गिल्बोअमा शाऊल र तिनका तीन छोराहरूको मृत्यु
31
अनि पलिस्तीहरूले इस्राएलको विरोधमा लड़ाइँ गरे; अनि इस्राएलका मानिसहरू पलिस्तीहरूको सामुबाट भागे, र गिल्बोअ पहाड़मा मारिएर लड़े। 2 अनि पलिस्तीहरूले शाऊल र तिनका छोराहरूलाई जोड़तोड़ले पिछा गरे; अनि पलिस्तीहरूले शाऊलका छोराहरू योनातान, अविनादाब र मल्किशूअलाई मारे। 3 अनि शाऊलको विरोधमा घमासान लड़ाइँ चल्यो, र धनुर्धारीहरूले, अँ, धनु चलाउने मानिसहरूले तिनलाई भेट्टाए; अनि तिनी धनुर्धारीहरूद्वारा साह्रै घाइते भए। 4 तब शाऊलले आफ्नो हतियार बोक्नेलाई भने: “तिम्रो तरवार झिक, र त्यसैले मलाई वारपार हुने गरी घोचिदेऊ; नत्र ता यी खतना नभएकाहरू आएर मलाई घोच्लान्, र मेरो अपमान गर्लान्।” तर तिनको हतियार बोक्नेले यसो गर्न चाहेन; किनकि ऊ साह्रै डराएको थियो। यसैले शाऊलले त्यो तरवार लिए, र त्यसमाथि ढले। 5 अनि जब तिनको हतियार बोक्नेले शाऊल मरेका देख्यो, तब ऊ पनि त्यसै गरी आफ्नो तरवारमाथि ढलेर तिनीसँगै मर्‍यो। 6 यसरी शाऊल, तिनका तीनजना छोराहरू र तिनको हतियार बोक्ने, साथै तिनका सबै मानिसहरू त्यही दिन एकसाथ मरे। 7 अनि जब त्यस बेंसीपारिपट्टिका र यर्दनपारिपट्टिका इस्राएलका मानिसहरूले इस्राएलका मानिसहरू भागेका, अनि शाऊल र तिनका छोराहरू मरेका देखे, तब उनीहरूले शहरहरू छोड़े, र भागे; अनि पलिस्तीहरू आए, र तिनमा बसोबास गरे।
8 अनि भोलिपल्ट यस्तो भयो: जब पलिस्तीहरू मारिएकाहरूलाई लुट्न आए, तब तिनीहरूले शाऊल र तिनका तीनजना छोराहरूलाई गिल्बोअ पहाड़मा मरेका भेट्टाए। 9 अनि तिनीहरूले तिनको टाउको काटे र तिनका हतियारहरू खोलखाल गरे, र पलिस्तीहरूको देशमा चारैतिर तिनीहरूका मूर्तिहरूको भवनमा र मानिसहरूको बीचमा खबर सुनाउन पठाए। 10 अनि तिनीहरूले तिनका हतियारहरू अश्तारोतको भवनमा राखे; अनि तिनीहरूले तिनको शरीरलाई बेत-शानको पर्खालमा ठोकिदिए। 11 अनि जब याबेश-गिलादका बासिन्दाहरूले पलिस्तीहरूले शाऊललाई के गरेका थिए, सो सुने; 12 तब सबै साहसी मानिसहरू उठे र रातभरि हिँड़े, अनि शाऊलको शरीर र तिनका छोराहरूका शरीरहरू बेत-शानको पर्खालबाट निकाले, अनि याबेशमा आएर तिनीहरूलाई त्यहाँ जलाइदिए। 13 अनि तिनीहरूले तिनीहरूका हड्डीहरू लिएर याबेशमा एउटा रूखमुनि गाड़े, र सात दिन उपवास बसे।