गातमा दाऊदले शरण लिए
27
अनि दाऊदले आफ्नो मनमा भने: “अब कुनै दिन म शाऊलको हातबाट नाश हुनेछु; हतार-हतार भागेर पलिस्तीहरूको देशमा जानुभन्दा असल कुरा मेरा निम्ति अरू केही नहोला; तब शाऊल अबदेखि उसो मलाई इस्राएलको कुनै पनि सिमानाभित्र खोज्‍न मदेखि निराश हुनेछन्; यसरी म उनको हातबाट उम्कनेछु।” 2 तब दाऊद – उनी र उनीसँग भएका छ सय मानिसहरू उठे, पार गएर गातका राजा, माओकका छोरा आकिशकहाँ पुगे। 3 अनि दाऊद – उनी र उनका मानिसहरू गातमा आकिशसित रहे, हरेक मानिस आ-आफ्नो परिवारसँग; दाऊद आफ्ना दुईजना पत्‍नी यिज्रेएली अहिनोअम र नाबालकी पत्‍नी, कर्मेली अबिगेलसँग। 4 अनि दाऊद गातमा भागे भन्‍ने कुरा शाऊललाई बताइयो; तब तिनले फेरि कहिल्यै उनको खोजी गरेनन्।
5 अनि दाऊदले आकिशलाई भने: “मैले तपाईंको दृष्‍टिमा दया पाएको छु भने कृपया तिनीहरूले मलाई देशको कुनै शहरमा एउटा ठाउँ दिऊन्, र म त्यहाँ बस्‍न सकूँ; किनकि तपाईंको दास तपाईंसँग राजकीय शहरमा किन बस्‍ने?” 6 तब आकिशले त्यस दिन उनलाई सिक्लग दिए; यसैकारण आजको दिनसम्म सिक्लग यहूदाका राजाहरूको पर्दछ। 7 अनि दाऊद पलिस्तीहरूको देशमा बसेको समय एक वर्ष र चार महिना भयो।
8 अनि दाऊद र उनका मानिसहरू उँभो जान्थे, अनि गशूरीहरू, गेज्रीहरू, र अमालेकीहरूलाई आक्रमण गर्थे; किनकि उहिलेदेखि नै ती जातिहरू शूरतिर, मिस्र देशसम्म नै त्यस देशका बासिन्दाहरू थिए। 9 अनि दाऊदले त्यस देशलाई प्रहार गर्थे, न पुरुषलाई न स्त्रीलाई जीवित छोड़्थे, अनि भेड़ाहरू, गाईगोरुहरू, गधाहरू र ऊँटहरू साथै लुगाफाटाहरू लिएर फर्कन्थे र आकिशकहाँ पुग्थे। 10 अनि आकिशले भन्थे: “आज तिमीहरूले कतातिर आक्रमण गर्‍यौ?” तब दाऊदले भन्थे: “यहूदाको दक्षिण भाग, यरहमेलीको दक्षिण भाग र केनीहरूको दक्षिण भागतिर।” 11 अनि कतै तिनीहरूले हाम्रो विषयमा ‘दाऊदले यसो-यसो गरे’ भन्‍ने खबर गातमा पुर्‍याउलान् कि भनी दाऊदले न पुरुषलाई जीवित छोड़्थे, न स्त्रीलाई। अनि पलिस्तीहरूको देशमा बसुन्जेल सधैंभरि उनको चाल यस्तै थियो। 12 अनि आकिशले यसो भन्दै दाऊदलाई विश्‍वास गरे: “उनले आफ्नै इस्राएली मानिसहरूलाई आफूलाई बिलकुलै घृणा गर्ने तुल्याएका छन्; यसकारण उनी सधैंका निम्ति मेरा सेवक हुनेछन्।”