दाऊदप्रति शाऊलको घृणा
19
अनि शाऊलले आफ्ना छोरा योनातानलाई र आफ्ना सबै कर्मचारीहरूलाई ‘दाऊदलाई मार्नुपर्छ’ भनी भने। 2 तर शाऊलका छोरा योनातान दाऊदसँग साह्रै प्रसन्‍न थिए; अनि योनातानले दाऊदलाई यसो भने: “मेरा पिता शाऊलले तिमीलाई मार्न खोज्दै हुनुहुन्छ; यसकारण अब, म तिमीलाई विन्‍ती गर्दछु, तिमी बिहानसम्म आफ्नो विषयमा होशियार रह, एउटा गुप्‍त स्थानमा बस र आफूलाई लुकाऊ! 3 अनि म निस्केर जानेछु, र खुला जमिनमा, जहाँ तिमी छौ, मेरा पिताको छेउमा उभिनेछु, र तिम्रो विषयमा मेरा पितासँग कुरा गर्नेछु; अनि जे म देख्‍नेछु, त्यो म तिमीलाई बताउनेछु।” 4 अनि योनातानले आफ्ना पिता शाऊललाई दाऊदको विषयमा राम्रो कुरा गरे, र तिनलाई भने: “राजाले आफ्नो दासको विरोधमा – दाऊदको विरोधमा पाप नगरून्; किनकि उसले तपाईंको विरोधमा पाप गरेकै छैनन्‌, अनि तपाईंप्रति उसका कामहरू साह्रै असल भएका छन्। 5 किनभने तिनले आफ्नो ज्यानलाई आफ्नो हातमा लिएर त्यस पलिस्तीलाई मारे, अनि परमप्रभुले सारा इस्राएलका निम्ति महान् उद्धारको काम गर्नुभयो; तपाईंले यो देख्‍नुभयो, र रमाउनुभयो; तब किन विनाकारण नै तपाईंले दाऊदलाई मारेर निर्दोष रगतको विरोधमा पाप गर्नुहुन्छ?” 6 तब शाऊलले योनातानको कुरा माने; अनि शाऊलले शपथ खाए: “परमप्रभुको जीवनको शपथ! तिनी मारिनेछैनन्‌!” 7 तब योनातानले दाऊदलाई बोलाए, र योनातानले ती सबै कुराहरू उनलाई बताइदिए; अनि योनातानले दाऊदलाई शाऊलकहाँ ल्याए; अनि उनी पहिलेझैं तिनको उपस्थितिमा रहे।
8 अनि फेरि लड़ाइँ भयो; अनि दाऊद निस्केर पलिस्तीहरूसँग लड़ाइँ गरे, र तिनीहरूलाई ठूलो काटमारको साथ मारे; अनि तिनीहरू उनको सामुबाट भागे
मिकलले दाऊदलाई बचाइन्।
9 अनि जब शाऊल आफ्नो घरमा आफ्नो हातमा भाला लिएर बसे, तब परमप्रभुबाटको त्यो दुष्‍ट आत्मा तिनीमाथि आयो; अनि दाऊदचाहिँ हातले बजाइरहेका थिए। 10 अनि शाऊलले त्यस भालाले भित्तामा टाँस्‍ने गरी दाऊदलाई प्रहार गर्न खोजे; तर उनी शाऊलको सामुबाट तर्के; अनि तिनले त्यो भाला भित्तामा भसाए; अनि दाऊद भागेर त्यस रात उम्के। 11 अनि शाऊलले दाऊदलाई ढुक्न र बिहानै उनलाई मार्न भनी उनको घरमा दूतहरू पठाए। अनि दाऊदकी पत्‍नी मिकलले उनलाई यसो भनिन्: “तपाईंले आज रात नै आफ्नो प्राण बचाउनुभएन भने भोलि तपाईं मारिनुहुनेछ।” 12 तब मिकलले दाऊदलाई एउटा झ्यालबाट ओरालिन्; अनि उनी गए, र भागेर उम्के। 13 अनि मिकलले एउटा घर-देवताको मूर्ति लिइन्, र त्यसलाई पलङमा राखिन्, त्यसको सिरानीको रूपमा बाख्राको भुत्लाको सिरानी राखिदिइन् र त्यसलाई लुगाले ढाकिदिइन्। 14 अनि जब शाऊलले दाऊदलाई लिन भनी दूतहरू पठाए, तब तिनले भनिन्: “उहाँ बिरामी हुनुहुन्छ।” 15 तब शाऊलले दाऊदलाई हेर्न भनी यसो भन्दै ती दूतहरू फेरि पठाए: “त्यसलाई पलङसितै माथि मकहाँ ल्याओे, र म त्यसलाई मार्नेछु!” 16 अनि जब ती दूतहरू भित्र गए, तब हेर, पलङमा घर-देवताको मूर्ति पो रहेछ, र त्यसको सिरानीको रूपमा बाख्राको भुत्लाको सिरानी रहेछ। 17 तब शाऊलले मिकललाई भने: “तिमीले मलाई किन यसरी धोका दियौ, र मेरो शत्रुलाई भाग्‍न दियौ, र त्यो उम्क्यो?” अनि मिकलले शाऊललाई जवाफ दिइन्: “उनले मलाई भने: ‘मलाई जान देऊ; म तिमीलाई किन मारूँ?’ ”
18 तब दाऊद भागे, र उम्के; अनि उनी रामामा शमूएलकहाँ आए, र शाऊलले आफूसित गरेका सबै कुरा तिनलाई बताइदिए। अनि उनी र शमूएल गए, अनि नैयोतमा बसे। 19 अनि यसो भन्दै यो कुरा शाऊललाई बताइयो: “हेर्नुहोस्, दाऊद रामाको नैयोतमा छ!” 20 अनि शाऊलले दाऊदलाई पक्रन भनी दूतहरू पठाए; अनि जब तिनीहरूले भविष्यवक्ताहरूको दलले भविष्यवाणी गरिरहेको र शमूएलचाहिँ उनीहरूमाथि नियुक्त भएर उभिरहेको देखे, तब परमेश्‍वरको आत्मा शाऊलका दूतहरूमाथि आउनुभयो, र तिनीहरूले पनि भविष्यवाणी गरे। 21 अनि जब शाऊललाई यो कुरा बताइयो, तब तिनले अरू दूतहरू पठाए, र तिनीहरूले पनि भविष्यवाणी गरे। तब शाऊलले तेस्रोपल्ट फेरि दूतहरू पठाए, र तिनीहरूले पनि भविष्यवाणी गरे। 22 तब तिनी पनि रामातिर गए, र सेकूमा भएको ठूलो इनारमा आइपुगे; अनि तिनले सोधे, र भने: “शमूएल र दाऊद कहाँ छन्?” अनि कसैले भन्यो: “हेर्नुहोस्, तिनीहरू रामाको नैयोतमा छन्!” 23 तब तिनी त्यहाँ, रामाको नैयोतमा गए; अनि परमेश्‍वरको आत्मा तिनीमाथि पनि आउनुभयो, र रामाको नैयोतमा नआइपुगुन्जेल तिनी हिँड़िरहे, र भविष्यवाणी गरे। 24 अनि तिनले आफ्ना लुगाहरू पनि फुकाले, र त्यसरी नै शमूएलको सामु पनि भविष्यवाणी गरे, अनि त्यस दिनभरि र रातभरि तिनी नाङ्गै लम्पसार परिरहे। यसैकारण तिनीहरू भन्छन्: “के शाऊल पनि भविष्यवक्तहरूमध्येका हुन्?”