दाऊद र गोल्यत
17
अनि पलिस्तीहरूले आफ्ना सेनाहरू लड़ाइँका निम्ति भेला पारे, र यहूदामा पर्ने सोकोहमा भेला भए, अनि सोकोह र अजेकाको बीचमा एपेस-दम्मीममा छाउनी हाले। 2 अनि शाऊल र इस्राएलका मानिसहरू भेला भए, र एलाको बेंसीमा छाउनी हाले, अनि लड़ाइँका निम्ति पलिस्तीहरूको विरोधमा मोर्चा बाँधे। 3 अनि एकातिर पलिस्तीहरू एउटा पहाड़माथि खड़ा भए, र अर्कातिर इस्राएलीहरू अर्को पहाड़माथि खड़ा भए; अनि तिनीहरूको बीचमा एउटा बेंसी थियो।
4 तब पलिस्तीहरूको छाउनीबाट गातको गोल्यत नाम भएको एकजना लड़ाकू निस्क्यो, जसको उचाइ छ हात एक बित्ता थियो। 5 अनि त्यसको टाउकोमा पित्तलको टोप थियो, र त्यसले फलामको कोट लगाएको थियो; अनि त्यस कोटको वजन पित्तलको पाँच हजार शेकेल थियो। 6 त्यसका खुट्टाहरूमा पित्तलका पाता थिए र त्यसका काँधहरूको बीचमा पित्तलको बर्छी थियो। 7 अनि त्यसको भालाको बिँड़ जुलाहाको डण्‍डाजत्रो थियो; त्यस भालाको टुप्पा छ सय शेकेल फलामको थियो; अनि एकजना ठूलो ढाल बोक्ने मानिस त्यसको अघि-अघि हिँड़्थ्यो। 8 अनि त्यो खड़ा भएर इस्राएलका सेनाहरूलाई पुकार्‍यो, र उनीहरूलाई भन्यो: “तिमीहरू किन लड़ाइँका निम्ति मोर्चा बाँध्‍न आएका छौ? के म पलिस्ती होइनँ र? र तिमीहरूचाहिँ शाऊलका सेवकहरू होइनौ र? आफ्ना निम्ति एकजना मानिसलाई चुन, र त्यो तल मकहाँ आओस्! 9 मसित लड़ेर त्यसले मलाई मार्न सक्यो भने हामीहरू तिमीहरूका दास हुनेछौं; तर मैले त्यसलाई जितें, र त्यसलाई मारें भने तिमीहरू हाम्रा दास हुनेछौ, र तिमीहरूले हाम्रो सेवा गर्नेछौ।” 10 अनि त्यस पलिस्तीले भन्यो: “आजको दिन म इस्राएलका सेनाहरूलाई ललकार गर्छु: मलाई एउटा मानिस देओ, र हामी आपसमा लड़्नेछौं!” 11 जब शाऊल र सारा इस्राएलले त्यस पलिस्तीका यी कुराहरू सुने, तब उनीहरूले हरेश खाए, र साह्रै डराए। 12 अनि दाऊदचाहिँ बेतलेहेम-यहूदाका ती एफ्राती मानिसका छोरा थिए, जसको नाम यिशाई थियो; अनि तिनका आठजना छोराहरू थिए; अनि शाऊलको समयमा ती मानिस वृद्ध थिए, मानिसहरूको बीचमा धेरै उमेर खाएका थिए। 13 अनि यिशाईका तीनजना ठूला छोराहरू गए, र लड़ाइँमा शाऊलको पछि लागे; अनि लड़ाइँमा जाने तिनका यी तीनजना छोराहरूका नाम: जेठा एलीआब, माहिला अविनादाब र साहिँला शम्माह थिए। 14 अनि दाऊद कान्छा थिए; अनि यी तीनजना ठूलाहरू शाऊलको पछि लागेका थिए। 15 तर दाऊदचाहिँ शाऊलकहाँबाट बेतलेहेममा आफ्ना बुबाका भेड़ाबाख्राहरू चराउन जाने-आउने गर्थे।
16 अनि त्यो पलिस्ती बिहान र बेलुकी नजिक आउने गर्थ्यो, अनि चालीस दिनसम्म आफ्नो अड्डी लियो। 17 अनि यिशाईले आफ्नो छोरा दाऊदलाई भने: “अब तिम्रा दाजुहरूका निम्ति यो एक एपा भुटेको अन्‍न र यी दसवटा रोटी लैजाऊ, र छाउनीमा तिम्रा दाजुहरूकहाँ दगुर! 18 अनि यी दसवटा पनिरचाहिँ तिनीहरूका हजारका कप्‍तानका निम्ति लगिदेऊ, र तिम्रा दाजुहरूको कुशलक्षेम बुझेर तिनीहरूको कुनै निसानी ल्याऊ!” 19 तब शाऊल, तिनीहरू र इस्राएलका सबै मानिसहरू एलाको बेंसीमा पलिस्तीहरूसँग लड़्दैथिए।
20 अनि दाऊद बिहान चाँड़ै उठे, र भेड़ाहरू एउटा रखवालाको साथमा छोड़े, र यिशाईले उनलाई आज्ञा दिएअनुसार सामानहरू लिएर गए; अनि त्यो सेना लड़ाइँका निम्ति निस्किरहेको र युद्धध्वनि निकालिरहेको बेलामा उनी त्यस मोर्चामा आइपुगे। 21 किनभने इस्राएल र पलिस्तीहरूले मोर्चा बाँधेर सेनाको विरोधमा सेना राखेका थिए। 22 तब दाऊदले आफ्नो सामान सामानको रखवालाको हातमा छोड़े, र त्यस सेनाको बीचमा दगुरे, अनि आएर आफ्ना दाजुहरूलाई अभिवादन गरे। 23 अनि उनले तिनीहरूसित बातचित गर्दै-गर्दा हेर, गातको गोल्यत नाम भएको त्यो पलिस्ती लड़ाकू पलिस्तीहरूका सेनाहरूबाट निस्केर आयो, र त्यसले ती शब्दहरू नै भन्यो; अनि दाऊदले ती कुराहरू सुने। 24 अनि जब इस्राएलका सबै मानिसहरूले त्यस मान्छेलाई देखे, तब उनीहरू त्यसको सामुबाट भागे, र साह्रै डराए। 25 अनि इस्राएलका मानिसहरूले भने: “के तिमीहरूले त्यस निस्केर आएको मान्छेलाई देखेका छौ? साँच्‍चै इस्राएललाई ललकार गर्न त्यो निस्केर आएको हो; अनि यस्तो हुनेछ: त्यसलाई मार्ने मानिसलाई राजाले ठूलो धनले सम्‍पन्‍न पार्नुहुनेछ, र उसलाई आफ्नी छोरी दिनुहुनेछ, अनि उसका बुबाको घरानालाई इस्राएलमा मुक्त गर्नुहुनेछ।”
26 तब दाऊदले आफ्नो छेउमा उभिरहेका मानिसहरूलाई यसो भन्दै सोधे: “त्यस पलिस्तीलाई मार्ने र इस्राएलबाट यो निन्दा हटाइदिने मानिसलाई के-के गरिनेछ? किनकि जीवित परमेश्‍वरका सेनाहरूलाई ललकार गर्ने त्यो खतना नभएको पलिस्ती को हो?” 27 अनि ती मानिसहरूले उनलाई यस प्रकारको कुरा भन्दै जवाफ दिए: “त्यसलाई मार्ने मानिसलाई यस्तै-यस्तै गरिनेछ।” 28 अनि उनले ती मानिसहरूसित कुरा गर्दा उनका जेठा दाजु एलीआबले सुने; अनि दाऊदप्रति एलीआबको रिस उम्ल्यो, र तिनले भने: “तिमी यहाँ तल किन आयौ? र तिमीले ती थोरै भेड़ाहरू उजाड़स्थानमा कसको हातमा छोड़्यौ? म तिम्रो घमण्ड र तिम्रो हृदयको खराबी जान्दछु; किनकि यो लड़ाइँ देख्‍न पाउँछु भनेर तिमी तल आएका छौ।” 29 तर दाऊदले भने: “मैले अहिले के गरेको छु र? के यसको कारण छैन र?” 30 अनि उनी तिनीदेखि अर्को मानिसतिर फर्के, र त्यही कुरा सोधे; अनि मानिसहरूले उनलाई पहिलेजस्‍तो जवाफ दिए।
31 अनि जब दाऊदले भनेका यी कुराहरूको चर्चा भयो, तब तिनीहरूले ती कुराहरू शाऊलको सामु सुनाइदिए; अनि तिनले उनलाई लिन पठाए 32 अनि दाऊदले शाऊललाई भने: “त्यस मान्छेको कारणले कसैको हृदय निराश नहोस्; तपाईंको दास गएर त्यस पलिस्तीसित लड़्नेछ।” 33 अनि शाऊलले दाऊदलाई भने: “तिमी त्यस पलिस्तीसँग लड़्नलाई त्यसको विरोधमा जान सक्दैनौ; किनकि तिमी केटै रहेछौ; तर त्यो त आफ्नो केटौली अवस्थादेखि नै एक योद्धा हो।” 34 तब दाऊदले शाऊललाई भने: “तपाईंको दासले आफ्ना बुबाका भेड़ाहरूको गोठालो गर्थ्यो, अनि कुनै सिंह, र कुनै भालु आउँथ्यो र बगालबाट पाठो लिएर जान्थ्यो; 35 तब म निस्केर त्यसको पछि लाग्थें, र मैले त्यसलाई हिर्काउँथें, र यसलाई त्यसको मुखबाट छुटाउँथें; अनि जब त्यो मेरो विरोधमा उठ्थ्यो, तब म त्यसलाई त्यसको दाह्रीमा समाउँथें, त्यसलाई हिर्काउँथें र त्यसलाई मार्थें। 36 तपाईंको दासले सिंहलाई पनि र भालुलाई पनि मारेको छ; अनि त्यो खतना नभएको पलिस्ती पनि तीमध्येका एउटाझैं हुनेछ; किनकि त्यसले जीवित परमेश्‍वरका सेनाहरूको निन्दा गरेको छ।” 37 दाऊदले अझै भने: “परमप्रभु, जसले मलाई सिंहको पन्जा र भालुको पन्जाबाट छुटकारा दिनुभयो, उहाँले मलाई त्यस पलिस्तीको हातबाट पनि छुटकारा दिनुहुनेछ।” तब शाऊलले दाऊदलाई भने: “जाऊ! परमप्रभु तिम्रो साथमा रहून्!” 38 तब शाऊलले दाऊदलाई आफ्नो युद्धको वस्त्र पहिराइदिए र पित्तलको टोप उनको टाउकोमा लगाइदिए; अनि तिनले उनलाई फलामको कोट पनि ओढ़ाइदिए। 39 अनि दाऊदले तिनको तरवार तिनको युद्धको वस्त्रमाथि भिरे, र हिँड़्‍ने कोशिश गरे; किनभने उनले तिनलाई अभ्यास गरेर हेरेका थिएनन्। अनि दाऊदले शाऊललाई भने: “म यिनलाई पहिरेर जान सक्दिनँ; किनकि मैले यिनलाई अभ्यास गरेर हेरेको छैनँ।” अनि दाऊदले ती हतियारहरू आफूबाट उतारे। 40 तब उनले आफ्नो हातमा आफ्नो लौरो लिए, र आफ्ना निम्ति खोलाबाट पाँचवटा चिल्‍ला-चिल्‍ला ढुङ्गाहरू छाने र तिनलाई आफूसँग भएको गोठालाको झोलामा, अँ, त्‍यस थैलीभित्र हाले; अनि उनको घुयेंत्रो उनको हातमा थियो; अनि उनी त्यस पलिस्तीको नजिक गए।
41 अनि त्यो पलिस्ती अघि बढ्यो र दाऊदको नजिक आयो; अनि त्यसको ठूलो ढाल बोक्ने मानिस त्यसको अघि-अघि थियो। 42 अनि त्यस पलिस्तीले हेर्‍यो, र दाऊदलाई देखेर उनलाई तुच्छ ठान्यो; किनकि उनी त रातापिरा र सुन्दर चेहरा भएका ठिटा मात्र थिए। 43 अनि त्यस पलिस्तीले दाऊदलाई भन्यो: “के म एउटा कुकुर हुँ, र तँ मकहाँ लौराहरू लिएर आउँछस्?” अनि त्यस पलिस्तीले आफ्ना देवताहरूको नाममा दाऊदलाई सराप्यो। 44 अनि त्यस पलिस्तीले दाऊदलाई भन्यो: “मकहाँ आइज, र म तेरो मासु आकाशका चराहरू र मैदानका पशुहरूलाई दिनेछु।” 45 तब दाऊदले त्यस पलिस्तीलाई भने: “तँ मकहाँ तरवार, भाला र बर्छी लिएर आउँछस्; तर मचाहिँ तँकहाँ सेनाहरूका परमप्रभु, इस्राएलका सेनाहरूका परमेश्‍वरको नाममा आउँछु, जसलाई तैंले ललकारेको छस्। 46 आजको दिन परमप्रभुले तँलाई मेरो हातमा सुम्पिदिनुभएको छ; अनि म तँलाई प्रहार गर्नेछु, र तेरो टाउको तँबाट अलग पार्नेछु; अनि आजको दिन म पलिस्तीहरूको सेनाका लासहरू आकाशका चराहरू र पृथ्वीका जङ्गली पशुहरूलाई दिनेछु; यसैले कि इस्राएलमा परमेश्‍वर हुनुहुन्छ भनी सारा पृथ्वीले जानोस्। 47 अनि यस सारा समुदायले जानोस् कि परमप्रभुले तरवार र भालाद्वारा बचाउनुहुन्‍न; किनकि यो लड़ाइँ परमप्रभुको हो, र उहाँले तिमीहरूलाई हाम्रो हातमा दिनुहुनेछ।”
48 अनि यस्तो भयो: जब दाऊदलाई भेट्न त्यो पलिस्ती उठ्यो र दाऊदको नजिक आयो, तब दाऊद हत्तारिए, र त्यस पलिस्तीलाई भेट्न सेनातिर दगुरे। 49 अनि दाऊदले आफ्नो हात झोलाभित्र हाले, त्यहाँबाट एउटा ढुङ्गा निकाले, त्यसलाई घुयेंत्रोमा हाले र त्यस पलिस्तीलाई त्यसको निधारमै हिर्काए, र त्यो ढुङ्गो त्यसको निधारमा भासियो; तब त्यो भुइँमा आफ्नो अनुहार टेकाएर लड़्यो। 50 यसरी दाऊद एउटा घुयेंत्रो र एउटा ढुङ्गाले त्यस पलिस्तीमाथि विजयी भए, र त्यस पलिस्तीलाई प्रहार गरेर त्यसलाई मारे; तर दाऊदको हातमा कुनै तरवार थिएन। 51 यसैले दाऊद दगुरे, त्यस पलिस्तीमाथि उभिए र त्यसको तरवार समातेर यसको म्यानबाट थुते र त्यसलाई मारे, अनि यसैले त्यसको टाउको काटे। अनि जब पलिस्तीहरूले आफ्नो लड़ाकूलाई मरेको देखे, तब तिनीहरू भागे।
52 तब इस्राएल र यहूदाका मानिसहरू उठेर चिच्च्याए, अनि बेंसीसम्म र एक्रोनको मूलढोकाहरूसम्म पलिस्तीहरूको पिछा गरे। अनि मारिएका पलिस्तीहरू शारइम जाने बाटोमा, गात र एक्रोनसम्म ढल्दै गए। 53 अनि इस्राएलीहरू पलिस्तीहरूलाई खेद्‌न छोड़ेर फर्के; र उनीहरूले तिनीहरूका तम्बूहरू लुटे। 54 अनि दाऊदले त्यस पलिस्तीको टाउको लिए, र त्यसलाई यरूशलेममा पुर्‍याए, तर त्यसको हतियार आफ्नो पालमा राखे।
55 अनि जब शाऊलले दाऊदलाई त्यस पलिस्तीको विरोधमा निस्केर गएको देखे, तब तिनले सेनापति अब्‍नेरलाई भने: “अब्‍नेर, यो जवान कसको छोरा हो?” अनि अब्‍नेरले भने: “तपाईंको प्राणको शपथ! हे राजा, त्यो मलाई थाहा छैन।” 56 अनि राजाले भने: “त्यो ठिटो कसको छोरो रहेछ, सो सोधखोज गर!” 57 अनि जब दाऊद त्यस पलिस्तीलाई मारेर फर्के, तब अब्‍नेरले उनलाई लिए, र उनको हातमा त्यस पलिस्तीको टाउकोसितै शाऊलको सामु पुर्‍याए। 58 अनि शाऊलले उनलाई भने: “हे जवान मानिस, तिमी कसका छोरा हौ?” अनि दाऊदले जवाफ दिए: “म तपाईंको दास बेतलेहेमी यिशाईको छोरो हुँ।”