योनातान र दाऊद
20
अनि दाऊद रामाको नैयोतबाट भागे, र आएर योनातानको सामु भने: “मैले के गरेको छु? मेरो अपराध के हो र तिम्रा बुबाको सामु मेरो पाप के हो, र उहाँले मेरो प्राण लिन खोज्दै हुनुहुन्छ?” 2 अनि तिनले उनलाई भने: “होइन, तिमी कदापि मर्नेछैनौ; हेर, मेरा पिताले मलाई प्रकट नगरीकन ठूलो वा सानो कुनै कुरा गर्नुहुनेछैन; अनि यो कुरा मेरा पिताले मबाट किन लुकाउनुहुनेथियो त? यो यस्तो होइन।” 3 अनि दाऊदले अझ शपथ खाएर भने: “मैले तिम्रो दृष्‍टिमा दया पाएको छु भनी तिम्रा बुबाले निश्‍चय जान्‍नुहुन्छ; अनि उहाँले भन्‍नुहुन्छ: ‘योनातानले यो थाहा नपाओस्, नत्र ऊ दुःखित हुनेछ’, तर परमप्रभुको जीवनको शपथ र तिम्रो जीवनको शपथ! म र मृत्युको बीचको अन्तर एक कदम मात्र छ।” 4 त्यसपछि योनातानले दाऊदलाई भने: “तिम्रो मनले जे चाहन्छ, म तिम्रा निम्ति त्यही गर्नेछु।” 5 अनि दाऊदले योनातानलाई भने: “हेर, भोलि औंसी हो, र भोजन गर्दा राजासँग बस्‍न मैले चुक्नुहुँदैन; तर मलाई जान देऊ, र म तेस्रो दिनको साँझसम्म मैदानमा लुक्नेछु। 6 तिम्रा बुबाले कहीं मेरो अनुपस्थितिको ख्याल गर्नुभयो भने भनिदेऊ: ‘दाऊदले आफ्नो शहर बेतलेहेमतिर दगुर्न पाऊँ भनी मबाट यत्‍नसित बिदा माग्यो; किनकि त्यहाँ सारा घरानाका निम्ति वार्षिक बलिदान रहेछ।’ 7 यदि उहाँले यसरी ‘ठीक छ’ भन्‍नुभयो भने तिम्रो दासलाई शान्ति हुनेछ; तर उहाँ साह्रै क्रोधित हुनुभयो भने उहाँको तर्फबाट खराबी निश्‍चय गरिएको छ भनी जान! 8 यसैले आफ्नो दाससँग दयाले व्यवहार गरिदेऊ; किनकि तिमीले आफ्नो दासलाई आफूसित परमप्रभुको वाचाले बाँधेका छौ; तैपनि ममा केही अपराध भए, तिमी आफैले मलाई मार! तिमी किन मलाई आफ्ना बुबाकहाँ पुर्‍याउँछौ?” 9 अनि योनातानले भने: “तिम्रा निम्ति यो कुरा कदापि नहोस्; किनभने यदि मेरा पिताको तर्फबाट तिमीमाथि खराबी आउने कुरा निश्‍चय गरिएको छ भनी मैले पक्‍का गरी जानेको भए के म तिमीलाई यो बताउनेथिइनँ र?” 10 तब दाऊदले योनातानलाई भने: “कसले मलाई बताउला? अथवा तिम्रा बुबाले तिमीलाई रूखो जवाफ दिनुभयो भने के?” 11 अनि योनातानले दाऊदलाई भने: “आऊ, हामी मैदानमा जाऔं!” अनि उनीहरू दुवैजना मैदानतिर गए।
12 अनि योनातानले दाऊदलाई भने: “परमप्रभु इस्राएलका परमेश्‍वर नै साक्षी होऊन्! भोलि लगभग यही समयमा वा पर्सि म मेरा पितालाई छाम्‍नेछु; अनि हेर, त्यहाँ दाऊदप्रति भलाइ रहेछ भने, र मैले तिमीकहाँ मान्छे पठाइनँ र तिमीलाई बताइनँ भने, 13 परमप्रभुले योनातानलाई त्यस्तै र त्यसभन्दा ज्यादा गरून्! तर मेरा पितालाई तिमीप्रति खराबी गर्न नै असल लाग्छ भने म तिमीलाई यो कुरा बताउनेछु, र तिमीलाई पठाइदिनेछु, र तिमी शान्तिसित जाऊ; अनि परमप्रभु तिम्रो साथमा रहून्, जसरी उहाँ मेरा पिताको साथमा रहनुभएको छ! 14 अनि म नमरूँ भनेर तिमीले ममाथि परमप्रभुको दया म अझ जीवित रहँदा मात्र नदेखाऊ! 15 तर मेरो घरानाबाट तिमीले सधैंका निम्ति आफ्नो दया नहटाइदेऊ! अँ, त्यस बेला पनि, जब परमप्रभुले दाऊदका शत्रुहरूलाई पृथ्वीको सतहबाट एक-एक गरी नाश पार्नुहुन्छ।” 16 यसरी योनातानले दाऊदको घरानासँग यसो भन्दै एउटा वाचा बाँधे: ‘परमप्रभुले नै दाऊदका शत्रुहरूको हातबाट यसको लेखा लिऊन्!’ 17 अनि योनातानले दाऊदलाई फेरि शपथ खान लगाए; किनकि तिनले उनलाई प्रेम गर्थे; किनभने तिनले उनलाई आफ्नै प्राणलाई झैं प्रेम गर्थे।
18 तब योनातानले दाऊदलाई भने: “भोलि औैंसी हो; अनि तिम्रो अनुपस्थितिको खट्को लाग्‍नेछ; किनकि तिम्रो आसन खालि रहनेछ। 19 अनि तीन दिन बसेपछि तिमी छिट्टै तल झर, र जुन ठाउँमा काम हुँदा तिमी लुकेका थियौ, त्यसै ठाउँमा आऊ; अनि एजेलको ढुङ्गाको नजिक बस! 20 अनि मानूँ कुनै निशानमा ताकेर हानेझैं गरी म त्यसैको छेउमा तीनवटा काँड़ हान्‍नेछु। 21 अनि हेर, म एउटा केटालाई यसो भन्दै पठाउनेछु: ‘जा, र ती काँड़हरू भेट्टा!’ यदि मैले त्यस केटालाई ‘हेर्, ती काँड़हरू तेरो यतापट्टि छन्; तिनलाई उठा!’ भनेर मैले स्पष्‍ट गरी भनें भने तिमी आऊ; किनकि परमप्रभुको जीवनको शपथ! तिम्रा निम्ति शान्ति छ, र कुनै हानि हुँदैन। 22 तर यदि मैले ‘हेर्, ती काँड़हरू तेरो पल्‍लोपट्टि छन्’ भनी त्यस जवान मानिसलाई भनें भने तिमी आफ्नो बाटो लाग; किनभने परमप्रभुले तिमीलाई पठाउनुभएको हो। 23 अनि तिमीले र मैले बातचित गरेको विषयमा चाहिँ – हेर, परमप्रभु सधैंभरि तिम्रो र मेरो बीचमा होऊन्!”
24 तब दाऊद मैदानमा लुके; अनि जब औैंसी आयो, तब राजा भोजन गर्न बसे। 25 अनि राजा अरू बेलामा झैं आफ्नो आसनमा, पर्खालपट्टिको आसनमा बसे; अनि योनातान खड़ा भए, र अब्‍नेर शाऊलको छेउमा बसे, अनि दाऊदको ठाउँ खालि रह्‍यो। 26 तर त्यस दिन शाऊलले केही भनेनन्; किनकि तिनले सोचे: ‘दाऊदमाथि केही हुन गएको छ होला; यसैले ऊ शुद्ध छैन; निश्‍चय ऊ शुद्ध छैन।’ 27 अनि भोलिपल्ट अर्थात् त्यस महिनाको दोस्रो दिनमा यस्तो भयो: दाऊदको ठाउँ खालि थियो; अनि शाऊलले आफ्ना छोरा योनातानलाई भने: “के कारणले यिशाईको छोरो हिजो पनि र आज पनि भोजन गर्न आएन?” 28 अनि योनातानले शाऊललाई जवाफ दिए: “दाऊदले मबाट बेतलेहेम जान यत्‍नसित बिदा माग्यो। 29 अनि उसले भन्यो: ‘म तपाईंलाई विन्‍ती गर्छु, मलाई जान दिनुहोस्, किनभने शहरमा हाम्रो परिवारको बलिदान छ; र मेरा दाजुले मलाई भइदिने आज्ञा गर्नुभएको छ; अनि अब, तपाईंको दृष्‍टिमा मैले दया पाएको छु भने, म तपाईंलाई विन्‍ती गर्छु, मलाई जान, र मेरा दाजुहरूलाई भेट्न दिनुहोस्!’ यही कारणले ऊ राजाको टेबलमा आउँदैन।” 30 तब शाऊलको रिस योनातानको विरोधमा दन्कियो, र तिनले उनलाई भने: “तँ टेढ़ी र विद्रोही स्त्रीको छोरो! तैंले यिशाईको छोरालाई आफ्नै शर्म र तेरी आमाको नाङ्गोपनको शर्मका निम्ति चुनेको छस् भन्‍ने कुरा के मलाई थाहा छैन र? 31 किनकि जबसम्म यिशाईको छोरो धरतीमाथि जीवित रहला, तबसम्म न तँ स्थापित हुनेछस्, न तेरो राज्य नै। यसैले अब मान्छे पठाएर त्यसलाई मकहाँ ले; किनभने त्यो निश्‍चय मर्नैपर्छ।” 32 अनि योनातानले आफ्ना बुबा शाऊललाई जवाफ दिएर तिनलाई भने: “ऊ मारिनुपर्ने के कारण छ? उसले के गरेको छ?” 33 अनि शाऊलले उनलाई हिर्काउन भनी उनीमाथि भाला हाने; तब उनका बुबाको तर्फबाट दाऊदलाई मार्ने निश्‍चय गरिएको रहेछ भनी योनातानले थाहा पाए। 34 तब योनातान रिसले चूर भएर टेबलबाट उठे, अनि त्यस महिनाको दोस्रो दिन केही भोजन खाएनन्; किनभने उनी दाऊदका निम्ति दुःखित थिए, किनकि उनका बुबाले उनलाई शर्ममा पारेका थिए।
35 अनि बिहान यस्तो भयो: दाऊदसँग ठहऱ्याइएको समयमा योनातान मैदानमा निस्के, र एउटा सानो केटा तिनको साथमा थियो। 36 अनि तिनले आफ्नो केटालाई भने: “दगुर्, मैले हानिरहेका काँड़हरू भेट्टा!” अनि जब त्यो केटा दगुर्‍यो, तब तिनले एउटा काँड़ त्यसलाई नाघेर पल्‍लोपट्टि हानिपठाए। 37 अनि जब त्यो केटा योनातानले हानेको काँड़ भएको ठाउँमा पुग्यो, तब योनातानले त्यस केटालाई पछिबाट बोलाएर भने: “के त्यो काँड़ तँदेखि पल्‍लोपट्टि छैन र?” 38 अनि योनातानले त्यस केटालाई पछिबाट बोलाएर भने: “छिटो गर्, हतार गर्, नअड़ी!” अनि योनातानको केटाले ती काँड़हरू टिप्यो, र आफ्नो मालिककहाँ आयो। 39 तर त्यस केटाले केही कुरा बुझेन; योनातान र दाऊदले मात्र त्यो कुरा बुझे। 40 अनि योनातानले आफ्ना हतियारहरू आफ्नो केटालाई दिएर त्यसलाई भने: “जा, यिनलाई शहरमा लैजा!” 41 अनि त्यो केटा जानेबित्तिकै दाऊद दक्षिणपट्टिबाट उठेर आए, भुइँसम्‍म घोप्‍टो परे र तीनपल्‍ट दण्‍डवत्‌ गरे; अनि उनीहरूले एक-अर्कालाई चुम्बन गरे, र एक-अर्कासित रोए; दाऊदचाहिँ बढ़ी रोए। 42 अनि योनातानले दाऊदलाई भने: “शान्तिसित जाऊ; किनभने हामी दुवैले परमप्रभुको नाममा यसो भन्दै शपथ खाएका छौं: ‘परमप्रभु म र तिम्रो बीचमा, साथै मेरो वंश र तिम्रो वंशको बीचमा सधैंका निम्ति रहिरहून्!’ ” तब उनी उठेर हिँड़े; अनि योनातान शहरतिर लागे।