२ शमूएल
दाऊदले शाऊलको मृत्युको खबर पाए
1
अनि शाऊलको मृत्युपछि यस्तो भयो: दाऊद अमालेकीहरूको काटमारबाट फर्के; अनि दाऊद सिक्लगमा बसेका दुई दिन भएको थियो; 2 तब तेस्रो दिनमा यस्तो भयो: हेर, आफ्ना लुगाहरू च्यातेको र आफ्नो टाउकोमा माटो लगाएको एकजना मानिस छाउनीबाट, शाऊलकहाँबाट आयो; अनि यस्तै भयो: जब त्यो दाऊदकहाँ आयो, तब त्यो भुइँमा घोप्‍टो पर्‍यो, र दण्‍डवत्‌ गर्‍यो। 3 अनि दाऊदले त्यसलाई भने: “तिमी कहाँबाट आउँदैछौ?” अनि त्यसले उनलाई भन्यो: “इस्राएलको छाउनीबाट म उम्केर आएको हुँ।” 4 अनि दाऊदले त्यसलाई भने: “कुरा के-कस्‍तो भयो? म विन्‍ती गर्छु, मलाई बताऊ!” अनि त्यसले जवाफ दियो: “मानिसहरू लड़ाइँबाट भागे, अनि मानिसहरूमध्ये धेरै ढले र मरे; अनि शाऊल र तिनका छोरा योनातान पनि मरे।” 5 तब दाऊदले आफूलाई सो कुरा बताउने त्यस जवान मानिसलाई भने: “तिमीले शाऊल र तिनका छोरा योनातान मरे भनेर कसरी जान्दछौ?” 6 तब उनलाई बताउने त्यस जवान मानिसले भन्यो: “संयोगले म गिल्बोअ पहाड़मा थिएँ; अनि हेर्नुहोस्, शाऊल आफ्नो भालामा अड़ेस लागिरहेका थिए; अनि हेर्नुहोस्, रथहरू र घोड़चढ़ीहरूले तिनलाई जोड़तोड़ले पिछा गरिरहेका थिए। 7 अनि जब तिनले पछि फर्केर हेरे, तब तिनले मलाई देखे, र मलाई बोलाए। अनि मैले जवाफ दिएँ: ‘म हाजिर छु।’ 8 अनि तिनले मलाई भने: ‘तिमी को हौ?’ अनि मैले तिनलाई जवाफ दिएँ: ‘म एक अमालेकी हुँ।’ 9 तिनले मलाई फेरि भने: ‘म विन्‍ती गर्छु, ममाथि आइलाग, र मलाई मार; किनकि वेदनाले मलाई पक्रेको छ, किनभने ममा मेरो प्राण अझै पूरै छ।’ 10 तब म तिनीमाथि जाइलागें, र तिनलाई मारें; किनकि उनी लोटेपछि बाँच्‍न सक्दैनन् भनी म निश्‍चित थिएँ; अनि मैले तिनको शिरमा भएको मुकुट र तिनको पाखुरामा भएको चुरा लिएँ, र यिनलाई यहाँ मेरा प्रभुकहाँ ल्याएको छु।”
11 तब दाऊदले आफ्ना लुगाहरू समातेर तिनलाई च्याते; अनि उनीसँग भएका सबै मानिसहरूले पनि त्यस्तै गरे। 12 अनि उनीहरूले शाऊल र तिनका छोरा योनातानका निम्ति, साथै परमप्रभुका मानिसहरू र इस्राएलको घरानाका निम्ति साँझसम्म विलाप गरे, रोए र उपवास बसे; किनकि तिनीहरू तरवारद्वारा मारिएका थिए। 13 अनि दाऊदले आफूलाई त्यो कुरा बताउने त्यस जवान मानिसलाई भने: “तिमी कहाँबाटका हौ?” अनि त्यसले जवाफ दियो: “म एउटा परदेशीको छोरा, एउटा अमालेकी हुँ।” 14 तब दाऊदले त्यसलाई भने: “परमप्रभुको अभिषिक्त जनलाई नाश गर्नलाई आफ्नो हात बढ़ाउन तँलाई कसरी डर लागेन?” 15 अनि दाऊदले जवान मानिसहरूमध्ये एउटालाई बोलाएर भने: “नजिकै गएर त्यसमाथि जाइलाग!” तब उसले त्यसलाई प्रहार गर्‍यो, र त्यो मर्‍यो। 16 अनि दाऊदले त्यसलाई भने: “तेरो रगत तेरै टाउकोमाथि परोस्; किनभने ‘मैले नै परमप्रभुका अभिषिक्त जनलाई मारेको हुँ’ भनेर तेरै मुखले तेरो विरोधमा गवाही दिएको छ।”
शाऊल र योनातानका निम्ति दाऊदको विलाप
17 अनि दाऊदले शाऊल र तिनका छोरा योनातानका निम्ति यो विलाप-गीत गाउँदै विलाप गरे; 18 (अनि उनले यहूदाका सन्तानलाई यो धनुको गीत सिकाउने आदेश दिए; हेर, यो याशारको पुस्तकमा लेखिएको छ):
19 ‘इस्राएलको सुन्दरता तेरा उच्‍च स्थानहरूमा मारियो! ती वीरहरू कसरी मारिए नि!
20 गातमा यो कुरा नबताओ! अश्कलोनका सड़कहरूमा यो समाचार नसुनाओ; नत्र पलिस्तीहरूका छोरीहरू रमाउलान्, र खतना नभएकाहरूका छोरीहरू प्रफुल्‍लित होलान्!
21 हे गिल्बोअका पहाड़हरूहो, तिमीहरूमाथि न शीत झरोस्, न पानी परोस्, न ता भेटीहरू उब्जाउने खेतबारीहरू नै होऊन्; किनभने त्यहाँ वीरहरूको ढाल फ्याँकियो, अँ, शाऊलको ढाल फ्याँकियो, मानौं त्यसमा तेल लगाइएकै थिएन।
22 मारिएकाहरूको रगतबाट, वीरहरूको बोसोबाट योनातानको धनु हट्दैनथियो अनि शाऊलको तरवार रित्तो फर्कंदैनथियो।
23 शाऊल र योनातान आफ्ना जीवनकालमा प्रिय र मनोहर थिए भने उनीहरूको मृत्युमा पनि उनीहरू अलग भएनन्; उनीहरू चीलहरूभन्दा फुर्तिला थिए; उनीहरू सिंहहरूभन्दा बलिया थिए।
24 हे इस्राएलका छोरीहरूहो, शाऊलका निम्ति रोओ, जसले तिमीहरूलाई सुखहरूको साथमा सिन्‍दुरे वस्त्र पहिर्‍याए, जसले तिमीहरूको वस्त्रमाथि सुनको गहना लगाइदिए।
25 कसरी ती वीरहरू लड़ाइँको बीचमा मारिए! हे योनातान, कसरी तिमी आफ्ना उच्‍च स्थानहरूमा मारियौ?
26 हे मेरो भाइ योनातान, तिम्रा निम्ति म विचलित छु; तिमी मेरा निम्ति साह्रै मनोहर थियौ; मेरा निम्ति तिम्रो प्रेम अचम्मको थियो, स्त्रीहरूको प्रेमलाई पनि जितिदिने!
27 कसरी ती वीरहरू मारिए, र लड़ाइँका हतियारहरू नष्‍ट भए?’