शाऊल भूतप्रेत खेलाउने स्त्रीकहाँ गए
28
अनि ती दिनहरूमा यस्तो भयो: पलिस्तीहरूले इस्राएलीहरूसँग लड़ाइँ गर्न भनी आफ्ना सेनाहरू लड़ाइँका निम्ति भेला पारे। अनि आकिशले दाऊदलाई भने: “तिमीलाई निश्चय गरी थाहा होस्, कि तिमी मसँग लड़ाइँमा निस्केर जानेछौ – तिमी र तिम्रा मानिसहरू!” 2 तब दाऊदले आकिशलाई भने: “तपाईंको दासले के गर्न सक्दो रहेछ भन्ने कुरा तपाईंले निश्चय गरी जान्नुहुनेछ।” अनि आकिशले दाऊदलाई भने: “यसैकारण म तिमीलाई सधैंका निम्ति मेरो शिरको रखवाला बनाउनेछु।”3 अनि शमूएल मरेका थिए, सारा इस्राएलले उनका निम्ति विलाप गरेका थिए र उनलाई रामामा, उनकै शहरमा गाड़ेका थिए। अनि शाऊलले देशबाट भूतप्रेत खेलाउनेहरू र टुनामुना गर्नेहरूलाई हटाएका थिए। 4 अनि पलिस्तीहरू भेला भए, र आएर शूनेममा छाउनी हाले; अनि शाऊलले सारा इस्राएललाई भेला गरे, र उनीहरूले गिल्बोअमा छाउनी हाले। 5 अनि जब शाऊलले पलिस्तीहरूको सेना देखे, तब तिनी डराए, र तिनको हृदय साह्रै काम्यो। 6 अनि शाऊलले जब परमप्रभुलाई सोधखोज गरे, तब परमप्रभुले तिनलाई जवाफ दिनुभएन – न सपनाहरूद्वारा, न ऊरीमद्वारा, न भविष्यवक्ताहरूद्वारा।
7 तब शाऊलले आफ्ना नोकरहरूलाई भने: “मेरा निम्ति एकजना भूतप्रेत खेलाउने स्त्रीलाई खोजिदेओ, र म उसकहाँ गएर उसबाट सोधखोज गर्न सकूँ!” अनि तिनका नोकरहरूले तिनलाई भने: “हेर्नुहोस्, एन-डोरमा एकजना भूतप्रेत खेलाउने स्त्री छे।” 8 अनि शाऊलले आफ्नो भेष बदले, र अर्कै लुगाहरू पहिरे; अनि तिनी र तिनीसँग दुईजना मानिस गए, अनि तिनीहरू राति त्यस स्त्रीकहाँ आए; अनि तिनले भने: “म तिमीलाई विन्ती गर्छु, भूतप्रेत खेलाएर मलाई जोखना बताऊ, र जसको नाम म तिमीलाई भन्छु, उसैलाई मेरा निम्ति माथि ल्याऊ!” 9 अनि त्यस स्त्रीले तिनलाई भनी: “हेर्नुहोस्, शाऊलले के गरेका छन्, तपाईं जान्नुहुन्छ; उनले भूतप्रेत खेलाउनेहरू र टुनामुना गर्नेहरूलाई देशबाट हटाएका छन्; तब मलाई मार्न तपाईंले किन मेरो जीवनका निम्ति पासो थाप्नुहुन्छ?” 10 तब शाऊलले यसो भन्दै परमप्रभुको नाममा त्यससित शपथ खाए: “परमप्रभुको जीवनको शपथ! यस कुराका निम्ति तिमीलाई कुनै दण्ड दिइनेछैनक।” 11 तब त्यस स्त्रीले भनी: “तपाईंका निम्ति म कसलाई माथि ल्याइदिऊँ?” अनि तिनले भने: “मेरा निम्ति शमूएललाई माथि ल्याइदेऊ!” 12 अनि जब त्यस स्त्रीले शमूएललाई देखी, तब त्यो चर्को सोरले चिच्च्याई; अनि त्यस स्त्रीले यसो भन्दै शाऊललाई भनी: “तपाईंले मलाई किन धोका दिनुभयो; किनभने तपाईं त शाऊल हुनुहुँदो रहेछ।” 13 तब राजाले त्यसलाई भने: “नडराऊ! अँ, तिमीले के देख्यौ?” अनि त्यस स्त्रीले शाऊललाई भनी: “मैले एउटा देवतालाईख पृथ्वीबाट माथि आउँदै गरेका देखें।”
शमूएलले शाऊललाई मृत्युको सूचना दिए
14 तब तिनले त्यसलाई भने: “उनको रूप कस्तो छ?” अनि त्यसले भनी: “एक वृद्ध मानिस माथि आउँदैछन्; अनि उनी खास्टोले ढाकिएका छन्।” अनि शाऊलले उनी शमूएल हुन् भनेर थाहा गरे; अनि तिनले भुइँसम्म आफ्नो शिर झुकाएर दण्डवत् गरे। 15 अनि शमूएलले शाऊललाई भने: “मलाई माथि ल्याएर तिमीले किन मेरो शान्ति भङ्ग गर्यौ?” अनि शाऊलले जवाफ दिए: “म साह्रै सङ्कष्टमा परेको छु; किनकि पलिस्तीहरू मेरो विरोधमा लड़ाइँ गर्दैछन्, अनि परमेश्वरले मलाई छोड़्नुभएको छ, र मलाई पटक्कै जवाफ दिनुहुन्न – न भविष्यवक्ताद्वारा, न सपनाहरूद्वारा; यसकारण मैले के गर्नुपर्छ, सो मलाई थाहा दिनुहोला भनी मैले तपाईंलाई बोलाएको हुँ।” 16 तब शमूएलले भने: “परमप्रभुले तिमीलाई छोड़्नुभएको छ, र तिम्रो शत्रु हुनुभएको छ; तब किन तिमी मलाई सोध्छौ? 17 अनि परमप्रभु मद्वारा जसरी बोल्नुभयो, त्यसरी नै उहाँले आफ्ना निम्ति गर्नुभएको छ; किनकि परमप्रभुले राज्य तिम्रो हातबाट च्यात्नुभएको छ, र त्यो तिम्रो छिमेकीलाई अर्थात् दाऊदलाई दिनुभएको छ; 18 किनभने तिमीले परमप्रभुको वाणी पालन गरेनौ, न ता अमालेकीहरूमाथि उहाँको प्रचण्ड क्रोध पूरा गर्यौ; यसैकारण परमप्रभुले आजको दिन यो कुरा तिमीसित गर्नुभएको हो। 19 यसबाहेक परमप्रभुले इस्राएललाई पनि तिमीसँगै पलिस्तीहरूको हातमा सुम्पिदिनुहुनेछ; अनि भोलि तिमी र तिम्रा छोराहरू मसँग हुनेछौ; परमप्रभुले इस्राएलको सेनालाई पनि पलिस्तीहरूको हातमा सुम्पिदिनुहुनेछ।”
20 तब शाऊल तुरुन्तै भुइँमा लम्पसार परे, र शमूएलका कुराहरूको कारणले साह्रै डराए; अनि तिनीभित्र अलिकति पनि बल रहेन; किनकि तिनले त्यस दिनभरि र रातभरि केही खानेकुरा खाएका थिएनन्। 21 अनि त्यो स्त्री शाऊलकहाँ आई र तिनलाई साह्रै विचलित भएका देखेर तिनलाई भनी: “हेर्नुहोस्, तपाईंकी दासीले तपाईंको वचन पालन गरेकी छे, र मैले आफ्नो ज्यान आफ्नो हातमा लिएकी छु, र तपाईंले मलाई भन्नुभएका कुराहरू मैले पालन गरेकी छु। 22 यसकारण अब, म तपाईंलाई विन्ती गर्छु, तपाईंले पनि तपाईंकी दासीको कुरा सुन्नुहोस्, र मैले तपाईंको सामु एक गाँस रोटी राख्न पाऊँ! अनि खानुहोस्, र जब तपाईं आफ्नो बाटो लाग्नुहुन्छ, तब तपाईंलाई बल मिलोस्!” 23 तर तिनले इन्कार गरेर भने: “म खानेछैनँ।” तर तिनका नोकरहरूले त्यस स्त्रीसित मिलेर तिनलाई कर लगाए; अनि तिनले तिनीहरूको कुरा माने। यसैले तिनी भुइँबाट उठे, र पलङमाथि बसे। 24 अनि त्यस स्त्रीसित घरमा एउटा पोसिएको बाछो थियो; अनि त्यसले हतार गरी यसलाई मारी, र पीठो लिएर मुछी र त्यसबाट अखमिरे रोटीहरू पकाई। 25 अनि त्यसले त्यो शाऊल र तिनका नोकरहरूको सामु ल्याई; अनि तिनीहरूले खाए; तब तिनीहरू उठे, र त्यही रात आफ्नो बाटो लागे।