहरू, बीसवटा खर्कका बहरहरू, एक सय भेड़ाहरू, साथै हरिण, चित्तल र मृगहरू अनि पोसाएका पक्षीहरू। 24 किनकि तिप्सादेखि गाजासम्म, यूफ्रेटिस नदीवारिको सम्पूर्ण इलाकामाथि, अर्थात् नदीवारिका सबै राजाहरूमाथि उनको अधिकार थियो; अनि उनको वरिपरि चारैतिर उनले मेलमिलाप राखेका थिए। 25 अनि सुलेमानको जीवनभरि नै दानदेखि बेर-शेबासम्म यहूदा र इस्राएलमा हरेक मानिस आ-आफ्नो दाखको बोट र आ-आफ्नो नेभाराको रूखमुनि सुरक्षित भएर बस्थ्यो। 26 सुलेमानसित आफ्ना रथहरूका निम्ति तबेलाहरूमा चालीस हजार घोड़ाहरू थिए, र बाह्र हजार घोड़चढ़ीहरू थिए। 27 अनि ती अफिसरहरूमा हरेकले आफ्नो महिनामा राजा सुलेमान र राजा सुलेमानको टेबलमा आउने सबैका निम्ति खानेकुराको प्रबन्ध गर्थे; र उनीहरूलाई कुनै कुराको अभाव थिएन। 28 अनि तिनीहरू हरेकले आफ्नो अभिभाराअनुसार घोड़ाहरू र एक जुरे ऊँटहरूका निम्ति हुनुपर्ने ठाउँमा जौ र पराल पुर्‍याइदिन्थे।
सुलेमानको बुद्धिमत्ता
29 अनि परमेश्‍वरले सुलेमानलाई बुद्धि दिनुभयो, र समझशक्ति अत्यन्तै धेरै, र एउटा फराकिलो हृदय, समुद्रको किनारमा भएको बालुवाजतिकै। 30 अनि सुलेमानको बुद्धिचाहिँ सबै पूर्विय मानिसहरूको बुद्धिभन्दा र मिस्रमा भएको सारा बुद्धिभन्दा बढ़ी थियो। 31 किनकि उनी सबै मानिसहरूभन्दा, अँ, एज्रवंशी एतान, र माहोलका छोराहरू हेमान, कल्कोल र दर्दाभन्दा बुद्धिमान् थिए; अनि उनको कीर्ति वरिपरिका सबै जातिहरूमा फैलियो। 32 अनि उनले तीन हजार हितोपदेश बोले, र उनले रचेका गीतहरू एक हजार पाँच थिए। 33 अनि उनले लबानोनमा भएको देवदारको रूखदेखि लिएर भित्तामा उम्रने हिसपसम्म रूखहरूको विषयमा बताउँथे; उनले पशु, पक्षी, घस्रने जन्तु र माछाहरूको विषयमा पनि चर्चा गरे। 34 अनि सबै जातिहरूबाट, अँ, सुलेमानको बुद्धिको विषयमा सुन्‍ने पृथ्वीका सबै राजाहरूबाट मानिसहरू उनको बुद्धि सुन्‍न आउँथे।