सिक्लगमा अमालेकीहरूमाथि दाऊदको विजय
30
अनि यस्तो भयो: तेस्रो दिनमा दाऊद र उनका मानिसहरू सिक्लग आइपुग्दा अमालेकीहरूले दक्षिण र सिक्लगलाई आक्रमण गरिसकेका रहेछन्, र सिक्लगलाई प्रहार गरेर त्यसलाई आगोले जलाइदिएका रहेछन्। 2 अब त्यसमा भएका स्त्रीहरूलाई तिनीहरूले कैदी बनाएछन्; तिनीहरूले ठूला-साना कसैलाई मारेनन्, तर उनीहरूलाई लिएर आफ्नो बाटो लागेछन्। 3 तब दाऊद र उनका मानिसहरू त्यस शहरमा आइपुगे; अनि हेर, त्यो त आगोले भस्म भएको थियो; अनि उनीहरूका पत्नीहरू, उनीहरूका छोराहरू र उनीहरूका छोरीहरू कैद गरेर लगिएका थिए। 4 तब दाऊद र उनीसँग भएका मानिसहरू आफूसँग रुने शक्ति नै नरहेसम्म आफ्नो सोर उचाली-उचाली रोए। 5 अनि दाऊदका दुवैजना पत्नीहरू यिज्रेएली अहिनोअम र कर्मेली नाबालकी पत्नी अबिगेल कैद गरेर लगिएका थिए। 6 अनि दाऊद साह्रै सङ्कष्टमा परे; किनकि मानिसहरूले उनलाई ढुङ्गाले हान्ने कुरा गरे; किनभने सबै मानिसहरूको मन तीतो भएको थियो – हरेक मानिस आफ्ना छोराहरू र आ-आफ्ना छोरीहरूका निम्ति; तर दाऊदले आफूलाई परमप्रभु आफ्ना परमेश्वरमा साहसिलोक तुल्याए।7 तब दाऊदले अहिमेलेकका छोरा पूजाहारी अबियातारलाई भने: “म विन्ती गर्छु, एपोद यहाँ मकहाँ ल्याऊ!” अनि अबियातारले एपोद दाऊदकहाँ ल्याए। 8 अनि दाऊदले यसो भन्दै परमप्रभुलाई सोधखोज गरे: “के म यस फौजको पिछा गरूँ? के म तिनीहरूलाई भेट्टाउँला?” अनि उहाँले उनलाई जवाफ दिनुभयो: “पिछा गर; किनकि तिमीले निश्चय नै तिनीहरूलाई भेट्टाउनेछौ, र निश्चय नै सबै थोक फिर्ता पाउनेछौ।” 9 तब दाऊद – उनी र उनीसँग भएका छ सय मानिसहरू हिँड़े, र उनीहरू बसोर खोलामा आए, जहाँ पछि छोड़िएकाहरू बसे। 10 तर दाऊदले – उनले र चार सय मानिसहरूले पिछा गरे; किनभने दुई सयजना पछि बसे; तिनीहरू यति क्लान्त थिए, कि तिनीहरूले बसोर खोला पार गर्नै सकेनन्।
11 अनि उनीहरूले एक मिस्रीलाई मैदानमा भेट्टाए, र उसलाई दाऊदकहाँ ल्याए, अनि उसलाई रोटी दिए, र उसले खायो; अनि उनीहरूले उसलाई पानी पिउन लगाए; 12 अनि उनीहरूले उसलाई नेभाराको केकको एक टुक्रा र दुई झुप्पा किसमिस दिए; अनि जब उसले खायो, तब उसको आत्मा उसमा फर्केर आयो; किनकि उसले तीन दिन र तीन रात केही खानेकुरा खाएकै थिएन, न केही पानी नै पिएको थियो। 13 अनि दाऊदले उसलाई भने: “तिमी कसका हौ? र तिमी कहाँका हौ?” अनि उसले भन्यो: “म मिस्रको एक जवान मानिस, अमालेकीको दास हुँ; अनि मेरा मालिकले मलाई छोड़े; किनकि तीन दिनअघि म बिरामी भएँ। 14 हामीले करेतीहरूको दक्षिण भागमा, यहूदामा पर्ने सिमानामा र कालेबको दक्षिण भागमा आक्रमण गर्यौं; अनि सिक्लग हामीले आगोले जलाइदियौं।” 15 अनि दाऊदले उसलाई भने: “के तिमीले मलाई तल त्यस फौजकहाँ पुर्याउन सक्छौ?” अनि उसले भन्यो: “परमेश्वरको नाममा मसित ‘म तिमीलाई मार्दिनँ र तिमीलाई तिम्रा मालिकको हातमा सुम्पिँदिनँ’ भनी शपथ खानुहोस्, र म तपाईंलाई तल त्यस फौजकहाँ पुर्याइदिनेछु।”
16 अनि जब उसले उनलाई तल पुर्यायो, तब हेर, तिनीहरूले पलिस्तीहरूको देशबाट र यहूदाको देशबाट ल्याएका सबै लुटको प्रशस्त मालको कारणले तिनीहरू खाँदै-पिउँदै र नाच्दै सारा जमिनभरि फैलिएका रहेछन्। 17 तब दाऊदले त्यस बेलुकीपखदेखि लिएर दोस्रो दिनको बेलुकासम्म तिनीहरूलाई प्रहार गरे; अनि तिनीहरूबाट कुनै मानिस पनि उम्केन, सिवाय चार सय जवान मानिसहरू, जो ऊँटहरूमा चढ़ेर भागे। 18 अनि दाऊदले अमालेकीहरूले लगेका सबै थोक फिर्ता पाए; अनि दाऊदले आफ्ना दुईजना पत्नीहरूलाई मुक्त गरे। 19 अनि उनीहरूको कुनै पनि थोक हराएन, न सानो, न ठूलो, न ता छोराहरू न छोरीहरू, न ता लुटको माल, न कुनै थोक, जो अमालेकीहरूलेख आफ्ना निम्ति लगेका थिए; दाऊदले सब थोक फिर्ता पाए। 20 अनि दाऊदले सबै भेड़ाबाख्राहरू र गाईबस्तुहरू लगे, जो उनीहरूले अरू गाईबस्तुको अघि-अघि लाँदैथिए, र भने: “यो दाऊदको लुटको माल हो।”
21 तब दाऊद ती दुई सय मानिसहरूकहाँ पुगे, जो अति क्लान्त भएकाले दाऊदको पछि आउन सकेनन्, जसलाई उनीहरूले बसोर खोलामा बस्न लगाएका थिए; अनि तिनीहरू दाऊदलाई भेट्न र उनीसँग भएका मानिसहरूलाई भेट्न निस्केर आए; अनि जब दाऊद ती मानिसहरूको नजिकमा आए, तब उनले तिनीहरूलाई अभिवादन गरे। 22 तब दाऊदसँग गएका मानिसहरूमध्ये दुष्ट र अधम मानिसहरूले जवाफ दिएर भने: “तिनीहरू हामीसँग नगएकाले हामीले छुटाएर ल्याएका लुटको मालबाट हरेक मानिसलाई उसकी पत्नी र उसका छोराछोरीहरूबाहेक अरू केही पनि दिनेछैनौं, र तिनीहरूले ती लिएर गइहालून्।” 23 तब दाऊदले भने: “मेरा दाजुभाइहरूहो, परमप्रभुले हामीलाई दिनुभएको थोकसित तिमीहरूले यसो नगर; किनकि उहाँले हामीलाई रक्षा गर्नुभयो र हाम्रो विरोधमा आएको फौज हाम्रो हातमा सुम्पिदिनुभयो। 24 किनभने यस विषयमा तिमीहरूको कुरा कसले सुन्ला? तर लड़ाइँमा जानेको भाग जत्रो हुन्छ, मालसामानहरूसित पर्खिबस्नेको भाग पनि त्यत्रै हुनेछ; तिनीहरूले बराबर बाँड़्नेछन्।” 25 अनि त्यस दिनदेखि उसो यस्तै भयो, र उनले यो कुरा आजको दिनसम्म एउटा नियम र एउटा विधिको रूपमा स्थापित गरे।
26 अनि जब दाऊद सिक्लगमा पुगे, तब यसो भन्दै उनले लुटको मालबाट यहूदाका बूढ़ा प्रधानहरूकहाँ, अँ, आफ्ना साथीहरूकहाँ पनि यसो भनेर पठाइदिए: “हेर्नुहोस्, परमप्रभुका शत्रुहरूको लुटको मालबाट तपाईंहरूका निम्ति एउटा उपहार!” 27 अर्थात् बेतएलमा भएकाहरूका निम्ति, रमोतको दक्षिणमा भएकाहरूका निम्ति र यत्तीरमा भएकाहरूका निम्ति, 28 अनि अरोएरमा भएकाहरूका निम्ति, सिपमोतमा भएकाहरूका निम्ति र एश्तमोअमा भएकाहरूका निम्ति; 29 अनि राकालमा भएकाहरूका निम्ति, यरहमेलीका शहरहरूमा भएकाहरूका निम्ति र केनीका शहरहरूमा भएकाहरूका निम्ति, 30 अनि होर्मामा भएकाहरूका निम्ति, कोर-आशानमा भएकाहरूका निम्ति र अताकमा भएकाहरूका निम्ति; 31 साथै हेब्रोनमा भएकाहरूका निम्ति; र ती सबै ठाउँहरूमा, जहाँ दाऊद – उनी र उनका मानिसहरू आउजाउ गर्ने गर्थे।