एन्-गदीको गुफामा दाऊदले शाऊललाई छोड़िदिए
24
अनि यस्तो भयो: जब शाऊल पलिस्तीहरूको पिछा गर्न छोड़ेर फर्के, तब तिनलाई यसो भनियो: “हेर्नुहोस्, दाऊद एन्-गदीको उजाड़स्थानमा छ।” 2 तब शाऊलले सारा इस्राएलबाट तीन हजार चुनिएका मानिसहरूलाई लिएर दाऊद र उनका मानिसहरूलाई खोज्न भनी जङ्गली बाख्राहरूका चट्टानहरूहुँदो गए। 3 अनि बाटोमा तिनी भेड़ा-गोठहरूमा आइपुगे, जहाँ एउटा गुफा थियो; अनि शाऊल दिसा बस्नलाईक भित्र पसे; अनि दाऊद र उनका मानिसहरूचाहिँ त्यस गुफाको भित्री भागमा बसिरहेका थिए। 4 अनि दाऊदका मानिसहरूले उनलाई भने: “हेर्नुहोस्, दिन यही हो, जसको विषयमा परमप्रभुले तपाईंलाई यसो भन्नुभएको छ: ‘हेर, तिमीलाई जस्तो असल लाग्छ, त्यस्तै तिमीले त्यससित गर भनी म तिम्रो शत्रुलाई तिम्रो हातमा सुम्पिदिनेछु।’ ” तब दाऊदले उठे, र उनले शाऊलको लबेदाको किनारा सुटुक्क काटे। 5 त्यसपछि यस्तो भयो: उनले शाऊलको लबेदाको किनारा काटेका हुनाले दाऊदको हृदयले उनलाई घोच्नख थाल्यो। 6 अनि उनले आफ्ना मानिसहरूलाई भने: “मेरा मालिकलाई अर्थात् परमप्रभुका अभिषिक्त जनलाई यस्तो गर्नु,अहँ, परमप्रभुले गरून्, कि तिनको विरोधमा आफ्नो हात उठाउनुजस्तो काम मबाट कदापि नहोस्! किनकि तिनीचाहिँ परमप्रभुका अभिषिक्त जन हुन्।” 7 अनि दाऊदले यी कुराहरूभनेर आफ्ना मानिसहरूलाई रोकिदिए र तिनीहरूलाई शाऊलको विरोधमा उठ्न दिएनन्। अनि शाऊल त्यस गुफाबाट निस्केर आफ्नो बाटो लागे।8 त्यसपछि दाऊद पनि उठेर त्यस गुफाबाट निस्के, अनि यसो भन्दै पछिबाट शाऊललाई बोलाए: “हे राजा, मेरा प्रभु!” अनि जब शाऊलले पछाड़ि फर्केर हेरे, तब दाऊदले आफ्नो अनुहार भुइँसम्म घोप्टो पारेर दण्डवत् गरे। 9 अनि दाऊदले शाऊललाई भने: “तपाईंले किन ‘हेर्नुहोस्, दाऊदले तपाईंको हानि गर्न खोज्दैछ’ भन्ने मानिसहरूका कुराहरू सुन्नुहुन्छ? 10 हेर्नुहोस्, आजको दिन तपाईंकै आँखाहरूले देखेका छन्, कसरी परमप्रभुले आज त्यस गुफाभित्र तपाईंलाई मेरो हातमा सुम्पिदिनुभएको थियो; अनि कतिले तपाईंलाई मारिदिऔं भनी विन्ती पनि गरे; तर मेरो आँखाले तपाईंलाई छोड़िदियो; अनि मैले भनें: ‘मेरा मालिकको विरोधमा म आफ्नो हात बढ़ाउनेछैनँ; किनभने उहाँ परमप्रभुका अभिषिक्त जन हुनुहुन्छ।’ 11 यसबाहेक, मेरा पिताजी, हेर्नुहोस्, हो, मेरो हातमा तपाईंको लबेदाको किनारा हेर्नुहोस्! किनकि मैले तपाईंको लबेदाको किनारा काटें, तर तपाईंलाई चाहिँ मैले मारिनँ – यसैबाट जान्नुहोस्, र बुझ्नुहोस् कि मेरो हातमा न कुनै खराबी छ, न कुनै अपराध नै छ, अनि मैले तपाईंको विरोधमा पाप गरेको छैनँ; तर पनि तपाईंचाहिँ मेरो प्राण लिनलाई त्यसको शिकार नै गर्दै हुनुहुन्छ। 12 परमप्रभुले मेरो र तपाईंको बीचमा न्याय गरून्; अनि परमप्रभुले नै तपाईंबाट मेरो बदला लिऊन्; तर मेरो हात तपाईंमाथि उठ्नेछैन। 13 जसरी प्राचीनहरूको उखानले भन्दछ: ‘दुष्टहरूबाट दुष्टता निस्कन्छ’; तर मेरो हातचाहिँ तपाईंमाथि उठ्नेछैन। 14 कसको पछि इस्राएलका राजा निस्केर आउनुभएको छ? तपाईं कसको पिछा गर्दै हुनुहुन्छ? एउटा मरेको कुकुरको पिछा! एउटा उपियाँको पिछा! 15 यसकारण परमप्रभु नै न्यायकर्ता होऊन्, अनि मेरो र तपाईंको बीचमा न्याय गरून्, हेरून्, मेरो मुद्दा लड़ून् र मलाई तपाईंको हातबाट छुटकारा दिऊन्!”
16 अनि यस्तो भयो: जब दाऊदले शाऊललाई यी कुराहरू भनेर सिद्ध्याए, तब शाऊलले भने: “हे मेरा छोरा दाऊद, के यो तिम्रो सोर हो?” अनि शाऊल आफ्नो सोर उचालेर रोए। 17 अनि तिनले दाऊदलाई भने: “तिमी मभन्दा धर्मी छौ; किनकि तिमीले बदलामा मलाई भलाइ गरेका छौ, तर मैले चाहिँ बदलामा तिमीलाई खराबी गरेको छु। 18 अनि तिमीले मसित कस्तो असल व्यवहार गरेका छौ, सो आज तिमीले देखाएका छौ; किनभने परमप्रभुले मलाई तिम्रो हातमा सुम्पिदिनुभयो, तर तिमीले मलाई मारेनौ। 19 किनकि कुनै मानिसले आफ्नो शत्रुलाई फेला पार्यो भने के उसले त्यसलाई शान्तिसित आफ्नो बाटो जान दिन्छ र? यसैकारण तिमीले मलाई आजको दिनमा जे गरेका छौ, त्यसको सट्टामा परमप्रभुले तिमीलाई भलाइ गरून्! 20 अनि अब हेर, म राम्ररी जान्दछु कि तिमी निश्चय राजा हुनेछौ, र तिम्रै हातमा इस्राएलको राज्य स्थापित हुनेछ। 21 यसकारण अब परमप्रभुको नाममा तिमीले मपछि मेरो वंशलाई नाश गर्नेछैनौ र मेरा बुबाको घरानाबाट मेरो नाम मेटाइदिनेछैनौ भनी मसँग शपथ खाऊ!” 22 अनि दाऊदले शाऊलसँग शपथ खाए; अनि शाऊल आफ्नो घर गए; तर दाऊद र उनका मानिसहरू गढ़ीतिर उकालो लागे।