दाऊदले कैला शहर बचाए
23
तब तिनीहरूले दाऊदलाई यसो भन्दै सुनाए: “हेर, पलिस्तीहरू कैलाको विरोधमा लड़ाइँ गर्दैछन्, र तिनीहरूले खलाहरू लुट्दैछन्।” 2 यसकारण दाऊदले यसो भन्दै परमप्रभुलाई सोधखोज गरे: “के म गएर ती पलिस्तीहरूलाई प्रहार गरूँ?” अनि परमप्रभुले दाऊदलाई भन्नुभयो: “जाऊ, ती पलिस्तीहरूलाई प्रहार गर, र कैलालाई बचाऊ!” 3 अनि दाऊदका मानिसहरूले उनलाई भने: “हेर्नुहोस्, हामी यहाँ यहूदामा डराउँछौं; तब हामी कैलामा पलिस्तीहरूका सेनाहरूको विरोधमा गयौं भने झन् कति बढ़्ता डराऔैंला?” 4 तब दाऊदले फेरि पनि परमप्रभुलाई सोधखोज गरे। अनि परमप्रभुले उनलाई जवाफ दिएर भन्नुभयो: “उठ, तल कैलामा जाऊ; किनकि म पलिस्तीहरूलाई तिम्रो हातमा सुम्पिदिनेछु।” 5 तब दाऊद र उनका मानिसहरू कैलामा गएर पलिस्तीहरूसँग लड़ाइँ गरे, र तिनीहरूका गाईबस्तुहरू लगे, अनि ठूलो काटमार गरेर तिनीहरूलाई घात गरे। यसरी दाऊदले कैलाका बासिन्दाहरूलाई बचाए। 6 अनि यस्तो भयो: अहिमेलेकका छोरा अबियातार कैलामा दाऊदकहाँ भागेर जाँदा तिनले आफ्नो हातमा एपोद लिएर तल आए।शाऊलबाट भाग्दै गरेका दाऊद जिफको उजाड़स्थानमा
7 तब दाऊद कैलामा आएका छन् भनी शाऊललाई सुनाइयो। अनि शाऊलले भने: “परमेश्वरले त्यसलाई मेरो हातमा सुम्पिदिनुभएको रहेछ; किनकि मूलढोकाहरू र आग्लाहरू भएको शहरभित्र पसेर त्यो थुनिएको छ।” 8 अनि शाऊलले लड़ाइँ गर्नलाई तल कैलामा जान अनि दाऊद र उनका मानिसहरूलाई घेरामा हाल्न भनी सबै मानिसहरूलाई भेला गरे। 9 तर दाऊदले आफ्नो विरोधमा शाऊलले गुप्तमा खराबी रचेका छन् भनी जाने; अनि उनले पूजाहारी अबियातारलाई भने: “एपोद यहाँ ल्याऊ!” 10 तब दाऊदले भने: “हे परमप्रभु इस्राएलका परमेश्वर, मेरो कारणले शाऊल कैलामा, त्यो शहर नाश गर्नलाई आउन खोजिरहेछन् भनी तपाईंको दासले पक्का गरी सुनेको छ। 11 के कैलाका मानिसहरूले मलाई तिनको हातमा सुम्पिदिनेछन्? के तपाईंको दासले सुनेअनुसार शाऊल तल आउनेछन्? हे परमप्रभु इस्राएलका परमेश्वर, म तपाईंलाई विन्ती गर्छु, तपाईंको दासलाई बताइदिनुहोस्!” अनि परमप्रभुले भन्नुभयो: “ऊ तल आउनेछ।” 12 तब दाऊदले भने: “के कैलाका मानिसहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलको हातमा सुम्पिदिनेछन्?” अनि परमप्रभुले भन्नुभयो: “तिनीहरूले तिमीलाई सुम्पिदिनेछन्।” 13 तब दाऊद र उनका मानिसहरू, जो प्राय: छ सय थिए, उठेर कैलाबाट हिँड़े, र तिनीहरू जहाँ जान सके, त्यतै गए। अनि दाऊद कैलाबाट उम्किसके भनी शाऊललाई बताइयो; तब तिनले निस्केर जाने क्रमलाई छोड़े।
14 अनि दाऊद उजाड़स्थानका गढ़ीहरूमा बसे, र जिफको उजाड़स्थानमा पहाड़तिर बसे। अनि शाऊलले उनलाई प्रतिदिन खोजे, तर परमेश्वरले उनलाई तिनको हातमा सुम्पिदिनुभएन। 15 अनि दाऊदले शाऊल उनको प्राण लिन निस्केर आएका छन् भनी बुझे; अनि दाऊद जिफको उजाड़स्थानको बनमा थिए। 16 अनि शाऊलका छोरा योनातान उठेर बनमा दाऊदकहाँ गए, र उनको हात परमेश्वरमा बलियो बनाइदिए। 17 अनि तिनले उनलाई भने: “नडराऊ; किनकि मेरा बुबा शाऊलको हातले तिमीलाई फेला पार्नेछैन; अनि तिमी इस्राएलमाथि राजा हुनेछौ, र मचाहिँ तिम्रो पछि दोस्रो हुनेछु; अनि यो कुरा मेरा पिता शाऊलले पनि जान्नुहुन्छ।” 18 अनि ती दुईजनाले परमप्रभुको सामु एउटा वाचा बाँधे; अनि दाऊद बनमा बसिरहे, र योनातान आफ्नो घर गए।
19 तब जिफीहरू यसो भन्दै गिबामा शाऊलकहाँ आए: “के दाऊद हामीसित यशिमोनको दक्षिणपट्टि पर्ने हकीलाको डाँड़ामा त्यस बनका गढ़ीहरूमा लुकेको छैन र? 20 यसकारण अब हे राजा, तल आउने आफ्नो मनको सम्पूर्ण इच्छाअनुसार तल आउनुहोस्! अनि उसलाई राजाको हातमा सुम्पिदिनुचाहिँ हाम्रो काम हो।” 21 अनि शाऊलले भने: “परमप्रभुबाट तिमीहरू धन्यका होओ; किनकि तिमीहरूले ममाथि दया देखायौ! 22 जाओ, म तिमीहरूलाई विन्ती गर्छु, अझै बढ़ी तयारी गर! अनि त्यसको ठाउँ, जहाँ त्यो आउजाउ गर्छ, र कसले त्यसलाई त्यहाँ देखेको छ, सो थाहा गर, र बुझ; किनभने त्यो अति धूर्त छ भनी मलाई भनिएको छ। 23 यसकारण ती सबै लुक्ने ठाउँहरूको विषयमा, जहाँ-जहाँ त्यो लुक्छ, बुझ र थाहा गर, अनि निश्चित भएर फेरि मकहाँ आओ; तब म तिमीहरूसित जानेछु; अनि यस्तो हुनेछ: त्यो त्यस मुलुकमा छ भने यहूदाका सबै हजारौंबाट म त्यसलाई खोजिनिकाल्नेछु।”
24 तब तिनीहरू उठे, र शाऊलको अघिबाट जिफतिर गए; तर दाऊद र उनका मानिसहरू यशिमोनको दक्षिणपट्टि भएको अराबामा माओनको उजाड़स्थानमा थिए। 25 अनि शाऊल र तिनका मानिसहरू उनलाई खोज्न हिँड़े। अनि तिनीहरूले दाऊदलाई बताइदिए; यसैले उनी तल झरेर त्यस चट्टानमा आए, र माओनको उजाड़स्थानमा बसे। अनि जब शाऊलले त्यो सुने, तब तिनले माओनको उजाड़स्थानहुँदो दाऊदको पिछा गरे। 26 अनि शाऊल त्यस पहाड़को यतापट्टिबाट गए; अनि दाऊद र उनका मानिसहरू पहाड़को उतापट्टिबाट गए; अनि शाऊलको उपस्थितिबाट भाग्न दाऊदले हतार गरे; किनकि शाऊल र तिनका मानिसहरूले दाऊद र उनका मानिसहरूलाई पक्रन भनी उनीहरूलाई चारैतिर घेरा हालेका थिए। 27 तर एकजना दूत यसो भन्दै शाऊलकहाँ आयो: “हतार गर्नुहोस्, र आउनुहोस्; किनकि पलिस्तीहरूले देशलाई आक्रमण गरेका छन्।” 28 यसकारण शाऊल दाऊदको पिछा गर्न छोड़ेर फर्के र पलिस्तीहरूको विरोधमा हिँड़िहाले; यसैले तिनीहरूले त्यस ठाउँको नाम सेला-हम्-मख्लेकोतक राखे। 29 अनि दाऊद त्यहाँबाट माथि गए, र एन्गदीका गढ़ीहरूमा बस्न लागे।