दोस्रोपल्ट दाऊदले राजा शाऊललाई छोड़िदिए
26
अनि जिफीहरू यसो भन्दै गिबामा शाऊलकहाँ आए: “के दाऊद हकीलाको डाँड़ामा, जो यशिमोनको सामु छ, लुकिरहेको छैन र?” 2 तब शाऊल उठे, र इस्राएलका तीन हजार चुनिएका मानिसहरूलाई आफ्नो साथमा लिएर तिनी दाऊदको खोजी गर्न जिफको उजाड़स्थानमा झरे। 3 अनि शाऊलले हकीलाको डाँड़ामा, जो यशिमोनको सामु छ, बाटोको छेउमा छाउनी हाले। तर दाऊद उजाड़स्थानमा रहे, र शाऊललाई उजाड़स्थानमा आफ्नो पछि आइरहेका देखे। 4 यसकारण दाऊदले जासुसहरू पठाए, र शाऊल पक्‍कै आएका छन् भन्‍ने कुरा थाहा गरे। 5 तब दाऊद उठे, र शाऊलले छाउनी हालेको ठाउँमा आइपुगे; अनि दाऊदले शाऊल, र तिनका सेनापति, नेरका छोरा अब्‍नेर ढल्किरहेको ठाउँ हेरे; अनि शाऊलचाहिँ घेराभित्र ढल्किरहेका थिए, र मानिसहरूचाहिँ तिनको चारैतिर पाल टाँगेर बसेका थिए।
6 तब दाऊदले हित्ती अहिमेलेकलाई र योआबका भाइ अर्थात् सरूयाका छोरा अबिशैलाई यसो भन्दै जवाफ दिए, र भने: “को मसित तल छाउनीमा शाऊलकहाँ जान्छ?” अनि अबिशैले भने: “म तपाईंसित तल जानेछु।” 7 तब दाऊद र अबिशै राति ती मानिसहरूकहाँ गए; अनि हेर, शाऊल घेराभित्र ढल्केर सुतिरहेका थिए, र तिनको भाला तिनको सिरानीनिर भुइँमा गाड़िएको थियो; तर अब्‍नेर र मानिसहरू तिनको वरिपरि सुतिरहेका थिए। 8 तब अबिशैले दाऊदलाई भने: “आज परमेश्‍वरले तपाईंको शत्रुलाई तपाईंको हातमा सुम्पिदिनुभएको छ; यसकारण अब म तपाईंलाई विन्‍ती गर्छु, मलाई भालाले एकै खेपमा उसलाई भुइँमै रोपिने गरी प्रहार गर्न दिनुहोस्! म उसलाई दोस्रोपल्ट प्रहार गर्नेछैनँ।” 9 तर दाऊदले अबिशैलाई भने: “उनलाई नाश नगर; किनकि कसले परमप्रभुको अभिषिक्त जनको विरोधमा आफ्नो हात बढ़ाउन सक्छ, र निर्दोष ठहरिन्छ?” 10 अनि दाऊदले अझै भने: “परमप्रभुको जीवनको शपथ! परमप्रभुले नै उनलाई प्रहार गर्नुहुनेछ, वा उनको मर्ने दिन आउनेछ; अथवा उनी लड़ाइँमा ओर्लेर नष्‍ट हुनेछन्। 11 परमप्रभुले गरून्, कि परमप्रभुका अभिषिक्त जनको विरोधमा आफ्नो हात बढ़ाउने काम मबाट कदापि नहोस्! तर म तिमीलाई विन्‍ती गर्छु, अब उनको सिरानीमा भएको भाला र पानीको सुराही लेऊ, र हामी जाऔं!” 12 यसरी दाऊदले शाऊलको सिरानीबाट भाला र पानीको सुराही लिए; अनि उनीहरू गइहाले, र यो कुरा कसैले पनि देखेन, न कसैले थाहा पायो, न कोही बिउँझ्यो; किनभने तिनीहरू सबै निदाएका थिए; किनकि परमप्रभुबाट एउटा गहिरो निद्राले तिनीहरूलाई छोपेको थियो।
13 तब दाऊद पारि अर्कोपट्टि गए, र टाढ़ामा एउटा डाँड़ाको टाकुरामा खड़ा भए; तिनीहरूको बीचमा धेरै दूरी थियो; 14 अनि दाऊदले ती मानिसहरूलाई र नेरका छोरा अब्‍नेरलाई यसो भन्दै पुकारे: “अब्‍नेर, के तिमी जवाफ दिँदैनौ?” तब अब्‍नेरले जवाफ दिएर भने: “राजालाई बोलाउने तिमी को हौ?” 15 अनि दाऊदले अब्‍नेरलाई भने: “के तिमी वीर मानिस होइनौ र? अनि इस्राएलमा तिमीजस्तो को छ र? तब किन तिमीले राजा, तिम्रा प्रभुलाई रक्षा गरेका छैनौ? किनभने राजा, तिम्रा प्रभुलाई नाश गर्न भनी मानिसहरूमध्ये कोही भित्र आएको थियो। 16 तिमीले जे गर्‍यौ, त्यो कुरा असल होइन। परमप्रभुको जीवनको शपथ! तिमीहरू मर्न योग्यका छौ; किनकि तिमीहरूले आफ्ना मालिक परमप्रभुका अभिषिक्त जनलाई रक्षा गरेनौ। अनि अब हेर, राजाको भाला कहाँ छ? र उहाँको सिरानीमा भएको पानीको सुराही कहाँ छ?”
17 तब शाऊलले दाऊदको सोर चिने, र भने: “मेरा छोरा दाऊद, के यो तिम्रो सोर हो?” अनि दाऊदले भने: “हो राजा, मेरा प्रभु, यो मेरै सोर हो।” 18 अनि उनले भने: “मेरा प्रभुले किन यसरी आफ्नो दासको पिछा गर्दै हुनुहुन्छ? किनकि मैले के गरेको छु र, वा मेरो हातमा के खराबी छ र? 19 यसकारण अब, म तपाईंलाई विन्‍ती गर्छु, मेरा प्रभु राजाले आफ्नो दासका कुराहरू सुनिदिऊन्! यदि परमप्रभुले तपाईंलाई मेरो विरोधमा उभाड़्नुभएको हो भने उहाँले एउटा भेटी ग्रहण गरून्। तर तिनीहरू मानिसका सन्तान हुन् भने परमप्रभुको सामु ती श्रापित होऊन्; किनकि आजको दिन तिनीहरूले मलाई परमप्रभुको अधिकारको भागमा रहन नदिएर ‘जाऊ, अन्य देवताहरूको पूजा गर!’ भनी निकालिदिएका छन्। 20 यसकारण अब परमप्रभुको मुखको सामु मेरो रगत भुइँमा नखसोस्; किनभने इस्राएलका राजा एउटा उपियाँको खोजी गर्न निस्कनुभएको छ, जसरी पहाड़हरूहुँदो कसैले तित्राको शिकार गर्दछ।”
21 तब शाऊलले भने: “मैले पाप गरेको छु; फर्क, मेरा छोरा दाऊद! किनकि अबदेखि उसो म तिमीलाई कुनै हानि गर्नेछैनँ, किनभने आजको दिन मेरो प्राण तिम्रो दृष्‍टिमा अनमोल ठहरियो; हेर, मैले मूर्खता देखाएको छु, अनि साह्रै ठूलो भूल गरेको छु।” 22 अनि दाऊदले जवाफ दिएर भने: “हेर्नुहोस्, राजाको भाला! तब एकजना जवान मानिस यहाँ पारि आओस्, र यो लैजाओस्! 23 परमप्रभुले हरेक मानिसलाई आफ्नो धार्मिकता र आफ्नो विश्‍वासयोग्यताको प्रतिफल दिऊन्! किनकि आज परमप्रभुले तपाईंलाई मेरो हातमा सुम्पिदिनुभयो, तर मैले परमप्रभुका अभिषिक्त जनको विरोधमा आफ्नो हात बढ़ाउन चाहिनँ। 24 अनि हेर्नुहोस्, जसरी आजको दिन तपाईंको प्राण मेरो दृष्‍टिमा मूल्यवान् गनियो, त्यसरी नै परमप्रभुको दृष्‍टिमा मेरो प्राण पनि मूल्यवान् गनियोस्, र उहाँले मलाई सबै सङ्कष्‍टबाट छुटकारा दिऊन्!” 25 तब शाऊलले दाऊदलाई भने: “तिमी धन्यका हौ, मेरा छोरा दाऊद! निश्‍चय तिमीले ठूला-ठूला काम गर्ने नै छौ, र निश्‍चय तिमी विजयी हुने नै छौ।” तब दाऊद आफ्नो बाटो लागे, अनि शाऊल आफ्नो ठाउँतिर फर्के।