दाऊदले पूजाहारी अहिमेलेकको सहायता पाए
21
तब दाऊद नोबमा पूजाहारी अहिमेलेककहाँ आए; अनि दाऊदसँग भेट हुँदा अहिमेलेक डराए, र उनलाई भने: “तपाईं किन एकलै हुनुहुन्छ, र तपाईंसँग कोही पनि छैन?” 2 अनि दाऊदले पूजाहारी अहिमेलेकलाई भने: “राजाले मलाई एउटा काममा खटाउनुभएको छ, र मलाई ‘जुन कामका निम्ति मैले तिमीलाई पठाएको छु, र जे मैले तिमीलाई आज्ञा दिएको छु, त्यस विषयमा कसैले केही थाहा नपाओस्’ भनी भन्‍नुभएको छ; अनि मैले आफ्ना जवान मानिसहरूलाई फलानो ठाउँमा राखेको छु। 3 यसकारण अब तपाईंको हातमा के छ? पाँचवटा रोटी अथवा जे भेटिन्छ, त्यही मेरो हातमा दिनुहोस्!” 4 अनि ती पूजाहारीले दाऊदलाई जवाफ दिएर भने: “मेरो हातमा कुनै साधारण रोटी छैन, तर यी जवान मानिसहरूले आफूलाई स्त्रीहरूदेखि मात्र पनि अलग राखेका छन् भने यहाँ पवित्र रोटी त छ।” 5 अनि दाऊदले ती पूजाहारीलाई जवाफ दिएर तिनलाई भने: “निश्‍चय स्त्रीहरू हामीबाट अलग राखिएका छन् – ती बितेका दिनहरूमा जस्तै, जब यात्रा साधारण मात्र भए पनि म निस्कन्थें, र यी जवान मानिसहरूका शरीर पवित्र हुन्थे; झन् बढ़्‍ता गरी आज तिनीहरू शरीरमा पवित्र हुन्छन् नै।” 6 तब ती पूजाहारीले उनलाई पवित्र रोटी दिए; किनभने भेटीका रोटीबाहेक त्यहाँ अरू कुनै रोटी थिएन; रोटीहरू हटाइने दिनमा ताता रोटीहरू राख्‍नलाई ती परमप्रभुको सामुबाट हटाइएका थिए। 7 अब त्यस दिन शाऊलका नोकरहरूमध्ये कुनै एकजना मानिस त्यहाँ थियो, जसको नाम एदोमी दोएग थियो; त्यो शाऊलका गोठालाहरूको प्रमुख थियो; त्यो परमप्रभुको सामु रोकिएर बसेको थियो। 8 अनि दाऊदले अहिमेलेकलाई भने: “के तपाईंको हातमा यहाँ कुनै भाला वा तरवार छैन? किनकि मैले न मेरो तरवार, न मेरा हतियारहरू साथमा ल्याएको छु; किनभने राजाको काम आतुरी थियो।” 9 अनि ती पूजाहारीले भने: “तपाईंले एलाको बेंसीमा मार्नुभएको त्यस पलिस्ती गोल्यतको तरवार – हेर्नुहोस्, त्यो यहाँ एपोदको पछाड़ि लुगामा बेह्रिएको छ; तपाईंले त्यो लिन चाहनुभयो भने त्यो लैजानुहोस्! किनभने त्यसबाहेक यहाँ अरू कुनै पनि छैन।” अनि दाऊदले भने: “त्योजस्तो अरू केही छैन; त्यो मलाई दिनुहोस्!”
दाऊद गातमा
10 अनि दाऊद उठे, र त्यस दिन शाऊलको डरले भागे, र गातका राजा आकिशकहाँ गए। 11 अनि आकिशका नोकरहरूले तिनलाई भने: “के यिनी त्यस देशका राजा दाऊद होइनन् र? के तिनीहरूले यिनको विषयमा नाच्दै एक-अर्कालाई यसो भन्दै गाएनन् र? ‘शाऊलले आफ्ना हजारौंलाई मारे, तर दाऊदले आफ्ना लाखौंलाई मारे।’ ” 12 तब दाऊदले यी कुराहरू आफ्नो हृदयमा राखे, र गातका राजा आकिशसित साह्रै डराए। 13 अनि उनले तिनीहरूको अघि आफ्नो चाल बदली गरे, तिनीहरूको हातमा आफू पागल भएको बहाना गरे, मूलढोकाका दैलाहरूमा कोरे र आफ्नो थुक आफ्नो दाह्रीमा बहाए। 14 तब आकिशले आफ्ना नोकरहरूलाई भने: “हेर, त्यो मान्छे पागल हो भनी तिमीहरूले देखिरहेछौ; तब किन तिमीहरूले त्यसलाई मकहाँ ल्यायौ? 15 के मलाई पागलहरूको खाँचो छ, र तिमीहरूले त्यसलाई मेरो उपस्थितिमा पागलपना देखाउन ल्यायौ? के यो मानिस मेरो भवनमा आओस्?”