शाऊलको अनाज्ञाकारिता
15
अनि शमूएलले शाऊललाई यसो भने: “उहाँको प्रजा अर्थात् सारा इस्राएलमाथि तपाईंलाई राजाको रूपमा अभिषेक गर्न भनी परमप्रभुले मलाई नै पठाउनुभयो; यसकारण अब परमप्रभुका वचनहरूको वाणी सुन! 2 सेनाहरूका परमप्रभु यसो भन्‍नुहुन्छ: अमालेकले इस्राएललाई जे गर्‍यो, सो म सम्झन्छु: ऊ मिस्रबाट माथि आउँदा त्यसले उसलाई बाटोमा कसरी ढुकेर बसेको थियो। 3 अब जाऊ र अमालेकलाई प्रहार गर, अनि तिनीहरूसँग भएका सबै थोकहरू पूरै नाश पारिदेऊ, र तिनीहरूलाई बाँकी नराख! तर पुरुष र स्त्री, बालक र दूध चुस्‍ने बच्‍चालाई, गाईगोरु र भेड़ाबाख्रा, ऊँट र गधा सबै मार!” 4 तब शाऊलले मानिसहरूलाई भेला गरे, र तेलैममा तिनीहरूको गन्ती गरे – दुई लाख पैदल सिपाही, र दस हजार यहूदाका मानिसहरू। 5 अनि शाऊल अमालेकको त्यस शहरमा आए, र बेंसीमा ढुकेर बसे। 6 अनि शाऊलले केनीहरूलाई भने: “जाओ, निस्क! अमालेकीहरूको बीचबाट निस्केर तल जाओ, नत्र म तिमीहरूलाई तिनीहरूसँगै नाश पारूँला; किनकि तिमीहरूले सबै इस्राएलीहरूलाई उनीहरू मिस्रबाट निस्केर आउँदा दया देखायौ।” तब केनीहरू अमालेकीहरूको बीचबाट निस्केर आए। 7 अनि शाऊलले हवीलादेखि शूरसम्म, जो मिस्रको सामु पर्छ, अमालेकीहरूलाई घात गरे। 8 अनि तिनले अमालेकीहरूका राजा अगागलाई जिउँदै पक्रे, तर सबै मानिसहरूलाई तरवारको धारले पूरै नाश गरे। 9 तर शाऊल र तिनका मानिसहरूले अगागलाई, साथै असल-असल भेड़ाबाख्राहरू, गाईगोरुहरू, मोटा-मोटा पशुहरू, भेड़ाका पाठाहरू र सबै असल थोकहरू बाँकी राखे, र तिनलाई पूरै नाश गरेनन्; तर हरेक तुच्छ र काम नलाग्‍ने थोकचाहिँ उनीहरूले पूरै नाश गरे।
10 तब शमूएलकहाँ परमप्रभुको यसो भन्‍ने वचन आयो: 11 “शाऊललाई मैले राजाको रूपमा नियुक्त गरेकोमा म पछुताउँछु; किनभने ऊ मलाई पछ्याउनदेखि पछि हटेको छ, र मेरा वचनहरू पूरा गरेको छैन।” अनि यस कुराले शमूएललाई दुःखित तुल्यायो; र उनले रातभरि परमप्रभुलाई पुकारिरहे। 12 अनि जब शमूएल बिहान शाऊललाई भेट्न सबेरै उठे, तब शमूएललाई यसो भनियो: “शाऊल कर्मेलमा आए; अनि हेर्नुहोस्, उनले आफ्ना निम्ति एउटा स्मारक स्थापित गरे, चक्‍कर लाएर अघि बढ़े, र गिल्गालतिर झरेका छन्।” 13 अनि शमूएल शाऊलकहाँ आए; र शाऊलले उनलाई भने: “परमप्रभुबाट तपाईं धन्यको हुनुहुन्छ; मैले परमप्रभुको आज्ञा पूरा गरेको छु।” 14 तब शमूएलले भने: “त्यसो भए मेरा कानहरूमा भेड़ाहरूको त्यो भ्या-भ्या, र मैले सुन्दै गरेको गोरुहरूको ब्वाँ-ब्वाँको अर्थचाहिँ के हो त?” 15 अनि शाऊलले भने: “तिनीहरूले तिनलाई अमालेकीहरूकहाँबाट ल्याएका हुन्; किनभने मानिसहरूले भेड़ा र गोरुहरूबाट उत्तम-उत्तमचाहिँ परमप्रभु तपाईंका परमेश्‍वरका निम्ति बलि चढ़ाउन जोगाएर राखे; र बाँकीचाहिँ हामीले पूरै नाश पार्‍यौं।”
16 तब शमूएलले शाऊललाई भने: “पर्ख! आज राति परमप्रभुले मलाई के भन्‍नुभएको छ, सो म तिमीलाई बताउनेछु।” अनि तिनले उनलाई भने: “भन्‍नुहोस्!” 17 अनि शमूएलले भने: “जब आफ्नो दृष्‍टिमा तिमी तुच्छ थियौ, तब के तिमी इस्राएलका कुलहरूको शिर बनेका थिएनौ र? अनि परमप्रभुले तिमीलाई इस्राएलमाथि राजाको रूपमा अभिषेक गर्नुभयो। 18 अनि परमप्रभुले तिमीलाई एउटा बाटोमा पठाएर भन्‍नुभयो: ‘जाऊ, अनि ती अमालेकी पापीहरूलाई पूरै नाश पारिदेऊ, र तिनीहरू नमेटुन्जेल तिनीहरूको विरोधमा लड़ाइँ गर!’ 19 तब के कारणले तिमीले परमप्रभुको वाणी पालन गरेनौ, तर लुटको मालमाथि झम्टेर परमप्रभुको दृष्‍टिमा खराबी गर्‍यौ?” 20 अनि शाऊलले शमूएललाई भने: “होइन, मैले त परमप्रभुको वाणी पालन गरेको छु, र परमप्रभुले मलाई पठाउनुभएको बाटोमा म गएको छु, अनि अमालेकी राजा अगागलाई ल्याएको छु, र अमालेकीहरूलाई पूरै नाश पारिदिएको छु। 21 तर मानिसहरूले गिल्गालमा परमप्रभु तपाईंका परमेश्‍वरका निम्ति बलि चढ़ाउनलाई लुटको मालबाट भेड़ाहरू र गोरुहरू अर्थात् ती पूरै नाश गर्नुपर्ने चीजहरूबाट सबैभन्दा उत्तम थोकहरू राखे।” 22 अनि शमूएलले भने: “परमप्रभुको आज्ञा पालन गर्दा परमप्रभुलाई जुन आनन्द लाग्छ, के त्यही आनन्द उहाँले होमबलिहरू र बलिदानहरूमा पाउनुहुन्छ र? हेर, आज्ञापालन गर्नु बलिदानभन्दा उत्तम हो, र ध्यानसित सुन्‍नुचाहिँ भेड़ाहरूको बोसोभन्दा उत्तम हो। 23 किनभने विद्रोह गर्नु जोखना हेर्ने पापजस्तै हो, अनि हठीपनचाहिँ अधर्म र मूर्तिपूजाजस्तै हो। तिमीले परमप्रभुको वचनलाई रद्द गरेका छौ; यसैले उहाँले तिमीलाई पनि राजा हुनदेखि रद्द गर्नुभएको छ।”
24 तब शाऊलले शमूएललाई भने: “मैले पाप गरेको छु; किनभने मैले परमेश्‍वरको आज्ञा र तपाईंका वचनहरू उल्‍लङ्घन गरेको छु; किनकि म मानिसहरूसँग डराएँ, र तिनीहरूको कुरा सुनें। 25 यसकारण अब, म तपाईंलाई विन्‍ती गर्छु, मेरो पाप क्षमा गर्नुहोस्, अनि मसँग फर्कनुहोस्, र म परमप्रभुलाई दण्‍डवत्‌ गर्न सकूँ!” 26 अनि शमूएलले शाऊललाई भने: “म तिमीसित फर्कनेछैनँ; किनकि तिमीले परमप्रभुको वचनलाई रद्द गरेका छौ, र परमप्रभुले तिमीलाई इस्राएलमाथि राजा हुनदेखि रद्द गर्नुभएको छ।” 27 अनि जब शमूएल जानलाई फरक्‍क फर्के, तब तिनले उनको अलखाको किनार च्याप्प समाते, र त्यो च्यातियो। 28 अनि शमूएलले तिनलाई भने: “परमप्रभुले आज तिमीबाट इस्राएलको राज्य च्यात्नुभएको छ, र त्यो तिम्रो छिमेकीलाई दिनुभएको छ, जो तिमीभन्दा असल छ। 29 अनि इस्राएलका शक्तिशाली जन झूट बोल्नुहुन्‍न, न आफ्नो मन बदल्नुहुन्छ; किनभने उहाँचाहिँ मानिस हुनुहुन्‍न, जसले आफ्नो मन बदल्छ।” 30 तब तिनले भने: “मैले पाप गरेको छु; तैपनि म तपाईंलाई विन्‍ती गर्छु, मेरो प्रजाका बूढ़ा प्रधानहरूको सामु र इस्राएलको सामु मलाई सम्मान दिनुहोस्, अनि मसित फर्कनुहोस्, र म परमप्रभु तपाईंका परमेश्‍वरलाई दण्‍डवत्‌ गर्न सकूँ!” 31 तब शमूएल शाऊलको पछि फर्के; अनि शाऊलले परमप्रभुलाई दण्‍डवत्‌ गरे।
32 तब शमूएलले भने: “ती अमालेकीहरूका राजा अगागलाई यहाँ मकहाँ ल्याओ!” अनि अगाग आनन्दित हुँदै उनीकहाँ आए। अनि अगागले भने: “निश्‍चय नै मृत्युको तीतोपन बितेर गयो।” 33 अनि शमूएलले भने: “जसरी तेरो तरवारले स्त्रीहरूलाई सन्तानविहीन बनायो, त्यसरी नै तेरी आमा स्त्रीहरूको बीचमा सन्तानविहीन हुनेछिन्।” अनि गिल्गालमा परमप्रभुको सामु शमूएलले अगागलाई काटेर टुक्रा-टुक्रा पारे।
34 तब शमूएल रामामा गए; अनि शाऊल माथि शाऊलको गिबामा, आफ्नो घरमा गए। 35 अनि शमूएल आफ्नो मृत्युको दिनसम्म फेरि शाऊलकहाँ आएनन्; तैपनि शमूएलले शाऊलका निम्ति विलाप गरे; अनि शाऊललाई इस्राएलमाथि राजा तुल्याउनुभएकोमा परमप्रभु पछुताउनुभयो।