शमूएलको मृत्यु
25
अनि शमूएल मरे; अनि सबै इस्राएलीहरू भेला भए, र उनका निम्ति विलाप गरे, अनि रामामा, उनलाई उनकै घरमा गाड़े। अनि दाऊद उठेर तल पारानको उजाड़स्थानमा गए।नाबालको मूर्खता
2 अनि माओनमा एकजना मानिस थिए, जसको सम्पत्ति कर्मेलमा थियो; अनि ती मानिस अति धनी थिए; तिनीसँग तीन हजार भेड़ा, एक हजार बाख्रा थिए; अनि तिनले कर्मेलमा आफ्ना भेड़ाहरूको ऊन कत्रिरहेका थिए। 3 अनि ती मानिसको नाम नाबाल थियो; अनि तिनकी पत्नीको नाम अबिगेल थियो; अनि उनी एक असल समझ भएकी र सुन्दरी स्त्री थिइन्; तर ती पुरुषचाहिँ रूखा र आफ्ना कामकुराहरूमा दुष्ट थिए; अनि तिनी कालेबको वंशका थिए। 4 अनि नाबालले आफ्ना भेड़ाहरूको ऊन कत्रिरहेका छन् भन्ने कुरा दाऊदले उजाड़स्थानमा सुने। 5 तब दाऊदले दसजना जवान मानिसहरू पठाए; अनि दाऊदले ती जवान मानिसहरूलाई भने: “तिमीहरू माथि कर्मेलतिर लाग, नाबालकहाँ जाऊ र मेरो नाममा उसलाई अभिवादन गर! 6 अनि तिमीहरूले उसलाई यसो भन्नू: ‘तपाईंलाई दीर्घायु, शान्ति होस्! तपाईंको परिवारलाई शान्ति र तपाईंसँग भएका सबैलाई शान्ति होस्! 7 अनि अब मैले सुनेको छु, तपाईंसँग ऊन कत्रनेहरू छन्; अब तपाईंका गोठालाहरू जो हामीसँग थिए, तिनीहरूलाई हामीले कुनै हानि गरेनौं, र तिनीहरू कर्मेलमा रहेका सबै दिनहरूभरि तिनीहरूको केही थोक पनि हराएन। 8 तपाईंका जवान मानिसहरूलाई सोध्नुहोस्, र तिनीहरूले तपाईंलाई बताउनेछन्। यसकारण यी जवान मानिसहरूले तपाईंको दृष्टिमा दया पाऊन्! किनकि हामी शुभ-दिनमा आएका छौं। म तपाईंलाई विन्ती गर्छु, तपाईंको हातले जे भेट्छ, त्यो तपाईंका दासहरू र तपाईंको छोरा दाऊदलाई दिनुहोस्!’ ” 9 अनि जब दाऊदका जवान मानिसहरू आइपुगे, तब तिनीहरूले दाऊदको नाममा ती सबै वचनअनुसार नाबालसँग कुरा गरे, र पर्खे। 10 अनि नाबालले दाऊदका सेवकहरूलाई जवाफ दिएर भने: “दाऊद को हो, र यिशाईको छोरा को हो? हिजोआज थुप्रै नोकरहरू छन्क, जो हरेक आ-आफ्नो मालिकबाट छुटेर जान्छन्। 11 तब के म मेरो रोटी, मेरो पानी र मैले आफ्ना ऊन कत्रनेहरूका निम्ति मारेको मेरो मासु लिएर यस्ता मानिसहरूलाई दिऊँ, जो कहाँका हुन्, सो म जान्दिनँ?”
12 तब दाऊदका जवान मानिसहरू आफ्नो बाटो लागे, फर्केर आए र उनलाई ती सबै कुराहरू बताइदिए। 13 अनि दाऊदले आफ्ना मानिसहरूलाई भने: “तिमीहरू हरेकले आ-आफ्नो तरवार भिर!” तब तिनीहरू हरेकले आ-आफ्नो तरवार भिरे; अनि दाऊदले पनि आफ्नो तरवार भिरे; तब दाऊदको पछि प्राय: चार सय मानिसहरू उकालो लागे; अनि दुई सयचाहिँ सामानसित बसे।
अबिगेलको बुद्धि
14 तर जवानहरूमध्ये एकजनाले नाबालकी पत्नी अबिगेललाई यसो भन्यो: “हेर्नुहोस्, दाऊदले उजाड़स्थानबाट हाम्रा मालिकलाई अभिवादन गर्नख दूतहरू पठाए; तर उहाँले त तिनीहरूको अपमान पो गर्नुभयो। 15 तर ती मानिसहरू हाम्रा निम्ति अति असल थिए, र हामी मैदानमा हुँदा जति समयसम्म तिनीहरूसँग हाम्रो आउजाउ थियो, तबसम्म हामीलाई कुनै हानि भएन, न हामीले केही थोक नै हरायौं। 16 तिनीहरू हाम्रा निम्ति रातमा पनि र दिनमा पनि पर्खाल बने – हामी तिनीहरूसित भेड़ाहरू चराउँदै रहेका सबै दिनहरूभरि। 17 यसकारण अब तपाईंले के गर्नुपर्ने हो, सो जान्नुहोस् र विचार गर्नुहोस्; किनकि हाम्रा मालिक र उहाँको सारा घरानाको विरोधमा खराबी ठहऱ्याइएको छ; किनभने उहाँ अधम मानिस हुनुहुन्छ; कसैले पनि उहाँसित कुरा गर्न सक्दैन।”
18 तब अबिगेलले हतार गरिन्, र दुई सय रोटी, दुई मशक दाखमद्य, पाँचवटा तयार पारिएका भेड़ा र पाँच सआग भुटेको अन्न, एक सय झुप्पा किसमिस र दुई सय नेभाराका केक लिएर तिनलाई गधाहरूमाथि लादिन्। 19 अनि तिनले आफ्ना नोकरहरूलाई भनिन्: “मेरो अघि-अघि जाऊ; हेर, मचाहिँ तिमीहरूको पछि-पछि आउँदैछु।” तर तिनले आफ्ना पति नाबाललाई केही भनिनन्। 20 अनि यस्तो भयो: जब तिनी गधामा चढ़ेर जाँदै थिइन् र पहाड़को आड़ लिएर तल आउँदै थिइन्, तब हेर, दाऊद र उनका मानिसहरू तिनीतिरै तल आइरहेका थिए; अनि तिनले उनीहरूलाई भेटिन्। 21 किनकि दाऊदले भनेका थिए: ‘निश्चय नै मैले व्यर्थमा त्यस मान्छेका उजाड़स्थानमा भएका सबै थोकको रक्षा गरेछु; यसरी त्यसका सबै थोकबाट केही पनि हराएन; अनि त्यसले मलाई भलाइको सट्टामा खराबी गरेको छ। 22 परमेश्वरले दाऊदका शत्रुहरूलाई त्यस्तै र त्यसभन्दा ज्यादा गरून्! तर बिहान, उज्यालो भएसम्म म त्यसका सबै थोकमध्ये एउटै नरलाईघ जीवित छोड़्नेछैनँ नै।’
23 अनि जब अबिगेलले दाऊदलाई देखिन्, तब तिनी हतार गरी गधाबाट ओर्लिन्, र दाऊदको सामु भुइँसम्म आफ्नो शीर झुकाएर तिनले दण्डवत् गरिन्; 24 अनि उनका पाउमा परेर तिनले भनिन्: “ममाथि, हे मेरा प्रभु, ममाथि यो अपराध परोस्; अनि म तपाईंलाई विन्ती गर्छु, तपाईंकी दासीले तपाईंका कानमा बोल्न पाओस्, र हजुरले तपाईंकी दासीका कुराहरू सुन्नुहोस्! 25 म तपाईंलाई विन्ती गर्छु, मेरा प्रभुले यस अधम मानिस नाबाललाई ख्याल नगरून्; किनभने जस्तो उसको नाम छ, ऊ त्यस्तै छ; नाबालङ उसको नाम हो, र ऊसँग मूर्खता छ; तर म, तपाईंकी दासीले, तपाईंले पठाउनुभएका मेरा प्रभुका जवानहरूलाई देखिनँ। 26 यसकारण अब, हे मेरा प्रभु, परमप्रभुको जीवनको शपथ र तपाईंको प्राणको शपथ! किनकि परमप्रभुले तपाईंलाई रक्तपात गर्न आउनदेखि र आफ्नो हातले आफ्नो बदला लिनदेखि रोक्नुभएको छ; यसैले अब तपाईंका शत्रुहरू र मेरा प्रभुको खराबी गर्न खोज्नेहरू नाबालजस्तै होऊन्! 27 अनि अब तपाईंकी दासीले मेरा प्रभुका निम्ति ल्याएकी यो आशिष् मेरा प्रभुको पछि-पछि आउने जवान मानिसहरूलाई दिइयोस्! 28 म तपाईंलाई विन्ती गर्छु, तपाईंकी दासीको अपराध क्षमा गर्नुहोस्; किनकि परमप्रभुले निश्चय नै मेरा प्रभुका निम्ति एउटा अटल घर बनाउनुहुनेछ; किनभने मेरा प्रभु परमप्रभुका लड़ाइँहरू लड़्नुहुन्छ, र तपाईंको जीवनभरि तपाईंमा कुनै खराबी पाइएको छैन। 29 तैपनि एउटा मानिस तपाईंको पिछा गर्न र तपाईंको प्राण लिन खोज्न उठेका छन्; तर मेरा प्रभुको प्राण त परमप्रभु तपाईंका परमेश्वरको साथमा जीवनको थैलीमा बाँधेर राखिनेछ; तर तपाईंका शत्रुहरूका प्राणहरूचाहिँ उहाँले घुयेंत्रोको बीचमा राखिएको ढुङ्गाझैं गरी घुइँक्याइपठाउनुहुनेछ। 30 अनि यस्तो हुनेछ: जब परमप्रभुले तपाईंको विषयमा भन्नुभएको सबै भलाइअनुसार मेरा प्रभुका निम्ति गर्नुहुनेछ, र तपाईंलाई इस्राएलमाथि शासकको रूपमा नियुक्त गर्नुहुनेछ; 31 तब विनाकारण रगत बगाउनुभएको वा मेरा प्रभुले आफ्नो बदला आफैले लिनुभएको कुरा तपाईंका निम्ति शोककोच कारण वा मेरा प्रभुका निम्ति हृदयको वेदनाकोछ कारण नहोस्; तर जब परमप्रभुले मेरा प्रभुसँग असल व्यवहार गर्नुहुनेछ, तब तपाईंकी दासीलाई सम्झना गर्नुहोस्!”
32 तब दाऊदले अबिगेललाई भने: “परमप्रभु इस्राएलका परमेश्वर धन्यको हुनुहुन्छ, जसले तिमीलाई आजको दिन मलाई भेट्न पठाउनुभएको छ। 33 अनि तिम्रो सुझाउ धन्य हो, र तिमी धन्यकी हौ; तिमीले आजको दिन मलाई रक्तपात गर्न आउनदेखि र आफ्नै हातले आफ्नो बदला लिनदेखि रोक्यौ। 34 किनभने परमप्रभु इस्राएलका परमेश्वरको जीवनको शपथ, जसले मलाई तिमीलाई हानि गर्नदेखि रोकिराख्नुभयो! तिमी हतार गरेर मलाई भेट्न नआएकी भए निश्चय बिहान, उज्यालो भएसम्म नाबालका निम्ति एउटै नरज पनि रहनेथिएन नै।” 35 तब दाऊदले तिनको हातबाट तिनले उनका निम्ति जे ल्याएकी थिइन्, त्यो ग्रहण गरे, र तिनलाई भने: “शान्तिसित माथि आफ्नो घर जाऊ! हेर, मैले तिम्रो कुरा सुनेको छु, र तिमीलाई ग्रहण गरेको छु।”
36 अनि अबिगेल नाबालकहाँ आइन्; अनि हेर, तिनले आफ्नो घरमा राजाको भोजझैं एउटा भोज लगाएका रहेछन्; अनि नाबालको हृदय आफूभित्र रमाइरहेको रहेछ; किनकि तिनी मातेर लट्ठ भएका थिए; यसैले उनले बिहान, उज्यालो नभएसम्म तिनलाई, थोरै वा धेरै, केही पनि बताइनन्। 37 तर बिहान यस्तो भयो: जब मदले नाबाललाई छोड्यो, र तिनकी पत्नीले तिनलाई यी कुराहरू बताइदिइन्, तब तिनको हृदय तिनीभित्रै मर्यो, र तिनी पत्थरतुल्य भए। 38 अनि दस दिनपछि यस्तो भयो: परमप्रभुले नाबाललाई प्रहार गर्नुभयो, र तिनी मरे।
अबिगेल दाऊदकी पत्नी भइन्
39 अनि जब दाऊदले नाबाल मरेको कुरा सुने, तब उनले भने: “परमप्रभु धन्यको हुनुहुन्छ, जसले नाबालको हातबाट मेरो निन्दाको मुद्दा लड़्नुभएको छ, र आफ्नो दासलाई खराबी गर्नबाट जोगाइराख्नुभएको छ; किनकि उहाँले नाबालको दुष्टता त्यसकै थाप्लोमाथि फर्काइदिनुभएको छ।” अनि दाऊदले मानिसहरू पठाए, र अबिगेलसित तिनलाई आफ्नी पत्नीको रूपमा अपनाउने विषयमा बातचित गरे। 40 अनि जब दाऊदका सेवकहरू कर्मेलमा अबिगेलकहाँ आइपुगे, तब उनीहरूले यसो भन्दै तिनीसँग बातचित गरे: “तपाईंलाई आफ्नी पत्नीको रूपमा अपनाउन दाऊदले हामीलाई तपाईंकहाँ पठाउनुभएको हो।” 41 तब तिनी उठिन्, र भुइँसम्म घोप्टो परेेर तिनले दण्डवत् गरिन्, र भनिन्: “हेर्नुहोस्, तपाईंकी दासी मेरा प्रभुका सेवकहरूका पाउ धुने दासी बनोस्!” 42 अनि अबिगेल हतारसँग उठिन् र गधामा चढ़िन्, अनि तिनका पाँचजना ठिटीहरू तिनको पछि-पछि आइरहेका थिए; अनि तिनी दाऊदका दूतहरूको पछि-पछि लागिन्, र तिनी उनकी पत्नी भइन्।