पलिस्ती शासकहरूले दाऊदलाई इन्कार गरे
29
अनि पलिस्तीहरूले आफ्ना सबै सेनाहरू अपेकमा भेला पारे; अनि इस्राएलीहरूले चाहिँ यिज्रेएलमा भएको धाराको छेउमा छाउनी हाले। 2 अनि पलिस्तीहरूका शासकहरू सय-सय र हजार-हजार गरेर अघि बढ़्दै गए; तर दाऊद र उनका मानिसहरू आकिशसित सबैभन्दा पछि अघि बढ़े। 3 तब पलिस्तीहरूका शासकहरूले भने: “यी हिब्रूहरूले यहाँ के गर्दैछन्?” अनि आकिशले पलिस्तीहरूका शासकहरूलाई भने: “के यो इस्राएलको राजा शाऊलको सेवक दाऊद होइन र, जो यी दिनहरू अर्थात् यी वर्षहरूमा मसँग रहेको छ? अनि ऊ भागेर मकहाँ आएदेखि आजको दिनसम्म मैले उसमा कुनै दोष भेट्टाएको छैनँ।” 4 तर पलिस्तीहरूका शासकहरू तिनीसँग क्रोधित भए; अनि पलिस्तीहरूका शासकहरूले तिनलाई भने: “त्यस मान्छेलाई फर्काइदेऊ, र त्यो आफ्नो ठाउँमा जाओस्, जुन ठाउँ तिमीले त्यसका निम्ति नियुक्त गरेका छौ; अनि त्यो लड़ाइँमा हामीसँग नजाओस्, नत्र लड़ाइँमा त्यो हाम्रो विरोधी बन्ला; किनकि के गरेर त्यसले आफूलाई आफ्नो मालिकको कृपा पाउने तुल्याउला त? के यी मानिसहरूका टाउकाहरूद्वारा होइन र? 5 के यो त्यही दाऊद होइन, जसको विषयमा तिनीहरूले नाचहरूमा एक-अर्कालाई यसो भन्दै गाएका थिए: ‘शाऊलले आफ्ना हजारौंलाई मारे, तर दाऊदले आफ्ना लाखौंलाई मारे’?”
6 तब आकिशले दाऊदलाई बोलाएर उनलाई भने: “परमप्रभुको जीवनको शपथ! निश्‍चय तिमी सीधा चालका छौ, र सेनामा मसँग तिम्रो जावत-आवत मेरो दृष्‍टिमा असल छ; किनभने तिमी मकहाँ आएको दिनदेखि आजको दिनसम्म मैले तिमीमा कुनै खराबी भेट्टाएको छैनँ; तर पनि शासकहरूले तिमीलाई मन पराउँदैनन् 7 यसकारण अब फर्क, र शान्तिसित जाऊ, नत्र तिमीले पलिस्तीहरूका शासकहरूलाई बेखुशी तुल्याउँछौं!” 8 अनि दाऊदले आकिशलाई भने: “तर मैले के गरेको छु र? अनि तपाईंसित रहेको समयदेखि आजको दिनसम्म तपाईंले आफ्नो दासमा के दोष भेट्टाउनुभएको छ, कि मैले मेरा प्रभु राजाका शत्रुहरूको विरोधमा लड़ाइँ गर्न जान नपाऊँ?” 9 अनि आकिशले जवाफ दिएर दाऊदलाई भने: “म जान्दछु, तिमी मेरो दृष्‍टिमा असल छौ, परमेश्‍वरका दूतजस्तै; तैपनि पलिस्तीहरूका शासकहरूले भनेका छन्: ‘त्यो हामीसँग लड़ाइँमा जानेछैन।’ 10 यसकारण अब, तिमीसित आएका तिम्रा मालिकका सेवकहरूको साथमा भोलि बिहान सबेरै उठ! अनि तिमीहरू बिहान सबेरै उठ्नेबित्तिकै र उज्यालो हुनेबित्तिकै बाटो लाग!” 11 यसकारण दाऊद र उनका मानिसहरू बिहानै बाटो लाग्‍न र पलिस्तीहरूको देशमा फर्कनलाई सबेरै उठे। अनि पलिस्तीहरू माथि यिज्रेएलमा गए।