परमेश्‍वरको आज्ञाअनुसार शमूएलले दाऊदको राजा-अभिषेक गरे
16
अनि परमप्रभुले शमूएललाई भन्‍नुभयो: “मैले शाऊललाई इस्राएलमाथि राज्य गर्नदेखि रद्द गरेको छु, त कहिल्यैसम्म तिमी उसका निम्ति विलाप गर्छौ? तिम्रो सिङमा तेल भर, र जाऊ! म तिमीलाई बेतलेहेमी यिशाईकहाँ पठाउनेछु; किनकि उसका छोराहरूमध्ये मैले आफ्ना निम्ति एकजना राजाको प्रबन्ध गरेको छु।” 2 अनि शमूएलले भने: “म कसरी जान सक्छु? शाऊलले यो कुरा सुने भने उनले मलाई मार्नेछन्।” अनि परमप्रभुले भन्‍नुभयो: “एउटा कोरली आफ्नो साथमा लैजाऊ, र भन: ‘परमप्रभुका निम्ति बलि चढ़ाउन म आएको हुँ।’ 3 अनि यिशाईलाई त्यस बलिदानमा बोलाऊ, र तिमीले के गर्नुपर्ने हो, सो म तिमीलाई बताउनेछु; अनि जो म तिमीलाई देखाउनेछु, उसैलाई तिमीले मेरा निम्ति अभिषेक गर्नू!”
4 अनि शमूएलले परमप्रभुले भन्‍नुभएको कुरा गरे, र बेतलेहेममा आए। अनि त्यस शहरका बूढ़ा प्रधानहरू उनको आगमनमा थरथराउँदै भने: “के तपाईं मेलमिलापमा आउनुभएको हो?” 5 अनि उनले भने: “अँ, मेलमिलापमा; म परमप्रभुका निम्ति बलि चढ़ाउन आएको हुँ; आफूलाई पवित्र गराओ, र मसँग बलिदानमा आओ!” अनि उनले यिशाई र तिनका छोराहरूलाई पवित्र पारे, र उनीहरूलाई त्‍यस बलिदानमा बोलाए।
6 अनि यस्तो भयो: जब उनीहरू आए, तब उनले एलीआबलाई देखेर भने: “निश्‍चय नै परमप्रभुको अभिषिक्त जन उहाँकै सामु छन्।” 7 तर परमप्रभुले शमूएललाई भन्‍नुभयो: “उसको अनुहार वा उसको कदको उचाइ नहेर; किनकि मैले उसलाई इन्कार गरेको छु; किनभने परमप्रभुले मानिसले हेरेझैं हेर्नुहुन्‍न; किनकि मानिसले बाहिरी रूप हेर्छ, तर परमप्रभुले हृदयलाई हेर्नुहुन्छ।” 8 तब यिशाईले अविनादाबलाई बोलाए, र उसलाई शमूएलको अघिल्तिरबाट भएर जान लगाए। अनि उनले भने: “परमप्रभुले यसलाई पनि चुन्‍नुभएको छैन।” 9 तब यिशाईले शम्माहलाई त्यहाँबाट भएर जान लगाए। अनि उनले भने: “परमप्रभुले यसलाई पनि चुन्‍नुभएको छैन।” 10 अनि यिशाईले आफ्ना सातैजना छोराहरूलाई शमूएलको अघिल्तिरबाट भएर जान लगाए। तर शमूएलले यिशाईलाई भने: “परमप्रभुले यिनीहरूलाई चुन्‍नुभएको छैन।”
11 तब शमूएलले यिशाईलाई भने: “के तिम्रा सबै छोराहरू यति नै हुन्?” अनि तिनले भने: “कान्छाचाहिँ अझै बाँकी छ; अनि हेर्नुहोस्, उसले भेड़ाहरू चराउँछ।” अनि शमूएलले यिशाईलाई भने: “कसैलाई पठाएर उसलाई ल्याऊ; किनभने ऊ यहाँ नआउन्जेल हामीहरू खानलाई रिङ्गै बस्‍नेछैनौं।” 12 तब तिनले पठाए, र उनलाई ल्याए। उनी रातापिरा थिए, साथै सुन्दर आँखाहरू भएका र हेर्नमा मनोहर थिए। अनि परमप्रभुले भन्‍नुभयो: “उठ, यसलाई अभिषेक गर; किनभने यही नै ऊ हो।” 13 अनि शमूएलले तेलको सिङ लिए र उनलाई उनका दाजुहरूको बीचमा अभिषेक गरे; अनि परमप्रभुको आत्मा त्यस दिनदेखि उसो सामर्थ्यसित दाऊदमाथि आउनुभयो। तब शमूएल उठेर रामामा गए।
दाऊद शाऊलको सेवामा
14 तर परमप्रभुको आत्मा शाऊलकहाँबाट हट्नुभयो, र परमप्रभुको तर्फबाट एउटा दुष्‍ट आत्माले तिनलाई सताउन थाल्यो। 15 अनि शाऊलका सेवकहरूले तिनलाई भने: “अब हेर्नुहोस्, परमेश्‍वरबाटको एउटा दुष्‍ट आत्माले तपाईंलाई सताउँदैछ। 16 अब हाम्रा प्रभुले आफ्नो सामु भएका आफ्ना सेवकहरूलाई आज्ञा गरून्, र तिनीहरूले एकजना मानिसलाई खोजून्, जो वीणा बजाउनमा निपुण छ; अनि यस्तो हुनेछ: जब परमेश्‍वरबाट दुष्‍ट आत्मा तपाईंमाथि आउला, तब उसले आफ्नो हातले बजाओस्, र तपाईं ठीक हुनुहुनेछ।” 17 अनि शाऊलले आफ्ना सेवकहरूलाई भने: “मेरा निम्ति एकजना राम्ररी बजाउन सक्ने मानिसको प्रबन्ध गर त, र उसलाई मकहाँ ल्याओे!” 18 तब यी सेवकहरूमध्ये एकजनाले जवाफ दिएर भन्यो: “हेर्नुहोस्, मैले बेतलेहेमी यिशाईको एक छोरालाई देखेको छु, जो बजाउनमा निपुण छन्, जो शूरवीर र योद्धा छन्, जो कामकुराहरूमा समझदार र रूपवान् मानिस हुन्; अनि परमप्रभु उनको साथमा हुनुहुन्छ।” 19 तब शाऊलले दूतहरू यिशाईकहाँ पठाएर भने: “तिम्रा छोरा दाऊदलाई मकहाँ पठाइदेऊ, जो भेड़ाबाख्राहरूसँग छ।” 20 अनि यिशाईले रोटीहरू, एक मशक दाखमद्य, एउटा बाख्राको पाठो लादिएको एउटा गधा लिए, र आफ्नो छोरा दाऊदको हातद्वारा ती थोकहरू शाऊलकहाँ पठाइदिए। 21 अनि दाऊद शाऊलकहाँ आए, र तिनको सामु खड़ा भए; अनि तिनले उनलाई खूबै प्रेम गरे; अनि उनी तिनको हतियार बोक्ने बने। 22 तब शाऊलले यिशाईकहाँ यस्तो खबर पठाए: “म तिमीलाई विन्‍ती गर्छु, दाऊद मेरो सामु उभियोस्; किनकि ऊ मेरो दृष्‍टिमा ग्रहणयोग्य भएको छ।” 23 अनि यस्तो हुन्थ्यो – जब परमेश्‍वरबाटको दुष्‍ट आत्मा शाऊलमाथि आउँथियो, तब दाऊदले वीणा लिन्थे, र आफ्नो हातले बजाउँथे; तब शाऊल ताजा हुन्थे, र दुष्‍ट आत्मा तिनीबाट हटेर जान्थ्यो।