दाऊद अदुल्लामको गुफामा
22
तब दाऊद त्यहाँबाट हिँड़े, अनि अदुल्लामको गुफामा उम्केर गए; अनि जब उनका दाजुहरू र उनका बुबाको सारा घरानाले यो सुने, तब तिनीहरू त्यहाँ तल उनीकहाँ गए। 2 अनि हरेक जो सङ्कटमा परेको थियो, र हरेक जो ऋणमा परेको थियो, र हरेक जो असन्तुष्ट थियो, तिनीहरू सबै उनीकहाँ भेला भए; अनि उनी तिनीहरूका कप्तान भए; अनि उनीसँग प्राय: चार सय मानिसहरू थिए। 3 अनि दाऊद त्यहाँबाट मोआबको मिस्पामा गए; अनि उनले मोआबका राजालाई भने: “म तपाईंलाई विन्ती गर्दछु, परमेश्वरले मेरा निम्ति के गर्नुहुनेछ, सो मैले थाहा नपाउन्जेल मेरा पिता र मेरी माता निस्केर यहाँ आऊन्, र तपाईंहरूसँग रहून्!” 4 अनि उनले उनीहरूलाई मोआबका राजाको सामु ल्याए; अनि उनीहरू दाऊद गढ़ीमा जति दिन रहे, त्यति दिनसम्म तिनीसित बसे। 5 अनि भविष्यवक्ता गादले दाऊदलाई भने: “त्यस गढ़ीमा नबस; निस्क, र यहूदा देशमा जाऊ!” तब दाऊद गएर हारेतको बनमा आए।शाऊलले नोबका पूजाहारीहरूलाई मारे
6 जब दाऊद र उनीसित भएका मानिसहरू देखा परे भनी शाऊलले सुने, (त्यस घड़ी शाऊल गिबाको रामामा एउटा रूखमुनि आफ्नो भाला आफ्नो हातमा लिएर बसिरहेका थिए, र तिनका सबै नोकरहरू तिनको वरिपरि उभिरहेका थिए); 7 तब शाऊलले आफ्नो वरिपरि उभिएका आफ्ना नोकरहरूलाई भने: “हे बिन्यामिनीहरूहो, अब सुन! के यिशाईको छोराले तिमीहरू हरेकलाई जमिनहरू र दाखबारीहरू देला, अनि तिमीहरू सबैलाई हजारौंका कप्तान र सयौंका कप्तान बनाउला; 8 किनकि तिमीहरू सबैले मेरो विरोधमा षड़्यन्त्र रचेका छौ, र मेरो छोराले यिशाईको छोरासित वाचा बाँधेको छ भनेर मलाई बताउने कोही पनि छैन, अनि तिमीहरूमध्ये कोही पनि मेरा निम्ति दुःखित हुँदैनौ; किनकि कसैले पनि मेरो छोराले मेरै नोकरलाई सुर्याएर मेरो विरुद्ध ढुकेर बस्न लगाएको कुरा मलाई बताउँदैन, जस्तो आजको दिनमा भइरहेछ।” 9 तब शाऊलका नोकरहरूमाथि अधिकारी ठहऱ्याइएको एदोमी दोएगले जवाफ दिएर भन्यो: “मैले यिशाईको छोरालाई नोबमा अहितूबका छोरा अहिमेलेककहाँ आइरहेको देखें। 10 अनि तिनले उसका निम्ति परमप्रभुलाई सोधखोज गरे, उसलाई खानेकुरा दिए र उसलाई त्यस पलिस्ती गोल्यतको तरवार दिए।”
11 तब राजाले अहितूबका छोरा, पूजाहारी अहिमेलेकलाई र उनका बुबाको घरानाका सबैजनालाई अर्थात् नोबमा भएका पूजाहारीहरूलाई बोलाउन पठाए; अनि उनीहरू सबैजना राजाकहाँ आए। 12 अनि शाऊलले भने: “हे अहितूबका छोरा, अब सुन!” अनि उनले जवाफ दिए: “मेरा प्रभु, म यहाँ छु!” 13 तब शाऊलले उनलाई भने: “तिमीहरूले किन मेरो विरोधमा षड़्यन्त्र रच्यौ – तिमी र यिशाईको छोराले? किनकि तिमीले उसलाई रोटी र एउटा तरवार दियौ, र उसका निम्ति परमप्रभुलाई सोधखोज गर्यौ, त्यो मेरो विरोधमा उठेर ढुकेर बसोस् भनेर, जस्तो आजको दिनमा भइरहेछ?” 14 तब अहिमेलेकले राजालाई जवाफ दिएर भने: “अनि तपाईंका सबै दासहरूमध्ये दाऊदजस्तो विश्वासयोग्य को छ र? जो राजाका ज्वाइँ हुन्, तपाईंको हुकुमअनुसार जान्छन्, र तपाईंको घरमा आदरणीय छन्। 15 अनि के मैले त्यस दिनमै उनका निम्ति परमेश्वरलाई सोधखोज गर्न शुरु गरें, हो र? मबाट यस्तो कदापि हुँदैन; राजाले आफ्नो दासमाथि र मेरा बुबाको सारा घरानामाथि कुनै कुरामा दोष नलगाऊन्! किनभने तपाईंको दासले यी सबै कुराको विषयमा थोरै वा धेरै केही पनि जान्दैन।”
16 तब राजाले भने: “अहिमेलेक, तिमी निश्चय मर्नेछौ – तिमी र तिम्रा बुबाको सारा घराना।” 17 अनि राजाले आफ्नो वरिपरि उभिएका पैदल सिपाहीहरूलाई भने: “त्यता फर्क, र परमप्रभुका पूजाहारीहरूलाई मार! किनकि तिनीहरूको हात पनि दाऊदसित छ; अनि त्यो भागेको तिनीहरूले जानेर पनि मलाई यो कुरा बताएनन्।” तर राजाका नोकरहरूले परमप्रभुका पूजाहारीहरूमाथि जाइलाग्नलाई आफ्नो हात बढ़ाउन चाहेनन्। 18 तब राजाले दोएगलाई भने: “तिमी त्यता फर्क, र ती पूजाहारीहरूमाथि जाइलाग!” अनि एदोमी दोएग त्यतातिर फर्क्यो र ती पूजाहारीहरूमाथि जाइलाग्यो; अनि त्यस दिन त्यसले मलमलको एपोद लाउने पचासीजना पुरुषहरूलाई मार्यो। 19 अनि पूजाहारीहरूको शहर नोब, पुरुष र स्त्रीहरूलाई, बालकबालिका र दूध चुस्ने बालबच्चाहरूलाई, साथै गोरुहरू, गधाहरू र भेड़ाबाख्राहरूलाई त्यसलेक तरवारको धारले मार्यो, तरवारको धारले घात गर्यो।
20 अनि अहितूबका छोरा अहिमेलेकका छोराहरूमा अबियातार नाम भएका एकजना उम्के, र दाऊदको पछि भागे। 21 अनि अबियातारले दाऊदलाई शाऊलले परमप्रभुका पूजाहारीहरूलाई मारेको कुरा बताइदिए। 22 तब दाऊदले अबियातारलाई भने: “एदोमी दोएग त्यहाँ हुनाले त्यसले शाऊललाई निश्चय बताउनेछ भन्ने कुरा मलाई त्यही दिन थाहा भएको थियो; तिम्रा बुबाको घरानाका सबै मानिसहरूको मृत्युको कारण म नै भएँ। 23 मसँग बस, नडराऊ! किनकि जसले मेरो प्राण लिन खोज्दैछन्, तिनले तिम्रो पनि प्राण लिन खोज्दैछन्; तर मसँग तिमी सुरक्षित रहनेछौ।”