दाऊद र योनातानको बीचको मित्रता
18
अनि यस्तो भयो: जब उनले शाऊलसँग कुरा गरिसके, तब योनातानको मन दाऊदको मनसँग गाँसियो; अनि योनातानले उनलाई आफ्नै प्राणलाई झैं प्रेम गरे। 2 त्यस दिन शाऊलले उनलाई लिएर गए, र उनलाई आफ्ना बुबाको घरमा फर्केर जान दिएनन्। 3 तब योनातान र दाऊदले एउटा वाचा बाँधे; किनभने तिनले उनलाई आफ्नै प्राणलाई झैं प्रेम गर्थे। 4 अनि योनातानले आफूले ओढ़ेको लबेदा फुकाले र त्यो दाऊदलाई दिए, अनि आफ्ना वस्त्रहरू, आफ्नो तरवार, आफ्नो धनु र आफ्नो पेटी पनि दिए। 5 अनि शाऊलले दाऊदलाई जहाँ-जहाँ पठाउँथे, त्यहाँ-त्यहाँ उनी जान्थे, र बुद्धिमानीसाथ काम गर्थे; अनि शाऊलले उनलाई योद्धाहरूमाथि अधिकारीको रूपमा नियुक्त गरे; अनि उनी सबै मानिसहरूको दृष्‍टिमा र शाऊलका सेवकहरूको दृष्‍टिमा पनि ग्रहणयोग्य भए।
शाऊलले दाऊदसँग दुश्मनी गर्न थाले
6 अनि यस्तो भयो: उनीहरू आउँदै गर्दा जब दाऊद त्यस पलिस्तीलाई मारेर फर्किरहेका थिए, तब इस्राएलका सबै शहरहरूबाट स्त्रीहरू आनन्द मनाउँदै खैंजड़ीहरू र बाजाहरू लिएर गाउँदै र नाच्दै शाऊल राजालाई भेट्न निस्केर आए। 7 अनि ती स्त्रीहरूले बजाउँदै गर्दा एक-अर्कालाई जवाफ दिएर भन्थे: “शाऊलले तिनका हजारौंलाई मारे, तर दाऊदले तिनका लाखौंलाई मारे!” 8 तब शाऊल साह्रै क्रोधित भए, अनि त्यस कुराले तिनी दुःखित भए; अनि तिनले भने: “तिनीहरूले दाऊदलाई लाखौंको श्रेय दिए, तर मलाई चाहिँ हजारौंको मात्र श्रेय दिए; अनि अब राज्यबाहेक उसले अरू के पाउनु छ र?” 9 अनि त्यस दिनदेखि उसो शाऊलले दाऊदलाई कुदृष्‍टिले हेर्न थाले।
10 अनि भोलिपल्ट यस्तो भयो: परमेश्‍वरबाटको दुष्‍ट आत्मा शाऊलमाथि आयो, र तिनले घरको बीचमा भविष्यवाणी गरे; अनि सधैंझैं दाऊदले आफ्नो हातले बजाए; अनि शाऊलको हातमा एउटा भाला थियो। 11 तब शाऊलले त्यो भाला हाने; किनभने तिनले भन्थे: “म दाऊदलाई यसले भित्तैमा टाँस्‍ने गरी प्रहार गर्नेछु।” तर दाऊद दुईपल्ट तिनको सामुबाट तर्के। 12 अनि शाऊल दाऊददेखि डराउँथे; किनकि परमप्रभु उनको साथमा हुनुहुन्थ्यो, तर शाऊलबाट हटेर जानुभएको थियो। 13 यसकारण शाऊलले उनलाई आफूबाट हटाइदिए, र उनलाई एक हजारमाथि आफ्नो कप्‍तानको रूपमा नियुक्त गरे; अनि उनी मानिसहरूको सामु बाहिर जान्थे र भित्र आउँथे। 14 अनि दाऊद आफ्ना सबै चालहरूमा बुद्धिमानीसँग काम गर्दथे; अनि परमप्रभु उनको साथमा हुनुहुन्थ्यो। 15 यसकारण जब शाऊलले उनलाई बुद्धिमानीसाथ काम गरेका देखे, तब तिनी उनीदेखि डराए। 16 तर सारा इस्राएल र यहूदाले दाऊदलाई प्रेम गर्थे; किनकि उनी तिनीहरूको सामु बाहिर-भित्र जाने-आउने गर्दथे।
17 तब शाऊलले दाऊदलाई भने: “हेर, मेरी जेठी छोरी मेराब! ऊचाहिँ म तिमीलाई तिम्री पत्‍नी हुनलाई दिनेछु; मेरा निम्ति केवल शूरवीर भइदेऊ, र परमप्रभुका लड़ाइँहरू लड़िदेऊ!” किनभने शाऊलले भन्थे: “उसमाथि मेरो हात नपरोस्, तर पलिस्तीहरूको हात उसमाथि परोस्!” 18 अनि दाऊदले शाऊललाई भने: “म को हुँ र? र मेरो जीवन के हो, वा इस्राएलमा मेरा बुबाको घराना के हो, कि म राजाको ज्वाइँ बनूँ?” 19 तर यस्तो भयो: शाऊलकी छोरी मेराब दाऊदलाई दिइने बेलामा तिनी पत्‍नीको रूपमा महोलाती अद्रीएललाई दिइइन्।
दाऊदको विवाह मिकलसँग
20 अनि शाऊलकी छोरी मिकलले दाऊदलाई प्रेम गर्थिन्। अनि तिनीहरूले यो कुरा शाऊललाई बताए, अनि यो कुरा तिनलाई असल लाग्यो। 21 अनि शाऊलले भने: “म उसलाई मिकल दिनेछु, अनि यो दाऊदका निम्ति पासो बनोस्, र पलिस्तीहरूको हात उसमाथि परोस्।” यसकारण शाऊलले दाऊदलाई भने: “तिमी आज दोस्रोपल्ट मेरो ज्वाइँ बन!”
22 अनि शाऊलले आफ्ना नोकरहरूलाई यसो भन्दै आज्ञा दिए: “दाऊदसँग गुप्‍तमा बातचित गरेर भन, ‘हेर, राजा तिमीसँग प्रसन्‍न हुनुहुन्छ, र उहाँका सबै कर्मचारीहरूले तिमीलाई माया गर्छन्; यसकारण अब राजाको ज्वाइँ बन!’ ” 23 अनि शाऊलका नोकरहरूले यी कुराहरू दाऊदका कानमा भनिदिए। तब दाऊदले भने: “के म राजाको ज्वाइँ हुने कुरा तिमीहरूलाई हल्का लाग्छ? किनकि म त एउटा गरिब मानिस हुँ, र तुच्छ ठानिएको छु।” 24 अनि शाऊलका नोकरहरूले तिनलाई यसो भने: “दाऊदले यस प्रकारको कुरा गरेका छन्।” 25 तब शाऊलले भने: “तिमीहरूले दाऊदलाई यसो भन्‍नू: राजा कुनै दाइजो चाहनुहुन्‍न, तर राजाका शत्रुहरूलाई बदला दिन पलिस्तीहरूको एक सय खलड़ी चाहनुहुन्छ।” तर शाऊलले दाऊदलाई पलिस्तीहरूको हातद्वारा मार्ने विचार गरेका थिए। 26 अनि जब तिनका नोकरहरूले दाऊदलाई यी कुराहरू सुनाए, तब दाऊदलाई राजाको ज्वाइँ बन्‍नु उचित लाग्यो; अनि दिनहरू पूरा भएका थिएनन्। 27 यसकारण दाऊद उठेर गए – उनी र उनका मानिसहरू; अनि उनीहरूले पलिस्तीहरूका दुई सय मानिसहरूलाई मारे; अनि दाऊदले तिनीहरूका खलड़ीहरू ल्याए, र उनी राजाका ज्वाइँ बन्‍न सकून् भनी उनीहरूले राजालाई पूरा संख्यामा ती खलड़ीहरू बुझाइदिए। अनि शाऊलले आफ्नी छोरी मिकल उनलाई पत्‍नी हुनका निम्ति दिए। 28 तब शाऊलले परमप्रभु दाऊदको साथमा हुनुहुन्छ, अनि शाऊलकी छोरी मिकलले उनलाई प्रेम गर्दी रहिछ भनी देखे र जाने। 29 तब शाऊल दाऊदसँग झन् बढ़ी डराए; अनि शाऊल निरन्‍तर दाऊदका शत्रु बनिरहे।
30 तब पलिस्तीहरूका शासकहरू निस्केर आए; अनि यस्तो भयो: तिनीहरू जति पल्ट निस्के, त्यति पल्ट शाऊलका सबै कर्मचारीहरूले भन्दा दाऊदले ज्यादा बुद्धिमानीसाथ काम गरे; यसैले उनको नाम ज्यादै सम्मानित भयो।